फेरि उठ्ने भो माओवादीको बन्दुक

काठमाडौ । मोहन वैद्य नेतृत्वको माओवादीले पार्टीलाई फौजी रुपमा तयारी पारेर क्रान्तिलाई पूरा गर्ने रणनीति तयार गर्ने प्रतिवेदन पारित गर्न लागेको छ। अध्यक्ष वैद्यले पेश गरेको ८४ पृष्ठ लामो राजनीतिक प्रतिवेदनमाथि छलफल गर्ने क्रममा अधिकांश केन्द्रीय सदस्यले पार्टीलाई फौजी रुपमा विकास गर्नुपर्ने विचार राखेको एक केन्द्रीय सदस्यले जानकारी दिए। ती सदस्यका अनुसार, जनसत्ता व्युँत्याउने, आधार क्षेत्रहरूको विकास गर्ने विचार पनि उठेको छ।  
जनविद्रोह या जनयुद्ध जुनसुकै बाटोमा अगाडि बढ्नका लागि पनि तयारी हालतमा पार्टीको संरचना विकास गर्ने कुरा बैठकमा उठेको केन्द्रीय सदस्य भरत बमले बताए। उनले केन्द्रीय सदस्यमा फरक मत नआएको पनि बताए। क्रान्तिको बाँकी कार्यभार पूरा गर्न सर्वहारा वर्गको पार्टी आवश्यक पर्ने र त्यसका लागि सांगठानिक र फौजीरुपमा पनि तयारी हुनुपर्ने तर्क सबै केन्द्रीय सदस्यहरूले गरेका छन। माओवादी स्रोतका अनुसार, जनयुद्धमा जाने विषयमा केन्द्रीय सदस्यमा विवाद नभएपनि कसरी र कहिले जाने भन्ने विषयमा मात्रै मतान्तर देखिएको छ।  
माओवादी नेतृत्वले केन्द्रीय सदस्यलाई सञ्चारमाध्यम तथा अन्य व्यक्ति र निकायलाई सूचना नदिन र नबोल्न केन्द्रीय सदस्यलाई उर्दी नै जारी गरिएको छ। केन्द्रीय समितिमा भएको बहस, अन्तर्क्रिया र छलफल पार्टी प्रवक्ता पम्फा भूसाल र केन्द्रीय सदस्य महेश्वर दाहाललाई मात्रै बाहिर लैजाने वा बोल्ने अधिकार दिइएको छ। तर, उनीहरूले पनि पार्टीभित्र भएको बहसबारे प्रतिक्रिया दिन मानेका छैनन्। महाधिवेशनको तयारीका बारेमा मात्रै छलफल भएको भन्दै भूसालले केन्द्रीय समितिको बैठक ऐतिहासिक हुने भन्ने चाहिं प्रतिक्रिया दिएकी छन्।

source:weeklynepal