क्रान्ति र प्रतिक्रान्तिबीचको ‘बार्गेनिङ’

ध्रुवराज अधिकारी,

प्रिय कमरेडद्वय,
रक्सीले मात्तिएका प्रसिद्ध भारतीय अभिनेता सलमान खानले गाडीले ठक्कर दिएर एकजना सर्वसाधारणको हत्या गरे । उक्त घटनाको प्रत्यक्षदर्शी थिए– उनकै अंगरक्षक एकजना भारतीय प्रहरी । मुद्दा अदालतमा चलिरहँदा सलमान खानले प्रहरी प्रशासन र उक्त प्रहरीको परिवार समेतलाई किनिदिए । ती प्रत्यक्षदर्शी अंगरक्षक राज्य, प्रहरी र उनकै परिवार जताततैबाट अलग्याइए, सलमानको धनराशीको बलले । समयक्रममा क्षयरोग लागेर ती प्रत्यक्षदर्शीको एउटा अस्पतालमा निधन भयो । मृतकका परिवार उनको लाश बुझ्न समेत गएनन् ।
मैले यो प्रसंगबाट यो पत्र सुरु गरेको किन भने शक्तिशालीका अगाडि सत्य बोल्न निकै जोखिमपूर्ण हुन्छ । बलशालीका लागि सत्यभन्दा ठूलो शत्रु अरु केही हुनै सक्दैन । त्यसैले उनीहरु सत्य देख्ने आँखा फुटाइदिन्छन् । सत्य बोल्ने मुखमा बुझो लगाइदिन्छन् र सत्य बोल्न सक्ने ओठहरुमा पहिल्यै ताल्चा झुण्ड्याइदिन्छन् । सत्य र शक्तिबीचको महासमरमा, दर्शन र सत्ताबीचको दुःखान्त लडाइँ वा ‘ट्रयाजेडी’मा चाणक्य र माकियाभेलीहरुले शक्ति र ज्ञानको गठजोड गराइदिन्छन् । सत्य र दर्शनलाई दवाउन ‘पावर–नलेज कम्लेक्स’ खडा गरिदिन्छन् ।

सोह्रबुँदे सहमतिपछि डा. भट्टराई उर्फ लालध्वजले यो जीत–जीतको अवस्था हो, त्यसैले यो हार–हारको अवस्था हो भन्ने प्रतिक्रिया दिनुभएछ । उहाँले उक्त सहमति ‘स्वर्ण अक्षर’ले लेखिएको सम्म भन्न भ्याउनुभएछ । तर, मेरो विचारमा लालध्वज कमरेडको उक्त प्रतिक्रिया एउटा भ्रामक ‘रेटोरिकल ननसेन्स’ मात्रै थियो । किनभने, माओवादी र सत्ताधारीहरुबीचको सहमतिको रस्साकस्सी वा ‘नेगोशियसन’ समस्या समाधान वा ‘प्रोब्लम सल्भिङ’ ’प्याराडाइम’मा होइन, मूलतः लेनदेन वा ‘बार्गेनिङ’ ’प्याराडाइम’मा भएको हो ।
सामान्यतः क्रान्तिका मित्रशक्तिबीच हुने वार्ता–छलफल ‘प्रोब्लम सल्भिङ’ मोडलमा हुन्छ तर अग्रगमन र प्रतिगमनबीचको वार्ता लेनदेनको प्याराडाइममा हुन्छ । माओवादी क्रान्तिकारी र संसदवादी प्रतिगमनकारीबीचको वार्ता क्रान्ति र प्रतिक्रान्तिबीचको ‘बार्गेनिङ’ थियो । क्रान्ति र प्रतिक्रान्तिबीच ‘जीत–जीत’ भन्ने हुँदैन । जीत–जीत र हारहार एउटै कुरा होइनन् । बरु जीत–जीत, जीत–हार र हार–हार वार्तासंवादका तीन फरक सम्भाव्य नतिजा हुन् । उदाहरणका लागि नेपालमा राजतन्त्रको अन्त्य हुनु माओवादी र संसदवादीबीचको जीत–जीतको अवस्था थियो । तर, त्यो यी दुई शक्तिका लागि हार–हारको अवस्था थिएन ।

सोह्रबुँदे ‘स्वर्ण अक्षरले लेखिएको’ त झन् हुँदै होइन । यो रातो, स्वर्ण वा निलो अक्षरले लेखिएको सहमति नभई कालो अक्षरले लेखिएको औपचारिक एवम् वैधानिक दस्तावेजमात्र हो ।
के हुनुपर्ने थियो भन्ने कोणबाट हेर्ने हो भने शान्तिप्रक्रिया र संविधाननिर्माणप्रक्रियाको ‘डि फ्याक्टो’ उत्कर्षका रुपमा जे नहुनुपर्ने थियो त्यो सोह्रबुँदे हो । संविधानलेखनमा आउने दिनमा जे हुन्छन् त्यो ‘डि जुरे’ प्रक्रिया मात्रै हो, कर्मकाण्ड मात्रै हो । वस्तुतः नेपालको संविधाननिर्माणको मूलकार्य सोह्रबुँदेमार्फत् समापन भएको छ ।

के हुनसक्थ्यो भन्ने कोणबाट हेर्ने हो भने आजको राष्ट्रिय वर्गराजनीतिक प्रनिधिमूलक शक्तिसन्तुलनमा ९संविधानसभामा रहेको पहिचानवादी, क्रान्तिकारी र संसदवादी प्रतिगमनकारीबीचको संख्यात्मक खेलमा० हुनसक्ने पनि सोह्रबुँदे नै थियो । सोह्रबुँदेले नेपालमा संसदवादी व्यवस्थाको पुनःस्थापना गरेर आधाप्रतिगमन सम्पन्न गराएको छ । किनभने, पुरानो प्रतिक्रियावादी राज्य र तत्कालीन माओवादी क्रान्तिकारीहरु बीचको शान्तिप्रक्रिया र वार्ताप्रक्रियाको मूल मर्म कांग्रेस–एमालेले चाहेजस्तो संसदवादी पनि होइन, तत्कालीन माओवादी क्रान्तिकारीहरुले माग गरेजस्तो नयाँ जनवादी पनि होइन, बीचको ‘संघीय लोकतान्त्रिक गणतन्त्र’ स्थापना गर्नु थियो । ९संसदवाद र लोकतन्त्र एउटै चीज होइनन् ।० आज देशमा संसदीय व्यवस्थाको पुनः स्थापना गरेर शान्तिप्रक्रियाको औचित्यमाथि नै प्रहार गर्ने काम कांग्रेस–एमालेले गरेका छन् ।

तर, सोह्रबुँदेको सकारात्मक पक्ष के हो भने यसले भूकम्पबाट त्राहिमाम बनेर धैर्य गुमाइसकेका नेपाली जनतालाई अन्योलको अन्त्य गरी केही राहत दिएको छ । नेपालका राजनीतिक दलहरुमा निर्णयक्षमता छ भन्ने देखाएको छ । सबभन्दा मूख्य कुरा देशलाई पूर्ण प्रतिगमनमा जानबाट रोकेको छ । बाह्रबुँदेबाट सुरु भई पट्यारलाग्दो बन्दै गएको एउटा ऐतिहासिक प्रक्रियाको अन्त्य गरेको छ । कमरेड प्रचण्डले भनेझैं सोह्रबुँदेले आधुनिक नेपाली महाभारतमा चक्रब्यूहबाट अभिमन्यूहरुलाई बाहिर निकालेको छ । अभिमन्यूबध रोकिएको छ ।
.......
कमरेड प्रचण्डको भनाइमा एउटा कुरा थप्ने अनुमति माग्छु । त्यो के भने सोह्रबुँदेले नेपाली राजनीतिको जुवाको खाललाई यस्तो समयमा आएर बन्द गरिदिएको छ जसले गर्दा अब पाँच माओवादी क्रान्तिकारी समूहको साझा सम्पत्ति नेपाली क्रान्तिरुपी द्रौपदीलाई युधिष्ठिरले जुवाको खालमा चढाउने छैनन् । नेपाली सर्वहारा क्रान्तिकारीरुपी श्रीकृष्णको समेत साथ नरहेको यो जुवाको खालमा द्रौपदी चढेको भए उनी निर्वस्त्र पारिने थिइन् । ‘धर्म’ हराउँदै गएको आजको युगमा उनको सामूहिक बलात्कार हुने थियो । जन्मँदै गरेको एउटा पूरै युग भूकम्पपछि ढलेको धरहराजस्तै गल्र्यामगुर्लुम ढल्ने थियो ।

नेपाली सर्वहारावर्गको औपचारिक प्रतिनिधिको रुपमा प्रतिक्रियावादीहरुसित वार्तामा रहेका प्रचण्ड–बाबुराम विसर्जनवादको दलदलमा घाँटीसम्म डुब्दा पनि उनीहरुको आलोचना गर्न जिम्मेवार क्रान्तिकारीहरुलाई गाह्रो परेको थियो । जुवाको खालमा रहेका युधिष्ठिरलाई सम्झाउन अर्जुन र भीमसेनले नसकेजस्तै । जिम्मेवार माओवादी क्रान्तिकारीहरुका अगाडि एउटा भयानक नैतिक द्विविधा खडा भएको थियो– आलोचना गरौं वार्ताको टेबुलमा रहेका आफ्नै प्रतिनिधि खुइलिने, कमजोर हुने । नगरौं आफ्नै ‘महानायकहरु’ हिजो जे रहेका थिए, आज त्यही थिएनन् । उनीहरुको मेटामर्फोसिस भइसकेको थियो । उनीहरु क्रान्तिकारी लेनदेनमा होइन, फाउस्टियन बार्गेनिङमा झरिसकेका थिए । फाउस्टियन बार्गेनिङ– जहाँ सत्तारानीको बाहुपासमा आत्माको विक्री हुन्छ । तर सोह्रबुँदेले जिम्मेवार क्रान्तिकारीहरुहरुमा रहेको उपर्युक्त धर्मसंकटको अन्त्य गरिदिएको छ ।
......... 
उनीहरु क्रान्तिकारी लेनदेनमा होइन, फाउस्टियन बार्गेनिङमा झरिसकेका थिए । फाउस्टियन बार्गेनिङ– जहाँ सत्तारानीको बाहुपासमा आत्माको विक्री हुन्छ । तर सोह्रबुँदेले जिम्मेवार क्रान्तिकारीहरुहरुमा रहेको उपर्युक्त धर्मसंकटको अन्त्य गरिदिएको छ ।
सोह्रबुँदे होइन, नेपालमा संघीयता र गणतन्त्रको स्थापनार्थ कमरेडद्वयले महान् जनयुद्धमा दिएको कुशल नेतृत्वको इतिहास युग–युगसम्म नमेटिने गरी स्वर्ण अक्षरले लेखिएको छ । कमरेडद्वय जस्तो चलायमान र बौद्धिक नेतृत्व पाउनु नेपाली सर्वहारावर्गका लागि बेजोडका ऐतिहासिक संयोग थियो । तर, ठीक यहीँनिर नेपाली सर्वहारावर्ग चुकेको भनौं वा हारेको भनौं के कुरामा भने उसले कमरेडद्वयका हातमा यतिधेरै शक्ति र प्राधिकार केन्द्रित गरिदियो कि अन्ततः यहाँहरु इतिहासकै सबभन्दा लोभी, आत्मश्लाघी र अरु के के भनौं ‘लर्ड अफ द रिङ’को खलपात्र गोल्युमजस्तै भइदिनु भो । सर्वहारावर्गले सिङ्गै पार्टी र आन्दोलन तपाईं दुईको जिम्मा लगायो । अर्को भाषामा भन्दा कमरेडद्वयले नेपाली सर्वहारावर्गका साथबाट अधिकार लिएर सर्वहारावर्गकै नाममा आफ्नो हातमा केन्द्रीकरण गर्नुभयो ।

पुँजीवादमा मजदुरको पसिनाबाट सिर्जिएको अतिरिक्त मूल्यबाट जम्मा भएको पुँजी पुँजीपतिको हातमा बेलगाम केन्द्रीकरण भएजस्तै दशौं हजार सहिदको रगतबाट अर्जिएको क्रान्तिको ‘लेगासी’ कमरेडद्वयको हातमा केन्द्रीकरण भयो । लाजिम्पाट र सानेपा आधुनिक शक्तिपीठ जस्तै बने । आज क्रान्तिको त्यो ‘लेगासी’लाई भए आफ्नै सन्तान नभए आफन्त अनि त्यो पनि नभएको स्थितिमा मात्रै नेपाली जनताका अभागी छोराछोरीलाई मन नलागीनलागी हस्तगत गर्ने जीर्ण मनस्थितिमा यहाँहरु पुगेको देख्दा क्रान्तिकारीका मनभित्र ज्वालामुखी उठिरहेका छन् ।

क्रान्तिकालमा आम कार्यकर्ता र जनसमुदायमा रहेको ‘एजेन्सी’ पूर्णतः कमरेडद्वयका हातमा एकत्रित भएको छ । दिनदिनै लाजिम्पाट र सानेपाले क्रान्तिको पुँजीलाई निजीकरण गरिरहेको मुकदर्शक बन्नुपरेको छ क्रान्तिकारीहरु ।
आधा प्रतिगमनको एउटा मूलकारण यही बन्न पुगेको छ । पार्टी कमरेडद्वयको प्राइभेट कम्पनीमा परिणत भएको छ । नाफाको भागबण्डा नमिल्दा यो कम्पनीमा बारम्बार अन्तरसंघर्षरुपी भूकम्पका धक्का लाग्ने गरेका पनि छन् । क्रान्तिकालमा आम कार्यकर्ता र जनसमुदायमा रहेको ‘एजेन्सी’ पूर्णतः कमरेडद्वयका हातमा एकत्रित भएको छ । दिनदिनै लाजिम्पाट र सानेपाले क्रान्तिको पुँजीलाई निजीकरण गरिरहेको मुकदर्शक बन्नुपरेको छ क्रान्तिकारीहरु । जनयुद्ध काल र त्यसअघि सर्वहारावर्गका योद्धाहरुसित कम्तीमा लड्ने अधिकार सुरक्षित थियो । तर आज त्यो अधिकार सानेपा र लाजिम्पाटमा कैद छ ।

दमित हुनु, शोषित हुनु, उत्पीडित हुनु, सीमान्तकृत हुनु बरु सैह्य हुँदोरहेछ । तर, सर्वहारा वर्गका लागि लड्ने अधिकारै खोसिनु सबैभन्दा भयानक हुँदोरहेछ । अब आम सर्वहारा क्रान्तिकारीहरुले कमरेडद्वयबाट ‘लड्ने अधिकार’ खोसेर लिने बेला आएको छ । सोह्रबुँदेले त्यो वातावरण पैदा गरिदिएको छ । गरीब निमुखाहरुले आफ्नो ‘एजेन्सी’ वा सक्रियता पुनः विसर्जनवादीहरुका हातबाट आफ्नो हातमा लिने बेला आएको छ । कमरेडद्वयले एमाओवादी पार्टीलाई लाजिम्पाट र सानेपाबाट पेरिसडाँडा फिर्ता गर्ने, अझ त्यसभन्दा पर थवाङको जिम्मा लगाउने घडी आएको छ । आम क्रान्तिकारीहरुले आफूबाट खोसिएको आफ्नै पार्टी कमरेडद्वयबाट छिनेर लिन अब अबेर भैसकेको छ ।
उही तपाईंहरुको कमरेड
ध्रुवराज अधिकारी
(from ratopati)