पार्टी एकता गलत र निरर्थक हल्लाहरु हुन्ः मोहन वैद्य

* तपाइहरु निर्वाचनमा भाग नै नलिने पक्षमा हुनुहुन्छ, तपाईहरुले भाग नलिएको निर्वाचन कसरी अगाडी बढ्छ, निर्वाचनमा भाग नलिएपछि अर्को विधी के हो त ?

यो निर्वाचनको सम्बन्धमा जुन चर्चाहरु चलिरहेको छ । चार दलिय संयन्त्रको कुरादेखि सवै प्रक्रियाको कुरा गर्दा यो अलोकतान्त्रिक र संविधान विपरित भएको भनिरहेका छौं । चुनाव होला नहोला त्यो एउटा कुरा हो । तर यसरी गरिने चुनावले जनताको संविधान बन्ला भनेर कुनै पनि आशा र अपेक्षा गर्न सकिदैन । यसकारणले यो चुनावलाई यथास्थितीमा भाग लिदैनौ भनेर प्रष्ट राखिरहेका छौं । यी सवै सहमतिहरु खारेज हुनुपर्छ भनेर भनिरहेका छौं । यी सवै मागहरुका बारेमा सकारात्मक संकेत र कुनै चासो दिइएको छैन । अर्को कुरा चुनाव हुनै सक्दैन । चुनाव भइहाल्यो भने पनि जनताको तर्फबाट संविधान बन्ला भनेर आशा गर्न सक्दैनौं । चुनावको घोषणा भइहाल्यो भने पनि हामी कसरी जाने भन्ने निर्णय गरेर आगाडी बढ्छौं ।

* पहिलो संविधानसभाबाट संविधान बन्न नसकेपछि दोस्रो संविधानसभाको चुनाव गर्नुको विकल्प पनि त छैन नी होइन ?

प्रतिगामी ढंगले जसरी अगाडी बढिरहेको छ, त्यसको विकल्प त सडकबाट, संघर्षबाट, जनआन्दोलनका बीचबाट जनताले आफ्नो हक अधिकारहरु प्राप्त गर्ने कुराहरु हो । नेपाली जनताले निरन्तर संघर्ष गर्दै आएका छन् तर संघर्षको प्रतिफल प्राप्त हुन सकेको छैन । फेरी पनि संघर्षमा गएर नै समस्याको समाधान हुन्छ ।

* यतिधेरै युवाहरु जमात् विदेश पलायन भइरहेका छन्, जनताले संघर्ष गरेका गरेकै छन्, जनताले तपाईहरुलाई कहिले सम्म साथ दिने र तपाइहरुलाई विश्वास गरेर जनता सडकमा आउने आधार के ? 

हामीले जनताको हितको निम्ति लड्ने हो । आफै लड्न नआउने हो भने त कुरा परै हो । हाम्रो आन्दोलन कसैलाई दान दिने कुरा त होइन । त्यसको निम्ति जनता पनि सचेत हुनुप¥यो । जनता पनि मैदानमा आउनु प¥यो । जनता आउँदैनन् भन्ने कुराहरु होइनन, जनताले बुझ्दै गइरहेका छन् । संविधानसभा मार्फत जनताको हकहित,अधिकारहरु संस्थागत हुन सकेनन् भने जनता निश्चित रुपमा मैदानमा आउँछन् । जनताको इच्छाहरुलाई आत्मसाथ गर्न सकियो भने जनताले साथ दिन्नन् भन्ने कुरा होइन । जनताले साथ दिन्छन् भन्ने कुरामा पूर्ण विश्वास छ ।

* जुन शक्ति सरकारबाट बाहिर गइसकेपछि जनताको माग पुरा गर्छौ, जनताको लागि काम गर्छौं भन्ने गर्छन् तर सरकारमा पुगिसकेपछि जनताको पक्षमा कसैले पनि काम गरेको देखिएन । तपाईहरु पनि बाहिरै रहेको कारणले हो की ? 

यो विल्कुलै गलत कुरा हो । सरकारमा गएर जनताको पक्षमा काम गरेका पनि छन् तर धोका भइसकेपछि प्रतिक्रियावादीसँग आत्मसमर्पण गर्नेहरु आत्मसमर्पण गर्छन् भने आत्मसमर्पण नगर्नेहरु फेरी पनि संघर्षको मैदानमा उत्रिन्छन् । आन्दोलन, संघर्ष हो, यसले तुरुन्तै जीत हुन्छ भन्ने कुरा त होइन । संघर्षकोबीचबाट विजय हुन्छ । जनताले साथ दिन्नन्, केही पनि हुदैन, क्रान्ति गर्नु पनि बेकार छ भन्ने कुरा तपाईको आयो । यो त निराशावादी कुरा हो । जनता आफ्नो हकहितको निम्ति निश्चित रुपमा संघर्षमा उत्रिन्छन् । क्रान्ति सम्भव छ यो निश्चित कुरा हो ।

* नेकपा–माओवादी र एकिकृत नेकपा (माओवादी)बीच पछिल्लो समय पुनः एकताको कुरा आइरहेको छ । एकताको लागि छलफल थालनी भएको हो ? 

एकताको लागि वार्ता, वार्ता छलफल भइराखेको र एकता हुदैछ भन्ने गलत प्रचार भइरहेको छ । यो बेलामा एकिकृत माओवादीसँग हाम्रोबीच एकता भन्ने कुरा त असम्भव छ । एकदम असम्भव खालको कुराहरु हो । उहाँहरुले त क्रान्तिको बाटो पनि छोडेर जानु भयो । राष्ट्रि«य स्वाधिनताको रक्षाको कुराहरु पनि छोडेर जानु भयो । जनताको हक अधिकारहरुलाई स्थापित गर्ने हिसाबले संविधानसभा मार्फत नयाँ संविधान बनाउनु पर्छ भन्ने कुरा पनि उहाँहरुले छाडेर जानु भयो । त्यसैले यसकिमिसले पार्टी एकता हुनै सक्दैन । अर्को चुनावी एकता भन्ने हल्ला पनि आइरहेको छ । हामीले यहि प्रक्रियाको चुनाव बहिष्कार गर्नुको विकल्प छैन भनेर हामीले भनिरहेका छौं । जुन शक्ति चुनावमा बहिष्कार गर्ने हिसावले चलिरहेको छ, उसँग चुनावी एकताको पनि कुनै औचित्य छैन । त्यसकारणले बाहिर जुन हल्लाहरु आइरहेका छन्, ती गलत र निरर्थक हल्लाहरु हुन् ।

* भनेपछि, तपाइहरुसँगको भेटघाट, वार्तामा एकताको कुराहरु कुनै उठ्दैनन् ? 

एकताको लागि उहाँहरुले गर्ने एउटा कुरा हो । यदाकदा केही समय अगाडी उहाँहरुले गरेको हो । हामीले यी सवै गलत कुरा हो भनिरहेका छौं । समग्र प्रक्रियाहरु अगाडी बढाउने सिलसिलामा उहाँहरु (एकिकृत माओवादी) पनि सम्मिलित हुनुहुन्छ । उहाँहरुले हामीलाई हरेक कुरामा निषेध गर्दै गइरहनु भएको छ । हामीलाई मात्र होइन, सवै नेपाली जनतालाई निषेध गर्दै गइरहेको कुरा छ । त्यसकारण यी सवै हो–हल्ला र वाइयात कुराहरु बाहेक केही पनि होइन ।


(प्रस्तुतीः पुष्प न्यौपाने)