माओवादी ध्रुवीकरण आवश्यकता कि बाध्यता ?

नारायण पंगेनी
पहिलो संविधानसभाको निर्वाचनपछि विभाजित भएका माओवादीहरु फेरि एकता अभियानमा जुटेका छन् । पार्टी विभाजनले माओवादी आन्दोलन नै कमजोर भएको निश्कर्षका साथ सवै माओवादीहरु फेरि एकपटक एकताको पहलमा लागेका हुन् ।
नारायण पंगेनी
नारायण पंगेनी
शान्ति प्रक्रियामा आएसँगै माओवादीले सत्ताको स्वाद चाख्न पायो । सत्ताको स्वादमा घुलिँदै जाँदा सत्ताको चास्नीमा चुलुम्म डुबेका माओवादी नेताहरुमा सरकारी पद प्रतिष्ठाले निकै आकषिर्त गर्‍यो । त्यसैको लोभलालचले गर्दा क्रान्तिकारी विचारबाट सुधारोन्मूख हुँदै गए ।
आर्थिक प्रलोभन र लोभलालचले गर्दा नै पार्टी नेताहरु विभाजित हुँदै गए र पार्टी विभिन्न टुक्रिँदै गयो । पार्टी टुक्रिएको परिणाम स्वरुप दुई चार वर्षमै माओवादी आन्दोलन निकै कमजोर भयो । समग्र माओवादी आन्दोलन नै कमजोर भएको निश्कर्षका साथ यतिबेला माओवादी नेताहरु बहसमा केन्दि्रत हुन थालेका छन् ।
एकताका लागि युवा दबाव
दश वर्षे जनयुद्धको बाटो हुँदै ऐतिहासिक संविधानसभाको पहिलो निर्वाचनसम्म आउँदा जनताको आशा र भरोसाको केन्द्र ठानिएको माओवादी विशाल पार्टीमा स्थापित भयो ।
ग्रामीण बस्तीहरुबाट उठेको जनयुद्धको असली भावक ठानिएको माओवादी नेताहरु यतिचाँडै आर्थिक प्रलोभनमा फस्लान् र बदनाम होलान् भन्ने कमैले आँकलन गरेका थिए । तर, भैदियो त्यस्तै ।
जनताको मुक्तिको नारा दिएर गाउँगाउँबाट उठेको माओवादी राजधानी छिरेसँगै नेताहरुको दैनिक दिनचर्या र बसउठमा आएको रुपान्तरणले पदको सिनाझम्टीकै कारण आएको विभाजनको शिकार बन्न पुग्यो । पार्टीमा गोलबद्ध भएका पूर्णकालीन कार्यकर्ताको ठूलो पंक्ति पनि  बाँडिए ।
पार्टी विभाजन हुँदै जाँदा जनताबाट पनि विश्वास टुट्दै जान थाल्यो । परिणामस्वरुप माओवादी शक्ति कमजोर हुँदै गयो । त्यसैले ब्यक्तिगत जीवनमा परिणाममुखी काम गर्ने बेलामा जीवनलाई दाउमा राखेर माओवादी आन्दोलनलाई साथ दिँदै आएका युवा पंक्ति नेताहरुको ब्यवहारबाट आजित भए भने माओवादी विभाजनले  उनीहरुलाई विच्छिप्त बनायो ।
यही शिलशिलामा माओवादीका केही युवा नेताहरु सबै माओवादीलाई पुर्नगठित गर्न लागिपरेका छन् । विभाजनले माओवादी शक्ति र माओवादी आन्दोलन नै कमजोर भएको भन्दै माओवादी एकताको लागि उनीहरुले दबाव समूह खडा गरेका छन् । यतिबेला एमाओवादीका जनार्दन शर्मा ‘प्रभाकर’, नन्दकिशोर पुन ‘पासाङ’, वर्षमान पुन ‘अनन्त’ लगायतले दबाव समूहको अगुवाइ गरिरहेका छन् भने गौणरुपमा सबै माओवादीको युवा पंक्तिले सघाउ पुर्‍याइरहेको छ । यही दबावको कारण फेरि एकपटक ‘माओवादी आन्दोलन पुर्नगठन’ अभियान चलाउन लागिएको हो ।
के सम्भव छ माओवादी आन्दोलन पुर्नगठन ?  
पार्टी विभाजनकै कारण समग्र माओवादी आन्दोलन कमजोर भएको तथ्यलाई स्वीकार्नैपर्छ । विभाजनकै परिणामतः माओवादीप्रतिको आम नागरिकको विश्वास टुटेको छ ।
माओवादीप्रतिको टुटेको विश्वासको कडी जोड्न फेरि एकपटक माओवादी पुर्नगठित हुनु आवश्यक छ । भत्किएको विश्वासलाई साथ लिन पहिलो आवश्यकता पुर्नगठित भए पनि अर्को आवश्यकता भनेको नेताहरुको कार्यशैली र व्यवहारमा सुधार नै हो ।
माओवादी नेतृत्व पंक्तिमा मौलाएको समृद्ध जीवनशैलीलाई परित्याग गर्नु चुनौतीपूर्ण होला । तर, एकपटक आफ्नै कार्यकर्ताको विश्वास जित्न पनि नेताहरुले ठूलै त्याग गर्नुपर्छ, त्यो त्याग भनेकै जीवनशैलीमा सुधार हो ।
प्रचण्ड-वैद्य मिलन यसकारण  
जनतालाई मुक्तिको सपना बाँडेको माओवादीले अन्ततः संविधानसभाबाटै भए पनि जनतालाई परिवर्तनको प्रत्याभूति गराउनु आवश्यक थियो । तर, जनतलाई परिवर्तनको प्रत्याभूति पनि नगराउँदै माओवादी पार्टी विभाजनको चपेटामा पर्‍यो । विभाजनको चपेटमा परेपछि माओवादी शक्ति झन् झन् क्षीण बन्दै गयो । आम जनता  र कार्यकर्ता पंक्तिमा मात्र होइन, माओवादी नेताहरुमा नै एकआपसमा अविश्वास पैदा हुँदै गयो । फलस्वरुप लामो समयदेखि शासन हातमा लिएका शक्तिहरु फेरि सल्बलाउन थाले ।
हिजो माओवादी आन्दोलनले कमजोर बनेको शक्तिले आफूहरुबीचको वैमनस्यताकै कारण फेरि जुरो उठाउन थालेपछि नेताहरुले आफूहरुको कमजोरीको समीक्षा गर्नुपर्ने आवश्यकता देखेका छन् । यही आवश्यकतालाई महशुस गरेर नै विभाजित भएको दुई वर्ष नपुग्दै प्रचण्ड-वैद्यले एकताको हात बढाएका छन् । केही जमात एकता हुँनै नदिने बाटोमा रहे पनि ठूलो पंक्ति पार्टी एकताका लागि जोडबल गरिरहेको छ ।
६ बुँदे प्रस्ताव एकताको आधार
दुई पार्टी एकीकृत माओवादी र नेकपा-माओवादीबीच एकताको लागि ६ बुँदे प्रस्ताव तयार पारियो । वैद्य माओवादीले तयार पारेको ६ बुँदे प्रस्ताव स्वीकार्न सकिने एमाओवादीले बताइसकेको छ । पहिलो प्रस्ताव मालेमावादलाई पथप्रदर्शक सिद्धान्तका रुपमा अवलम्बन गर्ने कुरामा दुबैको विमति छैन ।
दोस्रो प्रस्तावमा नयाँ जनवादी क्रान्तिको नीति कार्यक्रमलाई स्वीकार्ने कुरा छ । हिजो नयाँ जनवादी क्रान्तिको नीति, कार्यक्रम र कार्यदिशालाई स्वीकार्दै युद्ध हाँकेर आएको शक्ति भएकैले गर्दा यसमा पनि कुनै तिल र पहाड हुन सक्तैन ।
संसदवादलाई अस्वीकार गर्नुपर्ने तेस्रो प्रस्ताव मान्न हिच्कचाहट भए पनि माओवादी स्कुलिङमा ‘संसद भनेको खसीको टाउको देखाएर कुकुरको मासु बेच्ने थलो’ भन्ने भनाइलाई घोकाइएकै कारण यसलाई नमान्दा नैतिकताको प्रश्न उठ्छ ।
चौथो प्रस्तावका रुपमा सामाजिक क्रान्ति र रुपान्तरणका लागि बलप्रयोगलाई स्वीकार्नुपर्ने रहेको छ भने पाँचौं प्रस्ताव पार्टी इतिहासको समीक्षा गर्न र गल्ती तथा कमीकमजोरीलाई सच्चाउन तयार हुनुपर्ने र जनवादी केन्द्रीयताको मर्मलाई संगठन सञ्चालन गर्न राजी हुनुपर्ने वैद्य पक्षको शर्त छ ।
यी सबै प्रस्ताव तथा शर्तलाई नमान्ने भन्ने असम्भव नै छैन । नयाँ जनवादी क्रान्तिलाई स्वीकार्ने कुराबाहेक अन्य प्रस्तावमा स्वीकार्य हुने भनी एमाओवादी अध्यक्ष प्रचण्डले सार्वजनिक अभिव्यक्ति नै दिइसकेका छन् । ६ सर्तमध्ये पाँच सर्तलाई स्वीकारिसकेको अवस्थामा वार्तामा एउटा शर्तमा लेनदेन नहोला भन्न सकिन्न ।
झण्डै एक वर्षदेखि एकीकृत माओवादी र वैद्य माओवादीबीच पार्टी एकताको पहल भइरहेका बेला सवै माओवादी पार्टीबीच एकताको छलफल थालिएको माओवादी नेताहरुले स्वीकार गरिरहेका छन् ।
विभाजित भएका सबै माओवादीबीच समग्ररुपमा नै एकता गर्नुपर्ने भन्दै एमाओवादीभित्रका युवा दबाब समूहले गरेको पहलकै कारण सम्भव भएको एकीकृत माओवादी नेता हेमन्तप्रकाश ओलीले बताउँछन् ।
माओवादी आन्दोलन पुर्नगठित अभियान सञ्चालन गर्दै माओवादी ध्रुविकरणका लागि बहस र छलफलहरुलाई घनिभूत गर्दै लैजाने कुरामा नेताहरु सहमत छन् । माओवादी आन्दोलनको समीक्षा तथा बहस र छलफलकै माध्यामबाट अघि बढ्ने निश्कर्षका साथ नै अभियान अगाडि बढाइँदैछ ।
अभियानले माओवादी ध्रुवीकरणका सन्दर्भमा बहस, छलफल तथा अन्तरक्रिया गर्दै जानेछ । नेकपा-माओवादीको पछिल्लो स्थायी समिति बैठकले दुई पार्टीबीच एकताका लागि अध्यक्ष मोहन वैद्य नेतृत्वकै वार्ता टोलीलाई निरन्तरता दिई वार्ता अगाडि बढाउने निर्णय गरेको महासचिव रामबहादुर थापा ‘बादल’ले सार्वजनिक गरेको भोलिपल्टै एकतावार्ताका लागि वार्ता समिति नै गठन गरिएको छ ।
सत्य निरुपण मेलमिलाप तथा शान्ति प्रक्रियाका बारेमा सरकारले गरेको निर्णयका विरुद्ध संयुक्त आन्दोलन गर्नेसहित चार बुँदे सहमति गरिसकेको दुई माओवादीबीच विगतमा देखिएका प्रतिशोधपूर्ण भावनाहरु पनि निस्तेज हुँदै गइरहेका छन् ।
एकताका लागि विप्लव पनि सकारात्मक
माओवादी विभाजनले समग्र माओवादी आन्दोलन नै कमजोर भएको निश्कर्षमा अर्का जुझारु युवा नेता नेत्रविक्रम चन्द ‘विप्लव’ पनि छन् । बलप्रयोगको सिद्धान्तमा नै जोडबल गर्ने विप्लवले मोहन वैद्य ‘किरण’बाट पनि संघर्ष उठान गर्न नसकेको कारण जनाउँदै नयाँ पार्टी गठन गरे ।
नयाँ पार्टी गठन गरेर चर्को स्वरले चिच्चाए पनि गैरमाओवादी शक्तिहरुले सजिलै टेर्नेवाला छैन भन्ने कुरा विप्लवले नबुझेका होइनन् । त्यसैले उनी पनि एकीकृत माओवादी शक्तिले मात्रै छिटो विजय प्राप्त गर्न सकिन्छ भन्नेमा प्रष्ट छन् ।
त्यसैले, एमाओवादीसँग पार्टी एकताको प्रक्रिया अघि बढाइएपछि असन्तुष्ट भई पार्टीबाट अलग्गिएर नयाँ पार्टी गठन गरेका विप्लव पनि यतिबेला माओवादी आन्दोलन पुर्नगठन गर्नेमा सकारात्मक देखिएका छन् ।
पार्टी विभाजनपछि समग्र कम्युनिष्ट आन्दोलन नै कमजोर भएकाले ध्रुविकरणका लागि यो अभियान चलाउन लागिएको उनकै पार्टीका स्थायी समिति सदस्य धर्मेन्द्र बास्तोलाले बताउँछन् ।
नेपाली क्रान्तिको यही गम्भीर विषयलाई दृष्टिगत गरी पार्टीले नेपालको माओवादी आन्दोलनको समग्र दृष्टिले पुर्नगठन गर्ने ऐतिहासिक पहलकदमी लिएको नेकपा माओवादीका प्रवक्ता खड्गबहादुर विश्वकर्माले विज्ञप्ति मार्फत जनाएका छन् ।
नेपालको इमान्दार माओवादीहरू, नेपाली कम्युनिस्ट आन्दोलनका सच्चा क्रान्तिकारीहरू र राष्ट्रिय मुक्ति एवम् स्वाधीनताका पक्षधर सबै शक्तिहरूको ध्रुवीकरण तत्कालीक आवश्यकताको विषय बनिसकेको भन्दै उनी यसका निम्ति मालेमावादी विचार, क्रान्तिकारी कार्यदिशा, सच्चा कम्युनिस्ट पार्टी र आम जनतालाई एकताबद्ध गर्ने क्रान्तिकारी संघर्ष अनिवार्य बनेको बताउँछन् । यसैकारण माओवादी ध्रुवीकरणको बहस अनिवार्य बनेको छ ।