भारत समक्ष नेताहरु लम्पसार

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा शुक्रवार निकै नाराबाजी भए । तर त्यो कुनै आन्दोलनमा घन्किएका नारा होइनन् । न त कुनै विजय उत्सव नै हो । नेपाली कांग्रेसका सभापति शुशिल कोइराला दक्षिणी छिमेकी राष्ट्र भारतको औपचारिक छ दिने भ्रमण सकेर शुक्रवार स्वदेश फर्किएपछि अन्तर्राष्टिय त्रिभुवन विमानस्थलमा कांग्रेस कार्यकर्ताहरुले गरेको नाराबाजी हो । मानौं भारतको आर्शिवाद थापेर आएका कोइराला भारतबाट चुनावै जितेर आए जस्तै गरी कार्यकर्ताहरु हौसिएका थिए । अन्तर्राष्टिय विमानस्थल अतिसम्बेदनशिल क्षेत्र पनि हो । जहाँ शुक्रवार दिनभरी नै काग्रेसको आमसभा नै भइरहेको भान हुन्थ्यो । विमानस्थलको बाहिरी प्रवेशद्वारबाट नै पत्रकारहरुलाई विना परिचयपत्र प्रवेश गर्न कठिन थियो तर भित्र विमानस्थलको अतिविशिष्ट कक्षमा समेत कांग्रेस कार्यकर्ताहरुको ठेलमठेल थियो भने बाहिर कोइरालाको हाइहाई गर्ने कार्यकर्ताहरुको ताँती ।

कोइराला भारतबाट आएपछि कार्यकर्ता मात्रै हौसिएनन् । स्वयं नेताहरु समेत प्रफुल्ल मुद्रामा देखिए । त्यसमा पनि पहिलो पटक भारतको औपचारिक निम्तोमा भ्रमण सकेर फर्किएका कोइराला आफ्नो भ्रमण निकै फलदायी भएको भन्दै हौसिए । अनि भारतले साच्चिकै नेपालमा शान्ति, स्थायित्व, लोकतन्त्र र विकाश चाहेको कोइरालाले फेहरिस्त सुनाए  ।

चार वर्ष सम्म संविधान बनाउन नसकी मुलुकको कार्यपालिकाबाट समेत हात झिकेर पूर्व प्रशाशकहरुलाई शाशन सुम्पिएका नेपालका ठूला भनिएका राजनीतिक दलका शिर्ष नेताहरु यतिवेला आगामी निर्वाचनको लागि आर्शिवाद थाप्न केही दिनदेखि भारत धाइरहेका छन् । केही वर्ष अघि भारतको सत्तोसराप गर्ने एकिकत माओवादी अध्यक्ष पुष्पकमल दाहालले निर्वाचनको घोषणापछि पहिलोपटक भारतको औपचारिक निम्तो पाएका थिए । चौथो नम्बरमा भ्रमणको निम्तो पाएर भारत भ्रमणबाट फर्किए लगत्तै कोइरालाले निर्वाचन आगामी नाभेम्भर १९ तारिखमा अर्थात मसिर ४ मै हुने दावी गरे ।

आफ्नो भारत भ्रमणको क्रममा कोइरालाले भारतीय प्रधानमन्त्री मनमोहन सिंहदेखि विहारका मुख्यमन्त्री नितिशकुमार सम्मलाई भेट गरे । कोइराला भन्दा अगाडी नै निम्तो पाएका कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले पनि भारत भ्रमणपछि भारतको निकै प्रशंशा गरेका थिए । कोइरालाको भ्रमण सकिएको दुई दिनपछि नै कांग्रेस उपसभापति रामचन्द्र पौडेल पनि भारत जाँदैछन् । आगामी मंसिर ४ गतेका लागि तय गरिएको निर्वाचन हुने नहुने आशंका भइरहँदा नेपालका राजनीतिक दलका नेताहरुको एक पछि अर्को दिल्ली दौडाहाले नेताहरुलाई ब्यक्तिगत लाभ त होला तर एकातर्फ राष्ट्रियताको दुहाई दिने र अर्कोतर्फ भारतको शाशकवर्ग सामु लम्पसार पर्ने प्रवृत्ति मुलुकको लागि भने गम्भिर घातक हुनेछ ।