पत्रकारको निर्वाचनप्रक्रिया सुरु
४ वैशाख । नेपाल पत्रकार महासंघको २३ औं राष्ट्रिय महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि निर्वाचन कार्यक्रम सार्वजनिक गरिएको छ ।
महासंघको केन्द्रीय निर्वाचन समितिले आइतबार पत्रकारसम्मेलन गरी वैशाख १२ गते मतदाता नामावलीको पहिलो सूची प्रकाशन गर्ने कार्यक्रम रहेको जनाएको छ ।
‘शान्ति, सहमति र संविधान नेपाल पत्रकार महासङ्घको अभियान’ भन्ने नारा साथ वैशाख २० र २१ गते नेपाल राजकीय प्रज्ञाप्रतिष्ठानमा २३ औँ महाविधेशन हुँदैछ । महाधिवेशनको बन्द सत्रमा उठ्ने पत्रकार हक, हित, र राष्ट्रिय मुद्दाहरू ओझेलमा पर्ने गरेकोले नयाँ नेतृत्व चयनका लागि यसपटक महाधिवेशन तोकिएको मितिभन्दा अघि नै निर्वाचनप्रक्रिया सुरु गर्न लागिएको हो ।
महासंघमा उठ्न चाहने अध्यक्षलगायतका पदाधिकारी एवम् केन्द्रीय सदस्यहरूको उम्मेदवारी मनोनय दर्ता वैशाख १७ गते हुने भएको छ । उम्मेदवारसम्बन्धी दाबी विरोध, उम्मेदवारको नामावली फिर्ता जस्ता काम भएपछि उम्मेदवारको अन्तिम नामावली प्रकाशन वैशाख १९ मा हुने निर्वाचन समितिका सदस्य एवम् अधिवक्ता रमेश बडालले बताउनुभयो । मतदान वैशाख २१ गते हुने कार्यक्रम रहेको छ ।
मतदाता नामावली उपर दाबी विरोध वैशाख १२ गते, मतदाता नामावलीमा छानबिन र अन्तिम नामावली प्रकाशन वैशाख १५ गते हुनेछ । जिल्ला, प्रतिष्ठान र एसोसियट्स शाखाका गरी देशभरका करिब एक हजार २५० पार्षद्ले सो महाधिवेशनमा भाग लिने बताइएको छ । उद्घाटन सत्रको दिन काठमाडौँमा प्रभातफेरि गरिने छ ।
