रेडियो मिर्मिरेको प्रशारण बन्द

काठमाडौ, १७ असोज । एकिकृत नेकपा माओवादीबाट सञ्चालित रेडियो मिर्मिरेको रेडियो प्रशारण सामग्री सहितका सामग्रीहरु चोरी भएपछि आइतवारदेखि प्रशारण बन्द भएको छ ।

राजधानीस्थित अनामनगरमा अवस्थित मेचिकाली संचार प्रालिद्वारा संचालित उक्त रेडियोका प्रशारण सामग्रीहरु चोरी भएपछि रेडियो प्रशारण अनिश्चितकालका लागि बन्द गरिएको छ । रेडियोका पूर्व अध्यक्ष विष्णु सापकोटाको नेतृत्वमा रेडियोमा कार्यरत माऔवादी संस्थापन पक्षका कर्मचारीलै रेडियोका सामग्रीहरु चोरी गरेको भन्दै प्रहरीमा किटानी जाहेर गरिएको छ

अरविट कलेजमा अध्यापन गराउने मिर्मिरेका पूर्व कर्मचारी श्रीधर न्यौपाने, गोपाल नैपाल सहितको लुटेराहरुको समुहले चोरी गरेको भन्दै रेडियो संचालक समितिले प्रहरीमा किटानी जाहेरी गरेको छ ।

शनिवार राती बन्द अवस्थामा रहेको प्रशारण केन्द्रको ताला फोरेर ट्रान्समिटर, ३ थान कम्प्युटर, २ थान हाईव्रिड र ६ थान हार्ड डिस्क चोरी गर्नुका साथै केही सामानमा तोडफोड गरेकौ भन्दै प्रहरीमा किटानी जाहेरी दिएको रेडियोका समाचार सम्पादक नवराज श्रेष्ठ (प्रज्वल) ले जानकारी दिनुभयो ।
उता मध्यरातमा रेडियो प्रशारण सामग्रीहरु चोरेर लगि उल्टै आफूहरुले आन्दोलन स्वरुप रेडयोमा तालाबन्दी गरिएको भनी नेपाल पत्रकार महासंघ रेडियो मिर्मिरै प्रतिष्ठानको अध्यक्ष श्रीधर न्यौपानेले विज्ञप्ती जारी गरेका छन् ।

मध्य रातमा नक्कली हस्ताक्षर सकलन गरेर सामान चोरी गरी कथित आन्दोलनको नाम दिने अपराधीहरु विरुद्ध चोरी अभियोगमा मुद्दा दर्ता गरिएको मेचीकाली संचार प्रालिका अध्यक्ष पुष्कर श्रेष्ठले बताउनुभयो । माओवादी अध्यक्ष पक्षका विष्णु सापकोटालाई रेडियो संचालक समितिको अध्यक्षबाट हटाइएपछि माओवादी संस्थापन पक्ष असन्तुष्ट बन्दै आएका थिए ।