प्रचण्डले पाएनन् डेरा !
नेपाली राजनीतिका समकालीन नेताहरूमध्ये सबैभन्दा धेरै पैसा भएको आरोप लाग्ने गरेका एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालले काठमाडौंमा डेरा पाएनन् भन्ने सुन्दा पत्यार नलाग्न सक्छ । तर, दाहालको सचिवालयले विगत चार महिनादेखि त्यही भन्दै आइरहेको छ ।
गत साउनको पहिलो साता काठमाडौंमा सम्पन्न एमाओवादीको विस्तारित बैठकमा अध्यक्ष दाहालसहितका शीर्ष नेताहरूको जीवनशैली विलासी भएको भन्दै कार्यकर्ताले चर्को विरोध गरेपछि दाहालले अहिले बस्दै आएको भव्य घर छाडेर सामान्य घर लिने र सरकारी महँगो गाडी फिर्ता गर्ने घोषणा गरेका थिए । उनकै प्रस्तावमा शीर्ष नेताहरूले सामान्य जीवनशैली अपनाउने निर्णय विस्तारित बैठकले गरेको थियो । अध्यक्ष दाहालले देशभरिका अगुवा कार्यकर्ताका सामु एक महिनाभित्रै लाजिम्पाटको आलिसान घर छाड्ने घोषणा गरेका थिए ।तर, चार महिना बित्दा पनि दाहालले लाजिम्पाटको घर छाडेका छैनन् । उनले पार्टीका नेता/कार्यकर्तालाई उपयुक्त डेरा नै नभेटिएको जवाफ दिने गरेका छन् । विस्तारित बैठकमा आफैंले गरेको घोषणा पूरा नगरेको विषयमा बेलाबेलामा पत्रकारले चासो राख्दा दाहालको सचिवालयले पनि नयाँ डेरा खोज्न निक्कै दौडधुप गरे पनि फेला नपरेको प्रष्टीकरण दिने गरेको छ । ‘खोजेजस्तो डेरा नै भेटिएकै छैन,’ अध्यक्ष दाहालका सहयोगी शिव खकुरेलले बताए ।निक्कै घरहरू हेरे पनि सुरक्षा अवस्था, पार्किङ एरिया, निजी सचिवालय र सुरक्षाकर्मीको बसाइलगायत सबै कुरा मिलेको घर अहिलेसम्म फेला नपरेको उनले बताए ।
एमाओवादी शान्तिप्रक्रियामा आएपछि अध्यक्ष दाहाल नयाँबजारमा एक घर भाडामा लिएर बसेका थिए ।
तर, सुरक्षाको दृष्टिकोण र पार्किङ एरियालगायत असुविधा भएको भन्दै गत वर्षको माघ पहिलो साता लाजिम्पाटमा आलिसान घर भाडामा लिएपछि उनी नयाँबजारबाट सरेका थिए । एउटै कम्पाउन्डमा रहेका अढाई तले दुईवटा घरको दाहालले मासिक एक लाख तीन हजार भाडा तिर्दै आएका छन् ।
अध्यक्ष दाहाल नयाँ बजारबाट सर्नुअघि झन्डै दुई महिना लगाएर मर्मतसम्भार र रंगरोगन गरेर घर सिँगारिएको थियो । लाजिम्पाटको सांग्रिला होटल नपुग्दै दायाँपट्टि छिरेर करिब डेढ सय मिटर अगाडि गएपछि दाहाल निवास पुगिन्छ । कम्पाउन्डभित्र साढे दुई तले दुईवटा घर छन् । आँगनमा सिलेट/ढुंगा ओछ्याइएका छन् भने परिसरमा बगैँचा पनि छ । फराकिलो कम्पाउन्डमा आठदेखि १० वटासम्म गाडी पार्क गर्न सकिने ठाउँ पनि छ ।
विस्तारित बैठक सकिएको २/३ दिनमै दाहालले पूर्वप्रधानमन्त्रीका हैसियतमा चढ्दै आएको सरकारी गाडी भने फिर्ता गरेका थिए । त्यसपछि पनि उनी पार्टी स्वामित्वको सुविधासम्पन्न मित्सुबिसी गाडी चढ्छन् ।
अध्यक्ष दाहालको सचिवालयका अनुसार रिङरोडभित्र वा बाहिर नजिकै डेरा खोज्ने काम भइरहेको छ । दाहाल बस्ने तथा भेटघाट गर्न मिल्ने, ८/१० वटा गाडी पार्किङ गर्ने एरिया भएको तथा सचिवालय र सुरक्षाकर्मीका लागि नजिकै छुट्टै घर भएको डेराको खोजी सचिवालयले गरेको छ । सचिवालयका अनुसार नयाँबजारको घरको जस्तो असुविधा पनि नरहेको र लाजिम्पाटको आलिसान घरभन्दा सामान्य देखिने खालको नयाँ घर खोज्न अध्यक्ष दाहालले भनेको खबर सौर्य दैनिकले छापेको छ ।
एमाओवादी शान्तिप्रक्रियामा आएपछि अध्यक्ष दाहाल नयाँबजारमा एक घर भाडामा लिएर बसेका थिए । तर, सुरक्षाको दृष्टिकोण र पार्किङ एरियालगायत असुविधा भएको भन्दै गत वर्षको माघ पहिलो साता लाजिम्पाटमा आलिसान घर भाडामा लिएपछि उनी नयाँबजारबाट सरेका थिए । एउटै कम्पाउन्डमा रहेका अढाई तले दुईवटा घरको दाहालले मासिक एक लाख तीन हजार भाडा तिर्दै आएका छन् ।
सचिवालयसँगै पार्टीका अन्य नेताहरूले पनि दाहालका लागि डेरा खोजिरहेका छन् । तैपनि, उपयुक्त डेरा नभेटिएको सचिवालयले जनाएको छ । ‘कतै घर ठूलो हुन्छ तर पार्किङको ठाउँ हुँदैन, कतै अरू कुरा ठीक हुन्छ तर सचिवालय र सुरक्षाकर्मी बस्ने उपयुक्त स्थान हुँदैन,’ सचिवालयका एक सदस्यले भने ‘रिङरोडदेखि धेरै टाढा पनि जानुभएन, सबै कुरा मिलाउन खोज्दाखोज्दै ढिला भएको हो ।’
