माओवादी नेता न्यौपानेले गरे तेस्रो बिहे


काठमाडौं, १ कार्तिक  । नेकपा-माओवादीका नेता लेखनाथ न्यौपानेले बुधबार तेस्रो विवाह गरेका छन् ।
राजधानीको कलंकीस्थित एलआरआई स्कुलमा न्यौपानेले स्याङ्जाकी विभूती भट्टराईसँग विवाह गरेका हुन् । विभूती पनि माओवादीको विद्यार्थी राजनीतिमा क्रियाशील छन् । न्यौपानेसँग विभूतीको दोस्रो विवाह हो । विवाह समारोहमा माओवादी सचिव नेत्रविक्रम चन्दलगायत नेता कार्यकर्ता सहभागी थिए ।
न्यौपानेकी पहिलो श्रीमती उर्मिला अधिकारी 'समीक्षा' द्वन्द्वकालमा बाराको भालुखोलामा मारिएकी थिइन् । दोस्री श्रीमती आस्था घिमिरेसँग सम्बन्ध विच्छेद भएको हो । पहिलो श्रीमती उर्मिलाको सम्झनामा न्यौपानेले 'तिमि अमर भयौः मेरो मुटु चुडिँयो' नामक शोक पुस्तक लेखेका थिए ।
न्यौपानेले द्वन्द्वकालदेखि माओवादीको विद्यार्थी राजनीतिक गरेका हुन् । एमाओवादी निकट अखिल क्रान्तिकारीका पूर्वअध्यक्ष न्यौपाने पार्टी फुटेपछि नेकपा-माओवादीतिर गए । माओवादीमा उनले विद्यार्थी फाँट हेर्दै आएका छन् ।