वैद्यसँग बस्न सकिँन, विप्लवसँग जान सकिँन- जयपुरी

राजकुमार/नारायण पंगेनी
काठमाडौं । माओवादी १० वर्षे जययुद्धले जन्माएकी जुझारु नेत्री जयपुरी घर्ती बुद्धनगरस्थित वैद्य माओवादीको कार्यालय जान छाडेको एक महिना हुन लाग्यो ।
मोहन वैद्यसँग सम्वन्ध विच्छेद गरेर नयाँ पार्टी बनाएका नेत्रविक्रम चन्द विप्लवतिर पनि लागेकी छैनन् पूर्वसभासद जयपुरी ।
तपाई कुन पक्षमा हो भनेर सोध्यो भने उनी छोटो जवाफ दिन्छिन्- ‘म कतै छैन, अध्ययनमा छु ।’
भेटघाटका लागि अनलाइनखबरको टोली ललितपुरको हात्तिवनस्थित डेरामा पुग्दा रोल्पाली नेतृ जयपुरीले सुरुमा पार्टी फुटबारे टिप्पणी गर्न अन्कनाइन् । तर, सम्वादका क्रममा उनले आफ्नो मौनताको रहस्य मात्रै खोलिनन्, माओवादी आन्दोलनको भविश्यबारे निकै कठोर विश्लेषण सुनाइन् ।
दशवर्षे जययुद्धका उपलब्धीहरु रक्षा गर्न माओवादी असफल भएको जयपुरीको निष्कर्ष छ । ‘समग्र माओवादी पार्टी नै विर्सजनको दिशामा गयो, एमाओवादी भन्नुस् कि ड्यास माओवादी भन्नुस् वा अहिले जन्मेको माओवादी भन्नुस्’ उनले निराशा प्रकट गरिन् ।
माओवादी विघटन र विसर्जनको बाटोमा
शान्ति प्रक्रियामा आएपछि माओवादीको पतन सुरु भएको जयपुरीको ठम्याइ छ । ‘प्रतिक्रियावादीहरुले आफ्नो रणनीति बनाउँदै गए । हामीलाई जालमा फसाउँदै गए । क्रान्तिकारीहरु योजनाविना अघि बढ्दा फस्दै गए,’ जयपुरी भन्छिन्, ‘वैचारिक राजनीतिक हिसाबले सम्झौताहरुमा नै हामी फस्यौं जस्तो लाग्छ । फस्दै जाँदा परिणमका रुपमा विर्सजनमा आयौं ।’
दश वर्षे जनयुद्धले जन्माएको माओवादी यति सजिलै कसरी विसर्जनको बाटोमा पुग्यो ? अनलाइनखबरको प्रश्नमा जयपुरी भन्छिन्, ‘हामीले केही राख्न सकेनौं । जनमुक्ति सेना विना अंश सकियो । हामीलेे ठीक ढंगले समायोजन गर्न सकेनौं । हाम्रो सत्ता थियो । तर, त्यसलाई पनि ठीक ढंगले व्यवस्थापन गर्न सकेनौं । सकेको भए ब्युरोक्रेसीमा हाम्रा मान्छे जान्थे । धेरै ठाउँमा हाम्रा मान्छे हुन्थे ।’
माओवादीको थप समीक्षा गर्दै जयपुरी भन्छिन् – ‘हामीले दुईचार जना मन्त्रीका लागि बार्गेनिङ गर्‍यौं । तर, जनतालाई के दिने भन्नेबारे पार्टीमा दुरु दृष्टिसहित कहिल्यै छलफल भएन । अहिले त्यसैको परिणामा भोग्दैछौं ।’
‘पुराना नेताहरुले पुनर्गठन गर्लान् भनौं भने फुटाउने मात्रै भए’ पार्टीको फुटबारे असन्तुष्टि पोख्दै उनी भन्छि्न, ‘त्यसकारण मेरो निष्कर्ष के हो भने १० वर्ष जनयुद्धबाट आएको माओवादी पार्टी विघटन भएको छ, विर्सजन भएको छ । अब माओवादी पार्टी र आन्दोलनलाई पुनर्गठित गर्नुपर्छ ।
Jaya puri Gharti-banner_650
पहिलेका भ्रष्टाचारविरोधी, अहिलेका भ्रष्ट
जयपुरीको अनुभवमा जनयुद्धकालमा सबैभन्दा भ्रष्टाचारविरोधी माओवादी अहिले सबैभन्दा भ्रष्ट बनेको छ । उनी भन्छिन्, ‘माओवादी पार्टीका नेताहरु पद र पैसामा मात्रै केन्दि्रत भएका छन् । जो सँग पैसा छ, पद छ, त्यसले मान्छे मिचेर लान्छ । अरु अवहेलित भएर बस्नुपर्ने अवस्था छ ।’
माओवादीका कोही नेताहरु अरबपति बनेको र यसले गर्दा पनि पार्टीमा विचलन आएको बताउँदै जयपुरी भन्छिन्- ‘काठमाडौंमा बस्ने केही नेताहरुलाई त मोजमस्ती छ, ५/१० प्रतिशत नेताहरु अरबपति करोडपति भए । तर, ९० प्रतिशत सडकमा छन् ।’
माओवादी दाह्रा नभएको बाघजस्तै
शान्ति प्रक्रियादेखि यहाँसम्म आउँदा दुश्मनले माओवादीको सबैथोक लगेको र पार्टी दाह्रा झरेको र नङग्रा नभएको बाघजस्तो भएको बनेको उनले सुनाइन् ।
उनले भनिन्- ‘शान्ति प्रक्रियादेखि यहाँसम्म आउँदा दुस्मनले माओवादीको सबै लग्यो । पार्टी दाह्रा झरेको बाघ, नङ्ग्रा नभएको जस्तै भएको छ ।’
जनस्तरमा पार्टी सिद्धिसकेको संकेत गर्दै जयपुरी भन्छिन्- ‘विगतमा लडेकाहरु खाडी मुलुक पुगिसके, कोही बंगुरको खोरमा छन् । मान्छे त माथि मात्रै देखिन्छन्, छाताजस्तो’ टाउको धेरै ठूलो, खुट्टा केही छैन, यही हो अहिले माओवादी पार्टी ।’
वैद्यसँग बस्न सकिँन, विप्लवसँग जान सकिँन
दुई वर्षअघि क्रान्ति गर्ने भन्दै मोहन बैद्यको अगुवाइमा एमाओवादी फुट्दा उनी पनि छुटि्टएर वैद्य माओवादीमा आइन् ।
तर, २ वर्षसम्म केही भएन । उनको भाषामा वैद्य माओवादीले सुधारवादी आन्दोलनसमेत गर्न सकेन, जुन सम्भव थियो । र, यही विवादले अहिले बैद्य माओवादीमा पनि फुट आएको छ ।
‘किरण दाइहरुसँग बस्न सकिँन । विप्लव दाइसँग जान सकिँन । यही भएर म अध्ययनमा छु’ जयपुरीले हाँस्दै भनिन् ।
किन ? अब बुढी भइयो जस्तो लाग्यो ? अनलाइनखबरको प्रश्नमा जयपुरी भन्छिन्- ‘बुढी त भा छैन । ४३ वर्षकी भएँ । प्रथमतः उहाँ (विप्लव)ले निष्कर्षमा पुर्‍याउनुहुन्छ कि हुन्न भन्नेमा म ढुक्क छैन । जानका लागि पूर्ण विश्वस्त हुनुपर्छ । अर्को, मेरो स्वास्थ्य । १४ वर्षदेखि फोक्सोको बिरामी हुँ । ०६० सालमा एउटा फोक्सो काटेर फालेँ । अहिले पनि औषधी खाइरहेकी छु ।’
आफू जान नसके पनि नेत्रविक्रम चन्द विप्लवले लिएको बाटो सही लागेको जयपुरीको मूल्यांकन छ । उनी भन्छिन्- ‘कसैले क्रान्ति गर्छ भने गर्न दिनुपर्छ । आफूले सक्दैन भने सक्दिँन भन्नुपर्छ ।’
माओवादीको भविश्य
जययुरीको विश्लेषणमा अब माओवादी आन्दोलनमा दुई धार मात्रै छ । ‘एउटा धार भनेको प्रचण्ड बाबुरामको संसदीय धार र अर्को भनेको क्रान्ति गर्ला नगर्ला दोस्रो कुरा हो तर, क्रान्तिकारी धार भनेको विप्लवकै हो’ उनले निष्कर्ष सुनाइन् ।
उनी भन्छिन्- ‘कार्यदिशाका आधारमा भन्ने हो भने प्रचण्डतिर जान प्रचण्डकै सही । क्रान्तिकारी कार्यदिशा भन्ने हो भने विप्लवकै सही ।’
अनि बैद्य माओवादी नि ? जयपुरी भन्छिन्, किरण दाइहरुले क्रान्तिकारी बिउ जोगाएर बस्ने त भन्नुहुन्छ । तर, यो धेरै समय टिक्दैन । वैद्य माओवादीको एउटा हिस्सा प्रचण्डमा गएर विलीन हुन्छ र अर्को विप्लवतिर लाग्छ ।’
वैद्य माओवादीको भविश्यबारे जयपुरीको दाबी यस्तो छ -‘किरण दाइले भन्नुहुन्छ, म संशोधनवादी भएर मर्दिँन । बरु अध्ययन गर्छु, बस्छु । यो हुनसक्छ । तर, चाँडो वा ढीलो उहाँ नेतृत्वमा रहेको पार्टी प्रचण्डसँग विलीन हुन्छ । कि मान्छेहरुले छोड्दै जान्छ र एकदम सानो तप्का मात्रै बस्छ । यो ग्यारेन्टी हो । ६ महिना वर्षदिनमा त्यो अवस्था आउँछ ।’
वैद्यभन्दा प्रचण्ड र बाबुराम नै ठीक
अहिले बैद्य माओवादीमा रहेका धेरै माओवादी नेता कार्यकर्ता विकल्प खोजिरहेको उनले सुनाइन् । तर, बैद्य माओवादी घुमाउरो तरिकाले प्रचण्ड-बाबुरामकै पथमा लागेको उनले आरोप लगाइन् । ‘१०/१५ वर्षसम्म क्रान्ति हुँदैन भनेर दाइ (बैद्य) हरुले भन्नुहुन्छ । प्रचण्ड बाबुरामले पनि १०/१५ वर्षसम्म क्रान्ति हुँदैन भनेर त्यो -उनको भाषामा संसदीय) बाटो लिनुभएको हो । त्यसैले बैद्यको भन्दा प्रचण्ड बाबुरामको बाटो ठीक छ । किन घुमाएर भन्ने ?’
बैद्य माओवादीका नेता कार्यकर्तालाई सुझाव दिँदै जयपुरी भन्छिन्- ‘क्रन्ति र परिर्वतनको इच्छा हो भने विप्लवतिर जानुस्, होइन १०/१५ वर्ष राजनीति गर्ने र जीवन काट्ने हो भने प्रचण्डहरुकै बाटोमा जानुस् ।’
विप्लवमाथि आशा
आफूले साथ दिन नसके पनि विप्लवले केही न केही गर्छन् भन्ने जयपुरीलाई लागेको छ । उनी भन्छिन्, विप्लवसँग धेरै नयाँ मान्छेहरु जान्छन् ।
तर, १० वर्ष जनयुद्धमा लागेकाहरु नि ? यो प्रश्नमा उनको जवाफ छ, ‘१० वर्षको जनयुद्धमा होमिएकामध्ये पैसा कमाउने मान्छेसँग पैसासँग छ । त्यसलाई कहाँ सरक्षण गरौं भन्ने छ । कोही अब भो, यत्रो गरेर त केही भएन, अब के हुन्छ भन्नेमा छन् । कोही अरबमा छन् त कोही सुँगुरको खोरमा । त्यसैले त्यहाँबाट एउटा हिस्सा मात्रै क्रान्तिमा जान्छन् ।’
माओवादी आन्दोलन असफल भएपछि मानिसहरुमा अविश्वास, आशंका र निराशा पैदा भएको र यो केही समयपछि यो ठूलो आक्रोशमा बदलिने र क्रान्तिमा समावेश हुने उनले बताइन् ।
क्रान्तिप्रति आशावादी हुँदै उनी भन्छिन्, ‘विप्लव मात्रै किन ? अरु कसैले पनि क्रान्ति गर्न सक्छ । विप्लवले नगर्ने भए अरुले गर्छ । त्यो अनिवार्य छ ।’
धेरैले विप्लवलाई महत्वकाक्षी भन्छन् । कतिले त मर्नेबाटो रोजे भन्ने टिप्पणी पनि गरेका छन् । तर, जयपुरी भने यसलाई मान्न तयार छैनन् । ‘यो दुनियाँमा महत्वकांक्षा नै नहुने त जोगी मात्र हुन्छ । मान्छेको जात नै के हो भने महत्वाकांक्षा हुन्छ’ उनले भनिन्-‘त्यसकारण विप्लवमा पनि नहुने भन्ने भएन । तर, जसरी विप्लवले अध्यक्ष नै खोज्यो, महासचिव खोज्यो भन्ने आरोप लगाइएको छ, त्यो सय प्रतिशत गलत हो । मैले त बुझेकी छु ।’
विप्लवको महत्वकांक्षा भनेकै क्रान्ति अघि बढाउनुपर्छ भन्ने भएको जयपुरीको बुझाइ छ । ‘किन भएन क्रान्ति ? किन कांग्रेस एमालेले ठोक्ने भए ? किन जनतामा हामी मुख देखाउन लायक भएनौं ? यी प्रश्नबाटै सुरु गर्नुपर्छ भन्ने महत्वाकांक्षा हो’ विप्लवबारे उनको बुझाइ छ ।
माओवादीका सामु दुई विकल्प
माओवादी आन्दोलन विर्सजन भएको निष्कर्षमा पुगेकी जयपुरीले अझै हिम्मत भने हारेकी छैनन् । माओवादीहरुले जितेको लडाइ पनि हारेकाले अब एकजुट हुनुपर्ने उनको जोड छ ।
‘एउटा, माओवादी पार्टीले हारेको छ । यसको एउटा उदाहरण विगतमा १० वर्षे द्वन्द्व भन्थे, अहिले हिंसा भन्छन् । यसले प्रष्ट हुन्छ’ निश्कर्षमा उनले भनिन्-‘अब यो नेताहरुको दिमागमा पसेको छ भने एकतावद्ध भएर अघि बढ्नुपर्छ र अर्को हस्तक्षेप गर्नुपर्छ । यो सबैभन्दा उत्तम बाटो हो ।’
जनयुद्धमा आफ्नो श्रीमान गुमाएकी सहीदपत्नी घर्तीले भनिन्- ‘अर्को विकल्प भनेको तत्काल हस्तक्षेप सम्भव छैन भने केही समय संसदीय व्यवस्थालाई उपयोग गरेर माओवादी पार्टीलाई टिकाउने र तयारी गरेर अगाडि जाने हो भने पनि हुन केही सक्छ ।’
तर, दुबैका विकल्पका लागि माओवादीहरु एक हुनुपर्ने उनको निष्कर्ष छ । उनी भन्छिन्- ‘यो दुबै हुँदैन भने एउटा अगाडि बढ्दा अर्कोले सपोर्ट गर्ने । अरुले आफ्नो ठाउँबाट गर्दै गर्ने ।

,