ग्याँस उपभोक्ताले राहत पाउने सम्भावना न्युन

नारायण पंगेनी 
लामो समयको तयारी पछि सरकारले नेपालमा घरायसी र ब्यवसायिक प्रयोजनको लागि भन्दै रातो र निलो गरी दुई रंगको सिलिण्डर प्रचलनमा ल्याएको छ । घरायसी प्रयोजनका लागि उपभोक्ताले रातो सिलिण्डर र ब्यवसायकि प्रयोजनका लागि उपभोक्ताले निलो सिलिण्डरको ग्याँस प्रयोग गर्न पाउने ब्यवस्था गरिएको छ ।  
निकै निकै हल्लाखल्ला र तामझामका साथ दुई रंगको सिलिण्डरको प्रयोग बजारमा आएपनि घरायसी प्रयोजनका उपभोक्ताले प्रयोग गर्ने रातो सिलिण्डरमा राहत पाउने कुनै संकेत भने मिलेको छैन । घरायसी प्रयोजन र ब्यवसायीक प्रयोजनको लागि छुट्टाछुट्टै प्रयोग गरिने ग्याँस सिलिण्डरको मूल्य पनि फरक हुँदा कालोबजारी बढ्न सक्ने भन्दै विरोध आएपछि भने मूल्यमा एउटै मूल्य निर्धारण गरिएको छ । 

खासगरी घरायसी प्रयोजनका उपभोक्ताले सुलभ मूल्यमा पाउने वा राहत पाउने उद्देश्यका साथ दुई रंगको सिलिण्डर प्रयोगमा ल्याइएको हो । तर सरकारले उपभोक्तालाई राहत दिने भनेपनि अहिलेकै मूल्यमा राहत देला भन्ने विश्वास गर्न सकिदैन । नेपाल आयल निगमका प्रवक्ता सूर्यप्रसाद पुडासैनीले तत्काल राहत उपलब्ध नहुने जानकारी दिदै दुई रंगको सिलिण्डर प्रयोग कार्यान्वयन गरी निगमको घाटा कम गर्ने मुख्य कुरा भएको बताए ।  

नेपाल आयल निगमको घाटा पूर्ति गर्न भन्दै सरकारले दुई रंगको सिलिण्डर प्रचलनमा ल्याएर दुई मूल्य निर्धारण गर्ने सरकारको योजना हो । तर ग्यास उद्योगीहरुको अडानको कारण जति रंगको ग्यास सिलिण्डर प्रयोगमा ल्याएपनि एउटै मूल्य कायम गर्ने सहमति बन्यो । सरकारले जुन सुकै माध्यामबाट उपभोक्ताले राहत पाएपनि उपभोक्ता मूल्य भने एउटै मूल्य हुने सहमति भएको एलपी ग्याँस उद्योग संघका अध्यक्ष शिवप्रसाद घिमिरे बताउँछन् । 

विदेशी डलरमा हुने उतार चढावले गर्दा अन्तर्राष्टिय रुपमा नै ग्याँसको मूल्यमा फेरबदल आउने गरेको छ भने नियममा हुँने घाटा र विक्रेताहरुको कमिशनको चक्करले गर्दा पनि समस्याहरु निम्तिने गरेको छ । 

यद्यपी पछिल्लो समय भने दुई रंगको सिलिण्डर प्रचलनमा आइसकेपछि ब्यवसायीहरुले प्रयोग गर्दै आएको रातो सिलिण्डरसँग सहजरुपमा निलो सिलिण्डर साट्न पाउनु पर्ने ब्यवसायीहरुको माग रहेको छ । ग्याँस विक्रेता महासंघका अध्यक्ष ज्ञानेश्वर अर्यालले ब्यवसायीहरुलाई थप सिलिण्डर किनाउने काम गर्नु नहुने भन्दै रातो सिलिण्डरसँग निलो सिलिण्डर सहज रुपमा साट्ने ब्यवस्था मिलाउनु पर्ने बताए ।  

ग्याँस उद्योगी र विक्रेताहरुको दवावकै कारण यसअघि वर्षौ अघिदेखि नै लागू गर्न खोजिएको दुई रंगको सिलिण्डरको प्रयोग कार्यान्वयन हुन सकेन । अहिले जेनतेन असार १ देखि दुई रंगको सिलिण्डरको प्रयोग कार्यान्वयनमा ल्याइएको छ तर उपभोक्ताले रातो सिलिण्डर प्रयोगमा पाउने राहतको आश्वासन पुनः मूल्य बढाएर पाउने हुन् की अहिले नै भन्ने प्रश्न उब्जिएको छ । 

त्यसैले सरकारले फरक प्रयोजनको लागि फरक रंगको सिलिण्डर प्रयोग कार्यान्वयनमा ल्याएपछि अहिले यसको ब्यवस्थापनको पक्ष मुख्य बनेको छ । दुई थरी सिलिण्डर प्रयोगमा आएपछि भोलि राहत पाउने भनिएको रातो रंगको सिलिण्डरको कृत्रिम अभाव सिर्जना गर्ने सम्भावना पनि उत्तिकै छ । 

यसर्थ रातो रंगको सिलिण्डरको मूल्य घट्छ की घट्दैन, नियमन कसरी गर्ने, नियमन गर्न नीति कहिले देखि लागू गर्ने, राहतका प्याकेज उपभोक्ता सम्म कसरी पु¥याउने तथा अपचलन हुने सम्भावनालाई न्युनिकरण कसरी गर्ने भन्ने विषय महत्वपूर्ण रहेको राष्टिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जन बताउँछन् ।  

एलपिजी ग्यासको व्यवसायलाई व्यवस्थित बनाएर घरायसी उपभोक्तालाई अनुदान दिने उद्देश्यले दुई रङका सिलिण्डर प्रयोगमा ल्याउन निर्देशन गरेअनुसार नै दुई रंगको सिलिण्डर प्रयोगमा ल्याइएको हो । तर आम उपभोक्ताहरुले अहिले सम्म ग्याँस कार्ड समेत प्राप्त गरिसकेका छैनन् । 

यसअघि उपभोक्ताले एलपिजी कार्ड र बिक्रेताबाट खरिद गरेको बिल सम्बन्धित बैंकमा पेस गरेपछि सो अनुदान दुई महिनाभित्रमा प्राप्त गर्ने बताइएको थियो । 

घरायसी प्रयोजनको रातो सिलिण्डरमा चार जना सम्मको परिवारले हरेक महिना प्रति सिलिण्डर अनुदान पाउने भनिएपनि के कति अनुदान पाउने र कुन वैंकबाट दिने भन्ने समेत सरकारले अहिले सम्म कुनै निर्णय गर्न सकेको देखिदैन । नेपाल आयल निगमलाई अहिले पनि प्रति सिलिण्डर ५ सय ८८ रुपैंया घाटा रहेको छ । उपभोक्ताको माग पूर्ति गर्न भन्दै निगमले सरकारसँग करोडौं रुपैया ऋण लिदै आएको छ । 

त्यसैले आयल निगमको २८ अर्व ऋण मिनाहा गर्ने सरकारले तयारी त गरेको छ तर निगमको २८ करोड रुपैंया मिनाहा गरिदिएर पनि उपभोक्ताले राहत नपाउने वा महंगो मूल्य तिरेर पनि ग्यास नपाउने अवस्था आयो भने चाँही समस्या अझ विकराल बन्नेछ । यसर्थ भविष्यमा कुनै पनि समस्या आउन नदिन तत्काल उचित नियम लागू गर्नु आवश्यक छ ।