‘जनयुद्ध–२’ का संकेत


आनन्दस्वरुप वर्मा, 

गएको एक महिनाभित्र नेपालमा दुइटा महत्त्वपूर्ण घटनाहरू भए । जेठ ६ गते एनेकपा माओवादीका अध्यक्ष प्रचण्डले १० वटा संगठनहरूलाई समेट्दै नेकपा माओवादी केन्द्र नामक नयाँ पार्टीको गठन गरे । त्यसको भोलिपल्ट काठमाडौंको सडकमा विप्लव नेतृत्वको नेकपा–माओवादीको आह्वानमा विशाल र्‍याली निस्कियो ।

र्‍यालीपछि आयोजित सभालाई सम्बोधन गर्दै नेत्रविक्रम चन्द ‘विप्लव’ ले उनको पार्टीले जनयुद्धकालीन दिनहरूमा झैं पुनः गाउँस्तरमा ‘जनसरकार’ र ‘जनअदालत’ गठन गर्ने र प्रचण्ड नेतृत्वको ‘सक्रिय संशोधनवाद’ को विरोध गर्ने घोषणा गरे । त्यसको अघिल्लो साँझ नेकपा क्रान्तिकारी माओवादी पार्टीका अध्यक्ष मोहन वैद्य ‘किरण’, नेकपा–माओवादीका अध्यक्ष विप्लव र कम्युनिस्ट न्युक्लियसका हेमन्तप्रकाश ओलीले संयुक्त वक्तव्य जारी गरी प्रचण्डको एकता अभियानको भत्र्सना गर्दै यसलाई ‘दक्षिणपन्थी गुटहरूको एकता’ भने ।

आनन्दस्वरुप वर्मा
सन् २०१२ मा जब कमरेड किरणसँग ठूलो संख्यामा पार्टीका साना–ठूला नेताहरू अलग्गिए, त्यसबेला बुर्जुवा खेमामा खुसीको लहर दौडियो । भारतको सत्ताधारी वर्ग लामो समयदेखि यस क्षणलाई कुरिरहेको थियो । साथै अतीतमा उसले कैयौं हल्ला सहीझैं लाग्ने गरी यसरी फैलाइरह्यो कि नेपालका माओवादीहरू फुटिसकेका छन्, छिन्नभिन्न भइसकेका छन् । तर, प्रत्येक पटक ती हल्ला भ्रम सावित भए ।

जब किरणले मूल पार्टीसँग सम्बन्धविच्छेद गरे, देशी–विदेशी प्रतिक्रियावादी तत्त्वहरूबीच खुसी छायो । तर, यसविपरीत सन् २०१४ मा जब विप्लवले पार्टी निर्माणको घोषणा गरे, उनै तत्त्वहरूबीच ठूलो डर पैदा भयो, जुन माओवादीहरूको छिन्नभिन्नताले खुसी भइरहेका थिए । ५ जून २०१२ मा विप्लवले ‘नेपाली क्रान्तिसामु रहेका चुनौतीहरू’ शीर्षक लेखमार्फत प्रचण्डले क्रान्तिमा विश्वासघात गरेको आरोप लगाए । साथै उनले यसो पनि भनेका थिए– यस विश्वासघातले निश्चित रूपमा संकट पैदा भएको छ तर त्यो प्राणघातक भने छैन । ‘हामीले यस चुनौतीको सामना गर्न सक्छौं र यसका लागि हामीले चार वटा मुद्दाहरूमा ध्यान दिनुपर्ने हुन्छ ।’ उनका चार मुद्दा यी थिए– क्रान्तिकारी विचारधारालाई जोगाउने, क्रान्तिकारी केन्द्रको निर्माण गर्ने, जनताको वैकल्पिक राज्य बनाउने र क्रान्तिकारी संघर्षलाई अगाडि बढाउने ।

पछिल्ला १० वर्ष, जहाँबाट माओवादीहरू खुला राजनीतिमा आए, एकपछि अर्को यस्ता घटनाहरू हुँदै गए, जसले जनतामा निराशा बढाउँदै लग्यो । माओवादीले ‘सामाजिक संरचनामा आमूल परिवर्तन’ को जुन सपना देखाएर जनतालाई हरेक प्रकारको त्याग र बलिदान गर्न प्रेरित गरेका थिए, ती सपनाहरू टुक्रा–टुक्रा भइसकेका थिए । बुर्जुवा राजनीतिका उतारचढाव र तिगडमहरूको अन्तःहीन यात्रा सुरु भइसकेको थियो । सन् १९९१ पछि जस्तो परिस्थिति तयार भएको थियो, त्यसमा पनि विश्वासघातको एउटा तत्व सामेल थियो । तर, यो तत्त्व राजनीतिक दलहरूको प्रणालीबाट निर्मित थियो । यस राजनीतिक प्रणालीमा जुन कम्युनिस्ट पार्टीहरू सम्मिलित थिए, ती क्रान्तिकारी थिएनन् । तिनलाई तपार्इं ‘औपचारिक कम्युनिस्ट पार्टी’ भन्न सक्नु हुन्छ । तर, आज परिस्थिति पहिलाको तुलनामा यसकारण भिन्न छ कि जनतासँग विश्वासघात ती मान्छेहरूले गरेका छन्, जसबाट उनीहरूलाई नयाँ नेपालको आशा थियो, जसले १० वर्षसम्म दुर्गमभन्दा दुर्गम क्षेत्रमा रहेर उनका लागि लडेका थिए ।

२० मेमा विप्लवको विशाल र्‍याली के कुराको प्रमाण हो भने जनताले यस पार्टीका नीतिहरूलाई मन पराएका छन् र यसका साथै त्यो राजनीतिक नौटंकीको विरोध गरेका छन्, जुन मात्र एक दिनअघि काठमाडौंको राजनीतिक रंगमञ्चमा पोखिएको थियो । त्यस दिन एमाओवादीमा विलयको पहल उनै बादलले गरेका थिए, जसले एकभन्दा बढी पटक सार्वजनिक मञ्चबाट प्रचण्डलाई भारतीय गुप्तचर एजेन्सी ‘र’ सँग जोड्दै आरोप लगाएका थिए । यसमा मातृका यादव पनि सहभागी भए, जसले पछिल्ला चार वर्षहरूमा प्रचण्डलाई गाली गर्ने कुनै पनि अवसर हातबाट गुमाउन चाहेनन् । आम मानिसहरूमा कस्तो धारणा भएको छ भने– जनयुद्धका दिनहरूमा भएका अपराधका सजायबाट जोगिन पनि ती सबै तत्त्व एकजुट भइरहेका छन् र यसमा जनताको भलो सोच्ने कुरासँग कुनै सरोकार राखिएको छैन ।

जसले आज पनि सम्पूर्ण दुनियाँमा र खास गरेर भारतमा फाँसीवादी शक्ति बलियो हुँदा र अन्तर्राष्ट्रिय स्तरमा वस्तुगत स्थितिहरू निकै प्रतिकूल भएको हुनाले नेपालमा कुनै जनयुद्धको कल्पना गर्न सकिँदैन भन्ने ठान्छन्, उनीहरू भित्तोमा कुँदिएको समयको वास्तविक चित्र पढ्न नसक्नेहरू हुन् । सन् १९९६ मा पनि वस्तुगत परिस्थिति निकै प्रतिकूल थियो । राजतन्त्रलाई भारत र चीन दुवैको समर्थन प्राप्त थियो र अन्तर्राष्ट्रियस्तरमा सोभियत संघको पतन भइसकेको थियो । पूरै विश्व एकध्रुवीय भइसकेको थियो र सबै अमेरिकाको बोलीमा लोली मिसाइरहेका थिए । निकारागुवादेखि पेरुसम्म क्रान्तिकारी ताकतहरूलाई निकै पछि हट्नुपरेको थियो । यस्तो विषम परिस्थितिमा नेपालका माओवादीले जनयुद्ध सुरु गरेका थिए । अन्ततः राजतन्त्रको समाप्ति र गणतन्त्रको स्थापना भएको थियो । यी पूरै परिघटनाविपरीत वस्तुगत परिस्थिति हुँदाहुँदै भएको थियो । विप्लवले जसरी हतासामा डुबेका युवाहरूलाई र निराश आम जनताको बीचमा नयाँ उत्साहको सञ्चार गराएका छन्, त्यो आमूल परिवर्तनकारी राजनीतिको सुरुवातका संकेत हुन् ।

फ्रान्सका महान् बुद्धिजीवी भिक्टर ह्युगोको यस कथनलाई कहिल्यै भुल्नु हुँदैन– दुनियाँको ठूलोभन्दा ठूलो ताकतले त्यस विचारलाई रोक्न सक्दैन, जसको समय भइसकेको छ । र, आज नेपालमा एउटा नयाँ विचारको समय आइसकेको छ, जसले ‘जनयुद्ध–२’ को संकेत गर्दैछ ।

(वर्मा भारतको दिल्लीबाट प्रकाशित हुने ‘समकालीन तीसरी दुनियाँ’ मासिकका सम्पादक हुन् । )

साभारः कान्तिपुर