अवसरबाद सफल, माओवादी असफल

राजेश विद्रोही, 

चौध हजार सहिदको रगतबाट साटिएको माओवादी पार्टी आज मुठीभरका पेवा भएको छ । परिणामतः माओवादी एकता त कहिले फुटको गोलचक्करमा छन् । इमान्दार नेता कार्यकर्ता सत्य र न्यायका खोजीमा भौतारिएका छन् । तर सांगठानिक हैसियतमा पेन्डुलम बनाइएका छन् । नाफाको जीवन बाँचेका निष्ठावान नेता कार्यकर्ताको राजनीतिक भविष्यमाथि नवधनाढय र दलाल नेताको रजाई छ । अर्थात् काम गर्ने हनुमान, पगरी थुत्ने ढेडु जस्तै हुन गएको छ ।

राजेश विद्रोही
हिजोसम्म सबै खराबीको जिम्मा अरुलाई थुपार्ने आज जिम्मा लिनमा हानाथाप गर्दैछन् । जो राज्य संचालनको उच्चस्तरीय राजनीतिक संयन्त्रको नेतृत्व गर्छ, उसैले राज्यलाई हिम्मत छ भने मलाई जेल हालेर देखाउन र फाँसीमा झुण्ड्याउन भनेर धाक धम्की र घुर्की देखाउँछ । समय अनुकुल हुँदा सबै इतिहासको जिम्मा लिने र समय प्रतिकूल हुँदा अरुको टाउँकोमा थुपार्ने धुत्याई गर्छन् । के यहि हो फेरिएको माओवादी चरित्र रु

भोको पेटको लागि सहिद, बन्दी, बेपत्ता परिवार र घाईते आपाङ्, जनमुक्ति सेना तथा कतिपय नेता कार्यकर्ता खाडी मुलुक र बेश्यालयमा बेचिरहेका छन् । उनीहरुको जिम्मा कसले लिने रु त्यसैले जिम्मेवारी शब्दलाई अपमान गर्ने खेल बन्द हुनुपर्छ । विगतको जिम्मा लिएर केहि हुने वाला छैन । मुख्य जिम्मा त १४ हजार सहिदको रगतसँग जोडिएको सपनाको जिम्मा हो । विगतको भन्दा वर्तमान र भविष्यको जिम्मा कसले लिने प्रमुख सवाल हो । अर्थात् प्रभू दाहिने हुँदा सबै जिम्मा लिने र प्रभू बाँया हुँदा अरुको टाउकोमा खन्याउने माओवादी संस्कार र संस्कृतिको अन्त्य कहिले हुन्छ ?

परिस्थितिलाई काबुमा लिन नसक्दा र माओवादी स्वयंम परिस्थितिको काबुमा पर्दा माओवादी लक्ष्य, उद्देश्यको सामाधि हुनु र त्यसमाथि अवसरबाद हावी हुनु स्वाभाविक हो । यहाँ अवसरबाद माओवादीलाई जित्न सफल भयो र माओवादी असफल । माओवादी माक्र्सवादी नीति, सिद्धान्त र दर्शनबाट विचलित भएदेखि माओवादी आन्दोलनमा संकट थपियो । माओवादी मुल्य र मान्यता सकिदै गयो । र विजातिय वर्गको फन्दामा परेको स्थिति छ । उनमा रहेका सर्वहारा बर्गीय चरित्र इतिहासमा सीमित भयो । दश वर्षे जनयुद्धमा भएको व्यापक वर्ग उत्थान र नेतृत्वमा जन्मेको अवसरवादी तथा आत्मसुरक्षावादी चरित्रले तत्कालिन ८० प्रतिशत राज्यसत्तामाथि प्राप्त गरेको माओवादी विजय पराजयमा फेरियो ।

माओवादीहरु १० बर्षसम्म साँचिक्कै कम्प्युनिष्ट चरित्रका थिए । तर आज सकिएकै हो । इतिहासमा सीमित भएकै हो । माओवादी मुल्य र मान्यता गुमेकै हो । विचारले पेट भरिने होइन, भरिने भए आज माओवादी आन्दोलन विचलित हुने थिएन । जहाँ विचारको खानी नै थियो, विचारलाई टिकाउने हतियार हुनुपर्छ । हतियारसहितको विचार शक्तिशाली हुन्छ । जसको कमी माओवादी आन्दोलनमा रह्यो । सबै निजी स्वार्थ र व्यक्तिगत इच्छा आकांक्षातिर लालायित रह्यो र त्यो नै प्राथमिकता बन्यो । शब्द र कागजी परिवर्तनले आमुल परिवर्तन भएको भए मुलुकले किन पटक पटक ००७ साल व्यहोर्नु पर्दथ्यो र रगतको खोलो किन बगाउनु पर्दथ्यो ?

आजको दिनमा माओवादी जति पटक टुटफुट र विभाजन तथा एकता भएपनि विगतको इतिहास पुरा गर्न सक्ने हैसियतमा छैनन् । यसका लागि माओवादीले विश्वास जित्न सक्नुपर्छ । अब सर्त, अर्थ र उद्देश्यसहितको एकता संघर्ष र रुपान्तरणको सही मुल्य र मान्यता अपनाउनुपर्छ । माओवादीमा पलाएको निजी स्वार्थ र महत्वकांक्षालाई सबैले तिलाञ्जली दिनुपर्छ । विगतमा झै एउटै इतिहासमा समाहित हुनुपर्छ । यसका लागि पारदर्शी हुनुपर्छ र फेरि माओवादीहरुले धैर्यवान, सहनशील, लगनशील तथा त्याग तपस्या र बलिदानको अर्को किर्तीमान खडा गर्नुपर्छ ।

विगतमा झै एक अर्कामाथि दोषारोपण गर्नुभन्दा आपसमा शेयर लिनुपर्छ । क्रान्ति र शान्तिका परस्थिति फरक भएकाले क्रान्तिको मुल्य र मान्यता स्थापित गर्न सोही अनुसारको विधि र तरिका प्रयोगमा ल्याउनुपर्छ । यसमा राजनीतिक बैचारिक र व्यावहारिक बलिदानको खाँचो पर्छ । जुन बलिदान सबैले रोज्न सक्दैनन् । भौतिक बलिदानभन्दा यो बलिदान सयौं गुणा पीडादायी हुन्छ । के यतिबेला सबै माओावादीले यो बलिदान रोज्न सक्छन् रु माओवादीका लागि यो फलामको च्यूरा जस्तै हो । अनी मात्र एकताको आवश्यकता पुरा गर्न सकिन्छ । साँचिक्कै यसलाई चुनौती र विकासको रुपमा आत्मसात गरे ऐतिहासिक विजय पनि प्राप्त गर्न सकिन्छ ।

अहिले माओवादी र माओवादी विचारमा देखापरेको त्याग तपस्या र बलिदान टुटफुट र विभाजन, एकता संघर्ष र रुपान्तरण निजी स्वार्थका लागि मात्र हुन् । सामुहिक स्वार्थका लागि होइनन् । जुन विगतमा थियो । विगतमा पार्टी र नेतृत्व, नेता र कार्यकर्ता जनतामा केन्द्रित थियो । त्याग, तपस्या र बलिदानको आधारमा मुल्यांकन थियो । अहिले पार्टी व्यक्तिमा केन्द्रित छ । व्यक्ति, नेतृत्व नाताबाद, कृपावाद र दलालीमा सिमित छ । जसको वरीपरि सत्ताको बागडोर छ । विज्ञानको विकाससँगै मानव जातिको चेतना स्तरमा पनि विकास हुन्छ र सामाजमा सोही अनुसार गति पैदा हुन्छ ।

आन्दोलनको गतिसँगै नेतृत्व र नेतृत्वको चेतनास्तरमा बदलाब आयो । जुन बदलाब र चेतना स्तरलाई माओवादी आन्दोलनले सही तरिकाले समायोजन गर्न सकेन । नेतृत्वमा देखापरेको नोकरशाही प्रबृत्ति र कार्यकर्तामा देखापरेको अराजकताले आन्दोलन फरक फरक विचारको चपेटामा पर्यो । परिणामतः माओवादी आन्दोलनमा टुटफुट र विभाजन पैदा भयो । देशैभरि फरक फरक विचारहरु च्याउँ झै उम्रिने अवसर पाओ । विचारको विकाससँगै टुटफुट र विभाजन स्वभाविक विषय हो । मुख्य कुरा त जुट हो । तर कसरी र केका लागि भन्ने विषय मुख्य हो । यसका लागि गुण र परिणामको खाँचो पर्छ । आवश्यकताका लागि अवस्थाको खाँचो छ । त्यो अवस्था कसले सृजना गर्ने रु

अहिलेको अवस्था सकारात्मक परिवर्तनका लागि सकारात्मक एकता नै हो । एकता भनेको नयाँ उद्देश्यसहितको एकता हो । एकताका लागि बलिदान हो । बलिदान भनेको माओवादीमा देखापरेको तमाम खाले विकृति र विसंगती तथा निजी स्वार्थको बलिदान हो । अर्थात् एकता, आवश्यकता र नयाँ इतिहासको लागि बलिदान हो । यसका लागि प्रचण्ड, वैद्य, बाबुराम, विप्लव, मणी र मातृका लगायत सबै विभाजित(अविभाजित माओवादीको एक आपसमा वैचारिक विलय हो । निजी स्वार्थका लागि एकता होइन । एकतालाई एकतामा सिमित राखेर इतिहासको आवश्यकतालाई पुरा गर्न सकिदैन । हिजो र आजको माओवादीमा ठूलो अन्तर छ । त्यसको गुण र रुपमा फरक छ । विचार र शैलीमा परिवर्तन छ ।

आजको माओवादी विभाजन र आन्दोलनलाई सकारात्मक ढंगले त्यसको एकता, रक्षा, विकास र प्रयोग गर्यो भने विगतको भन्दा शक्तिशाली हुन्छ । माओवादी आन्दोलनले विगतमा लिएको लक्ष्य उद्देश्य लगभग पुरा गर्न सकिन्छ । यसका लागि फेरि निजी स्वार्थको बलिदान र सामुहिक स्वार्थका लागि त्याग, तपस्या र समर्पण नै हो । अहिलेको माओवादी विभाजनले जति कमजोर देखिन्छ, उति नै बलियो छ । यसलाई कमजोर आँक्नु हुँदैन । उनीहरुको पार्टी, संगठन, नेतृत्व र विचारको विकासलाई एक ठाउँमा बदलियो भने अहिलेको प्रतिक्रियाबादी सामान्ती राज्य व्यवस्थालाई ध्वस्त पार्न सक्छ । वैद्यानिक ढंगले नै जनवादी राज्यसत्ता स्थापित गर्न सकिन्छ । विगत जनयुद्ध कालमा ८० प्रतिशत जनसत्ताभन्दा अहिले शान्तिकालमा शतप्रतिशत राज्यसत्ता कब्जामा लिन सक्छ । अनी समय सापेक्ष नयाँ माओवादी मुल्य र मान्यतालाई स्थापित गर्न सकिन्छ । बुझ्नेलाई श्रीखण्ड, नबुझ्नेलाई खुर्पाको विड । चेतना भया ।