दशैंको दर्शन



दशैंलाई हिन्दुहरुको सबभन्दा ठूलो चाड मानिन्छ । हुन त हिन्दुहरुका अरु धेरै चाडपर्व छन् । तिहार छ । ठूला एकादशी छ ।  माघे संक्रान्ति छ । चैते दशैं छ । फागु पूर्णिमा छ । शिवरात्री छ । नाग पंचमी छ । कृष्ण जन्माष्टमी छ  । रक्षाबन्धन छ । तीज छ । गुरु पूर्णिमा छ । कुशे औंशी छ । यी हिन्दुहरुका केही प्रमुख चाडपर्वहरु हुन् । यी बाहेक हिन्दुहरुका स्थानीय देवी देवताहरुसित सम्बन्धित पूजा आजा मेला वा राम रमिताहरु पनि छन् । भारतमा प्रत्येक बाह्र वर्षमा लाग्ने कुम्भ मेला  हिन्दुहरुको निकै ठूलो मेला मानिन्छ  । चैते  दशैंको बेलामा  बाग्लुङमा तीन चार दिनसम्म भव्य मेला लाग्दछ । यसलाई पनि हामी स्थानीय चाड पर्व वा मेला भन्न सक्दछौं । यसरी नै पाल्पाको सत्यवतीको मेला, गुल्मीको मालिकाको मेला, बाग्लुङ गल्कोटको सिद्धको पूजा वा सिद्धथानको मेला आदिलाई हामी स्थानीय देवी देउताको पूजा चाडपर्व वा मेला भन्न सक्दछौं ।


यस बाहेक हाम्रा देशमा बिभिन्न जात जातिका पूजा चाड पर्व वा मेला पनि हुन्छन् । पहाडी जनजातिहरुको लोसार, तराईको छड, थारुहरुको माघी, नेवारहरुको गाई जात्रा, लाखे नाच, घोडेजात्रा, कुमारी पूजा, भोटो जात्रा,  आदि जात जातिहरु विशेषका चाड पर्व हुन् । नेपालमा हिन्दुहरुका विभिन्न चाडपर्व भए जस्तै बौद्ध, मुसल्मान, क्रिस्तान आदिका धार्मिक प्रकुतिका चाडपर्वहरु पनि हुन्छन् । यति हो तैतीसकोटि देवी देउता मान्ने हिन्दुहरुका नै धेरै भगवान भगवती वा देवी देउता हुन्छन् । छन् । यसैले हिन्दुहरुका धेरै चाड पर्व मेला वा आजा पूजा हुने गर्छन् । भनिन्छ बंगालीहरुले तीन सय पैंसठ्ठी दिनमा तीन सय छैसठ्ठी देवी देवताको पूजा गर्दछन् । पूजा गर्ने मामिलामा नेपालीहरु पनि कम  छैनन् । नेपाली हिन्दुहरु पुर्खाको पूजा गर्दछन् । यसलाई हामी सोह्र श्राद्ध भन्न सक्दछौं ।  कूलपूजा वा दियाली पनि पुर्खाहरुकै पूजा हो ।

शुरुमा खस आर्यहरु मष्टो पूजा गर्दथे । अझ पनि गर्दछन् ।हिन्दुहरुले स्थापित पौराणिक देवी देउता वा भगवानको पूजा आजा आराधनाका अतिरिक्त प्रकृतिका पूजा गर्दछन् । नाग पूजा एक प्रकारले प्रकृति कै पूजा हो । वायुको पूजा पनि प्रकृतिकै पूजा हो । देवरालीमा फूलपाती चढाउने कुरा पनि प्रकृतिकै पूजा हो । उनीहरु कृषि वा अन्नको पूजा पनि गर्दछन् । मकै पाके पछि देवतालाई  चढाउने कुरा कृषि वा अन्नको पूजा नै हो । धान पाके पछि न्वाई खानु कृषि वा अन्नको पूजा नै हो । केही मिठो मसिनो खाना तयार भए पछि देउतालाई चढाउने चलन चलेको छ । सेल रोटी पकाएमा  देउतालाई  चढाएर मात्र खाइन्छ  । भात भान्सा गर्दा सर्वप्रथम देउतालाई  चढाइन्छ । यी पनि एक प्रकारका अन्न पूजा नै हुन् । भूमि पूजा कृषि पूजाकै अभिन्न अंग हो ।
हिन्दुहरु रुख वृक्ष वा बनस्पतिको पनि पूजा गर्दछन् । वर पीपलको पूजा गर्ने प्रचलन नयाँ होइन । तुलसीको पूजालाई  वनस्पतिका पूजा भन्न सक्दछौं । नेपाली हिन्दुहरु भूत प्रेत लाओ झांकी डायना आदिको पनि पूजा गर्दछन् । लुतो फाल्ने कुरा पनि संभावित नकारात्मक शक्तिकै पूजा हो । उसरी भूतप्रेतका पूजा गर्ने प्रचलन जनजातिमा पनि प्रचलित छ ।  कुरा यो पनि धेरै जनजाति हिन्दु नै छन् ।

हिन्दुहरुका कति पूजा आराधनामा पशु पंक्षीको वलि दिने चलन छ । देवी देउतालाई एक जोडी परेवा काटेर वा उडाएर पूजा गर्ने र लाओ डायना बोक्सी झाक्री भूत पिचास आदिलाई कुखुराको भाले काटेर पूजा गर्ने चलन पनि छ । हाल आएर  मानव अधिकारीहरुबाट पशु पंक्षीको बलिका तीब्र विरोध भएको अवस्था छ ।
प्रसंगवश विविध चाडपर्व र पूजा आजाको कुरा गरिए पनि यस लेखको चर्चाको प्रमुख विषय भने बडा दशैं नै हो, दुर्गा पूजा नै हो । बडा दशैं र दुर्गा पूजा भनेको एउटै कुरा हो । भारतमा दुर्गा पूजा भन्ने चलन छ । दशहरा भन्ने प्रचलन पनि छ । नेपालमा वडा दशैं भन्ने गरिन्छ । भारतीय संस्कृतिको प्रभावले नेपालमा पनि आजभोलि  बडा दशैंलाई दुर्गा पूजा भन्न थालिएको छ । जनबोलीमा भने दशैं शब्द नै प्रचलित छ ।
वडा दशैं नेपालीहरुको धार्मिकभन्दा पनि सामाजिक चाडपर्व हो । हरेक चाडपर्वको जग वा जरो पौराणिक कथामा खोजिने परम्परा भएकोले दशैंलाई पनि पौराणिक कथासित नै जोडिएको पाइन्छ । तर दशैंको परम्पराको  थालनीको सम्बन्धमा परस्परमा बाझिने विविध कथाहरु प्रस्तुत गरिएका देखिन्छन् । दशैंलाई विजया दशमी पनि भन्ने गरिन्छ । कतिको अवधारणा अनुसार रामले रावणमाथि विजय प्राप्त गरेको  हुनाले यसलाई  विजय दशमी भनिएको हो । कसैको भनाइ अनुसार देवी दुर्गाले महिषासुर राक्षसको वध गरेकोले यसलाई दुर्गा पूजा वा विजया दशमी भनिएको हो । दशैका पछाडि जे जति र जे जस्ता कथा जोडिए पनि के कुरामा कुनै विवाद देखिन्न भने यसको आधार धार्मिक छ । आध्यात्मिक छ ।

दशैं नेपाली हिन्दुहरुको सवभन्दा ठूलो चाडपर्व भए पनि यसलाई मुख्यत दुई प्रकारका समूहहरुले नमान्ने घोषणा गरेको देखिन्छ । विधिवत् नमान्ने घोषणा नगरे पनि त्यसप्रति उदासीन रहेको देखिन्छ । कम्युनिष्टहरु यो धार्मिक अझ आध्यात्मक दर्शनमा आधारित चाडपर्व भएकोले यसलाई धुमधामसित नमनाउनमा नै आफ्नो कल्याण देख्दछन् । केही जनजातिहरुले दशैं हिन्दुहरु खास गरी क्षेत्री बाहुनको चाडपर्व हो भन्दै त्यसलाई बहिस्कार गर्ने अभियान चलाएका छन् । तर के कुरा पनि साँचो हो भने न कम्युनिष्टहरुले यसलाई नमनाउने भनेर नमनाउन सकेका छन् । न त जनजातिहरुले यसलाई बहिस्कार गर्ने भनेर बहिस्कार गर्न सकेका छन् । यो स्थिति भनेको न बिरोध न समर्थनको स्थिति हो ।

मेरो अवधारणा के छ  भने यसलाई मनाउन जनजातिहरुले किन  छोड्न आवश्यक छैन दशैं धार्मिक चाडपर्वभन्दा पनि  सामाजिक चाडपर्व हो । यसको धार्मिक महत्वभन्दा पनि सामाजिक महत्व छ । यसमा हिन्दु धर्म संस्कृतिको पनि प्रभाव छ । जनजातिहरुको धर्म संस्कृतिको पनि  प्रभाव छ । यसैले त नेपालीहरुको दशैं भारतीय हिन्दुहरुको दशहरा वा दुर्गा पूर्जाभन्दा धेरै अर्थमा भिन्न छ  । फरक छ । यस अर्थमा यो केवल क्षेत्री बाहुनको मात्र चाडपर्व होइन । हिन्दुहरुको मात्र चाडपर्व होइन ।  जनजातिहरुको पनि चाडपर्व हो । आम रुममा भन्दा नेपालीहरुको चाडपर्व हो ।

मैले लभभग चार दशक अघि संभवत पेकिङ रिभ्युमा चिनिया चाडपर्वको बारेमा एउटा लेख पढेको थिएँ । त्यसमा एकजना भौतिकवादी वा कम्युनिष्टहरुले धार्मिक पृष्टभूमि बोकेका चाडपर्व मनाउन पर्दछ कि पर्दैन भन्ने कुराको चर्चा गरिएको थियो । भनिएको थियो धार्मिक पृष्टभूमि भएका चाडपर्वहरुले समाजमा गहिरो जरा गाडेका हुन्छन् । यिनीहरु समाजका अभिन्न अंग बनेर रहेका हुन्छन् । फेरि चाडपर्वको विकल्पमा अर्को चाडपर्व शुरु गर्न पनि त सकिन्न । यसैले हाम्रो समाजमा युगौं युगदेखि मनाउँदै आएका चाडपर्वलाई हामीले खारेज गर्न सक्दैनौं । बहिस्कार गर्न सक्दैनौं ।  हामीले सक्ने कुरा के हो भने हामीले यसको धार्मिक आधार मेटाउँदै भौतिक आधारमा उभ्याउने प्रयास गर्नु राम्रो हुन्छ । आध्यामिक विश्लेषणको सट्टा भौतिक विश्लेषण प्रस्तुत गर्नु राम्रो हुन्छ ।

दशैंले हामीलाई आफन्तहरुसित भेटघाट हुने मौका दिन्छ ।  दशैंको छुट्टी वा फुर्सदले हामीलाई नयाँ जीवनको अनुभूति गर्न सक्ने अवसर दिन्छ । दशैंको उत्सवले हाम्रो जीवनलाई रमाइलो पार्न सक्दछ । उत्साहित र हर्षित पनि पार्न सक्दछ । दशैं शुभकामना आदन प्रदान गर्ने बेला हो । एक अर्काको जीवन सुखमय र सफल होस् भनेर आफ्ना मनको उद्गार पोख्ने समय पनि हो । फेरि दशैं आफूभन्दा ठूलाका हातको टीका लगाउने र आशीर्वादवाद थाप्ने बेला पनि हो । सामाजिक जीवनमा यी सब कुराको ठूलो महत्व छ ।

हाम्रो समाजमा दशैलाई दशैं होइन दशा हो भन्ने चलन पनि छ । खास गरी निम्न आमदानी हुनेहरुका लागि दशैं दशा नै हो । यस कारणले कि यसले अन्त्यमा गरीबहरुलाई ऋण बोकाएर विदा लिने गर्दछ । यसबाट भरसक जोगिन आवश्यक छ । अर्को कुरा दशैंको बेलाको बढी चढक भडक पनि खासै राम्रो कुरो होइन । यसबाट पनि बच्न जरुरी छ । दशैंको बेलामा बढी मादक पदार्थको सेवन गर्नाका अतिरिक्त जुआ तास खेल्ने प्रचलन पनि कायम नै  छ । यसबाट पनि बच्न जरुरी छ । भारतीय संस्कृतिको सिको गरेर उतैबाट माटाका महँगा महँगा मूर्ति भित्राउने प्रचलनले हाम्रो संस्कृतिमाथि अतिक्रमण हुने मात्र होइन त्यसले नेपालको अर्थतन्त्रमा पनि नकारात्मक असर पार्न सक्दछ । यसबाट पनि बच्न जरुरी छ ।  दशैंले ल्याउने विभिन्न प्रकारका बिकृति र विसंगतिबाट बच्न सक्ने हो भने यसले समाजमा धेरै सकारात्मक संदेश पनि दिन सक्दछ । दशैंको बेलामा बिभिन्न राजनैतिक पार्टीहरुल चिया पार्टी राखेर उल्झेका राजनैतिक मुद्दा सुल्झाउने प्रयास गर्दछन् । यस अर्थमा  दशैंले सामाजिक मात्र होइन राजनैतिक महत्व पनि राख्दछ ।

समयको गतिसित हरेक कुरा फेरिंदै जान्छ । यसैले दशैको परिभाषा मात्र होइन त्यसलाई मनाउने तरिकमा पनि परिवर्तन आउन सक्दछ । यत्ति हो परिवर्तन अग्रगामी हुन जरुरी छ । जन संस्कृतिलाई टेवा दिने खालेका हुन जरुरी छ । राष्ट्रिय संस्कृतिलाई  बल दिने खालको हुन जरुरी छ । समाजलाई सही दिशातिर डोराउने खालको हुन जरुरी छ ।

* दिल साहनी