भूकम्प पीडितको कथा !

काठमाडौ । विभिन्न जिल्लामा भूकम्प पीडितहरु त्रिपाल नपाएर छटपटिइरहेका छन् । काठमाडौं उपत्यकाको रिङरोड बाहिरका पीडितहरुको अवस्था पनि दयनीय छ । तर, काठमाडौंको मुटु मानिने टुँडिखेल र नारायणहिटी दरबारको चौरीमा बसेका भूकम्प पीडितको कथा भने अलि बेग्लैखालको छ ।

एक समय थियो, जतिबेला नारायणहिटी राजदरबारमा सर्वसाधारण मानिस सहजै छिर्न पाउँदैन थिए । तर, अहिले नारायणहिटीको चौरीमा भूकम्पपीडितहरु पाल टाँगेर बसेका छन् । बेलुका भएपछि कतिपय पीडितहरु कार चढेर नारायणहिटीमा पुग्छन्, वियर खान्छन् र तास खेलेर रमाइलो गर्छन् ।

शिविरको चौरीमा बस्ने कतिपय भूकम्प पीडितहरुलाई क्याम्प फायरमा बसेजस्तो अनुभव भइरहेको छ ।

विनाशकारी भूकम्पपछि राजधानीको नारायणहिटी, खुल्लामञ्च, टुँडिखेललगायतका अधिकांश खुला चौरहरुमा मानिसहरु पाल टाँगेर बसेका भेटिन्छन् । यसरी बस्नेहरुमा घरवालाहरु कम र डेरावालहरु बढी छन् । उनीहरु पाल टाँगेर बसेका छन् । कतै पातलो प्लाष्टिकको पाल छ भने कतै खैरो त कतै विदेशीले दिएका आकर्षक पाल टाँगिएका छन् ।

राजधानीका विभिन्न ठाउँमा रहेका भूकम्पपीडितमध्ये नारायणहिटी परिसरमा पालमुनि बसेका भूकम्पपीडितहरु भने भीआइपी पारामा बसेको सुरक्षाकर्मी बताउँछन् ।

‘घर नै भत्किएर पीडित भएकाहरु त देखिँदैनन्,’ नारायणहिटी परिसरका एक सैनिकले भने, ‘दिनभर व्यापार व्यवसाय गरेर साँझमा सुत्न आइपुग्छन् ।’

राजधानीका विभिन्न ठाउँमा पालमुनि बसेकाहरु वास्तविक भूकम्पपीडित हुन् कि होइनन् भन्ने अहिलेसम्म यकिन भइ नसकेको सुरक्षाकर्मीको भनाइ छ । ‘साँझ परेपछि कार लिएर आउँछन्, ती सैनिकले भने, ‘रेडिमेट खाना लिएर आउने र वियर खाने मान्छेहरुसमेत बसिरहेका छन् ।’

राजधानीका अस्थायी क्याम्पमा बसेकाहरुलाई देश विदेशबाट राहत पनि आइरहेको छ । ‘तर राहत बाँड्न आउँदा यस्तो पनि खाने हो भन्दै उनीहरु लिन मान्दैनन्’ अर्का एक सैनिकले अनुभव सुनाए ।

चौरमा टाँगिएका केही पालहरु विदेशीले दिएका पालभन्दा पनि राम्रा छन् । ती पाल पीडित आफैले ल्याएका हुन् । बुधवार दिउँसो यो ठाउँमा अनलाइनखबरको टोली पुग्दा केही पालमा एकाध महिलाहरु बाहेक खासै पीडितहरु भेटिएनन् ।

शान्त एवं कोलाहलमुक्त क्याम्पहरुमा स्वास्थ्यकर्मी, रेडक्रसका स्वयंसेवक तथा मानसिक तनावमुक्त गराउने शिविरहरु पनि छन् ।

ठूलो भूकम्प गएको दिन नारायणहिटी परिसरको चौरमा झण्डै ८ सय मानिसले रात बिताएका थिए । तेस्रो दिन १ हजार ७ सय ७७ भए ।

सेनासँग रहेको तथ्यांक अनुसार अहिले नारायणहिटीको चौरीमा ७१ बालबालिका र ११ महिलासहित २ सय ४७ जना बस्दै आएका छन् । अन्यत्रका क्याम्पहरु भन्दा पृथक रहेको यो क्याम्पमा प्रवेशका लागि गेटबाटै प्रवेश पास लिनुपर्छ ।

टुँडीखेलमा बस्ने अधिकांश डेरावाल

राजधानीको केन्द्र मानिने टुँडिखेलमा झण्डै २ हजार मानिसहरु पाल टाँगेर बसेका छन् । भूकम्पपीडितका क्याम्पहरुमा कति मानिस छन् भनेर गणना नभएको सुरक्षाकर्मी बताउँछन् । टुँडीखेल क्याम्पमा झण्डै एक सय १० वटा टेण्ट टाँगिएका छन्, जसमध्ये ९० वटा ब्यवस्थित टेन्ट रहेका छन् ।

नेपाली सेनाको तथ्याङ्कअनुसार भूकम्प गएको रात झण्डै १२ हजारले रात कटाएको टुँडिखेलमा अहिले एक हजार ८ सय ७६ जना छन् । त्यहाँ रहेका भूकम्पपीडितहरु मध्ये धेरैजसो डेरावाल हुन् । उनीहरुको डेरा चर्किएकाले अर्को डेरा खोज्नुको साटो उनीहरु चौरमा बसेका हुन् । तत्काल नयाँ डेरा नपाइने उनीहरुको गुनासो छ ।

नेपाली सेनाको १ नम्बर बाहिनीले व्यवस्थापन सम्हालेको यो क्याम्पमा रहेका पीडितहरुका लागि दैनिक तीन टाइम एक बोतल मिनरल वाटर, एक प्याकेट चाउचाउ र एउटा विस्कुटको ब्यवस्था गरिएको छ ।

मंगलबारसम्म आ(आफै खाने ब्यवस्था मिलाएका उनीहरुलाई बुधवारदेखि लण्डनको खाल्सा एड डे ग्रुपले खाना खुवाउन थालेको छ । जसले गर्दा यहाँका पीडितहरुले निशुल्क खाना खान पाएका छन् ।उनीहरुलाई खाना खुवाउँदा शिख समुदायले आफूहरुलाई पुण्य मिलेको विश्वास गर्छन् । चौरमा आश्रय लिनेहरुका लागि पनि निशुल्क खान पाइने भएपछि पालको बसाइ बिस्तारै डेराको जस्तै सहज हुन थालेको छ ।

चौरीमा बसेर नेतालाई गाली

भूकम्पपछि राजधानीको चौरीमा बस्न आएका कतिपयले नेताहरुलाई गाली गरे । भीमसेन थानमा घर भत्किएर टुँडिखेलमा शरण लिएकी पूजा पौडेलले यस्तो विपत पर्दा बेवास्ता गर्ने नेताहरुलाई भोट माग्न आएमा टाउको फोर्ने बताइन् ।

‘विदेशका मान्छेहरुले सहयोग गर्छु भन्दा नगर भन्ने, आफूले केही नदिने रु’ पौडेलले भनिन्, ‘एक बोतल पानी र बिस्कुट खाएर कसरी बाँच्ने रु’

भूकम्पपछि टुँडीखेल बसाइँ सरेका बसन्तपुरमा डेरा गरी बस्ने काभ्रे दाप्चाका बीरबहादुर थापाले पनि सरकारलाई गाली गरे । विदेशीले सहयोग गर्न खोज्दा नदिने, आफूले पनि नगर्ने सरकारले केही गर्छ जस्तो नलागेको उनले बताए । आफू बसेको डेरा भत्किएको भन्दै उनले अर्को ठाउँमा डेरा पाएपछि सर्ने बताए ।

वीरबहादुर जस्तै काभ्रे घर भई काठमाडौको जैसीदेवलमा डेरा बस्दै आएकी सुस्मिता राईले पनि आफू डेराको खोजीमै रहेको बताइन् ।

सेनाको फर्मेशन

अनलाइनखबरकर्मी टुँडीखेल पुग्दा पानी लिन आउनु भनी नेपाली सेनाले माइकबाटै आहृवान गर्‍यो । सेनाको आदेशपछि टुँडिखेलभित्रका पीडितमात्र होइन, खुलामञ्चका पीडितहरु समेत मिनरल वाटर लिन लाइन लागे ।

‘दैनिक तीनपटक पानी, चाउचाउ र बिस्कुट यसरी नै बाँडिरहेका छौं’, कर्णेल प्रयोगजंगबहादुर राणाले भने, ‘विभिन्न संघसंस्थाको सहयोगका राहत सामाग्रीहरु जुटाउने काम गरिएको छ ।’

प्रदुषण नहोस् भनेर चौरीमा एक्सफामको सहयोगमा ६० वटा शौचालय तथा २० वटा फोहर फाल्ने खाडल खनिएको कर्णेल राणाले बताए ।
‘पहिलो दिन र दोस्रो दिन उच्च वर्गदेखि निम्न वर्गका सवै मानिसहरुले चौरमै रात विताए’, कर्णेल राणाले भने, ‘राहत थाप्ने मात्र होइन, राहत बाँड्ने मान्छेहरु पनि पालमुनि सुतेका थिए ।’

चुच्चेपाटीका भूकम्प पीडितले कार्यालय खोले

काठमाडौको बौद्ध चुच्चेपाटीस्थित खाली चौरमा पनि सैयौं पालहरु टाँगिएका छन् । भूकम्पले घर भत्किएर वा चर्किएर बस्न नमिल्ने भएको भन्दै आसपासका मानिसहरु पाल टाँगेर बसेका छन् । विदेशी पालहरु आइनपुगेको यो क्याम्पका पीडितहरुले संगठित भएर कमिटीसमेत गठन गरेका छन् ।

क्याम्पमा टाँगिएको प्लाष्टिकको सस्तो पालमा ‘महाभूकम्पपीडित तारागाउँ चुच्चेपाटी शिविर ब्यवस्थापन समितिको कार्यालय’ लेखिएको ब्यानर छ ।

उक्त कार्यालयमा समितिका केही महिला सदस्यहरु भेटिए । पीडितहरुले भूकम्प पीडित मूल समिति, निर्माण समिति, फोहोर ब्यवस्थापन समिति, महिला समितिजस्ता विभिन्न समिति बनाएका छन् ।

चुच्चेपाटीको क्याम्पमा पाल टाँगेर बसेका सोलु सोताङ गाविस घर भएका लोकबहादुर नेपालीले तत्कालका लागि बासको व्यवस्था गरिदिनुपर्ने बताए ।

सरस्वतीनगरको डेराबाट पालमुनि बस्न आएका सिन्धुपाल्चोक ज्यामिरे गाविस(३ का मीनबहादुर थापाले भूकम्पबाट गाउँको घर पनि भत्किएले घर जान सम्भव नभएको र डेरा बस्न पनि नसकिएको बताए ।

धेरै व्यक्तिले आएर सहयोग गर्ने आश्वासन दिए पनि अहिलेसम्म कुनै राहत नपाएको आफूलाई चुच्चेपाटी शिविर भूकम्पपीडित निर्माण समितिका संयोजक बताउने सर्जु राउतले जनाए ।

अहिलेसम्म कुपण्डोलको शिख गुरुद्वाराले आफूहरुलाई खानाको ब्यवस्था गर्दै आएको उनले बताए । ७ सय ६५ जना पीडित रहेको यो क्याम्पको लागि झण्डै २ सय ५० पाल आवश्यक पर्ने राउतले उल्लेख गरे ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र ९इन्सेक०ले १ सय २० वटा पाल र १५ वटा शौचालय बनाइदिने आश्वासन दिएको पनि उनले सुनाए । 
Photo by Sridhar poudel

,