पुष्पा बनिन् ‘सिएनएन हिरो’

कारागारमा वन्दी जीवन विताएका नेपालीका बालबच्चाको हेरचाह गर्दै आएकी पुष्पा वस्नेत यो वर्षको सिएनएन हिरो बन्न सफल भएकी छन् । बस्नेतले मनोनयनमा परेका नौ प्रतिष्पर्धीलाई अनलाईन भोटिङ्बाट उछिन्दै सिएनएन् हिरो अफ द ईयर २०१२ को उपाधि हात पारेकी हुन् ।

उनले उपाधि स्वरुप दुई लाख ५० हजार र अतिरिक्त ५० हजार गरी तीन लाख अमेरीकी डलर प्राप्त गरेकी छन् ।  आयोजक सिएननले मनोनयनमा परेका १० जनालाई अभियान स्वरुप छुट्टै ५० हजार अमेरिकी डलर दिएको हो ।

उपाधि लिन स्टेजमा पुग्दा भावविभोर हुदै अवार्ड हातमा लिएर पुष्पाले भनिन्– ‘यो अवार्डले मेरा लागि धेरै ठूलो माने राख्छ, अहिले पनि धेरै बालबालिका जेलभित्र बस्न बाध्य छन, निश्चितरुपमा म तपाईहरुलाई बाहिर निकाल्न आउनेछु ।’ पुष्पाले अवार्ड देखाउँदै यो आफ्ना बच्चाबच्चीका लागि र नेपालका लागि भएको समेत उल्लेख गरिन् ।

नेपाली कारागारमा वन्दी जीवन बिताइरहेका अभिभावकका छोराछोरीहरुलाई हेरचाह तथा स्याहार केन्द्र संचालन गर्दै आएकी पुष्पालाई सामाजिक सेवामा योगदान पुर्‍याए वापत सिएनएन हिरोको मनोनयनमा छानिएकी थिइन् ।

अघिल्लो वर्षको हिरो अफ दि इयरको उपाधि नेपालकै चेलीवेटी वेचविखनविरुद्ध काम गर्ने संस्था माइती नेपालकी अनुराधा कोईरालाले जितेकी थिइन् ।

अमेरिकी टेलिभिजन च्यानल सीएनएनले हरेक बर्ष बिश्वभरका उत्कृष्ट समाजसेवीलाई ‘सीएनएन हिरोज’ अवार्ड प्रदान गदै आएको छ ।