पत्रकार इच्छुकलाई सम्झिदा
नारायण पंगेनी
‘वर्ग संघर्षको भट्टीमा थुप्रै जीवनहरुले मृत्युसँगै टाँसिएर आफूलाई सिध्याएका छन् । जो निर्लज्ज बाँचिरहेका छन्, हामै्र आँखा अगाडी तर कृष्ण सेन एक यस्तो जीवन थियो जुन जीवनले जीवनलाई छोएर सहादत ग¥यो, त्यो रातो जीवनलाई सलाम ।’
प्रगतिवादी साहित्य, जनपक्षिय पत्रकारिता र राजनीतिक क्षमताको ब्यक्तीत्व कृष्ण सेन २०५९ साल जेठ ६ गते गिरफ्तारीपछि जेठ १३ गते प्रहरी हिरासतमै मारिएका थिए । पत्रकार तथा श्रष्टा सेनको मृत्यु भएको ११ वर्ष पुगेपनि उनले देखेका सपनाहरु भने आज पनि अधुरै छन् । तर पनि कवि सेन युगको एउटा दस्तावेज भएर मरेको भन्दै आफ्नो कविता ‘संवाददाताहरु भन्छन्’ मा कवि पूर्णविराम गर्व गर्छन ।
कवि पूर्णविराम आफ्नो कविताको एक अंशमा कवि इच्छुकलाई सम्झन्छन्–
‘जस्ता सुकै ढुंगाहरु लिएर जति वल प्रयोग गरेर फुकेपछि निभाउन नसक्ने एउटा मैनवत्ती भएर म¥यौ, कोष्ट भित्र रहेका आगोको एउटा पनि नाम नामेषी नाम नफट्कारेर एउटा फलामे जिव्रो भएर नै म¥यौ, मरे पनि एउटा युगको युगिन दस्तावेज भएर म¥यौ...’ ।
तत्कालिन नेकपा (माओवादी)को नेतृत्वमा दश वर्ष सशस्त्र युद्धभयो । दशवर्षको युद्धमा हजारौं कृष्ण सेनहरु मारिए । देशमा गणतन्त्र स्थापना भयो । युद्धरत माओवादीका नेताहरु सरकारमा आसिन भए । तर नेपाली जनताले परिवर्तनको महशुश भने गर्न पाइरहेका छैनन् । यद्यपी प्रगतिवादी लेखक दिल सहानी सेनको शहादतले मुलुकको नयाँ जनवादी क्रान्तिमा ऊर्जा थप्ने विश्वास ब्यक्त गर्छन ।
सेनको सम्पूर्ण जीवन परिवर्तनका निम्ति समर्पित भए र परिवर्तनको निम्ति बलिदानी गरे । सेनको बलिदानीले मुलुकमा ब्यवस्था परिवर्तन गर्न त मद्दत त ग¥यो । तर सेनको बलिदानीले सार्थकता पाउने हो की होइन भन्नेमा शंका छ सेनकी जीवन संगिनी तक्मा केसीलाई ।
दशवर्षे जनयुद्धको नेतृत्वकर्ताले शान्ति प्रक्रियामा आएपछि बाटो बदल्दै गएका छन् । यतिवेला क्रान्ति गुमनाम छ । त्यसैले नेताहरु संसोधनवादको भासमा फसिरहेको वर्तमान अवस्थामा कृष्ण सेन इच्छुकको आदर्श महत्वपूर्ण रहेको माक्र्सवादी सौन्दर्यचिन्तक चैतन्य बताउँछन्, ।
क्रान्तिकारी चेत बोकेर परिवर्तनको गीत लेखेकै भरमा सेनले जेल–नेल खेप्नु प¥यो । जेल बसाइकै क्रममा उनले लेखेको खण्डकाब्य ‘बन्दी र चन्द्रागिरी’ चर्चित रहेको छ । उनका ‘इतिहासको यस घडिमा’, ‘शोकाञ्जली’ जस्ता कविता तथा दर्जनौ फुटकर कविताले क्रान्तिलाई मार्गदर्शन गरिरहेको छ । स्वतन्त्रताको लागि कोरिएका इच्छुकका कविताहरु आज गीत संगीतले गुञ्जिरहेका छन् ।

