फिलिपिन्सकी मेगन योङ् बनिन् विश्वसुन्दरी

इन्डोनेशियाको बालीमा असोज १२ गते राती सम्पन्न विश्वसुन्दरी प्रतियोगितामा फिलिपिन्सकी मेगन योङ्ले ‘मिस वल्र्ड’ को उपाधि जितेकी छन् । २३ वर्षे सुन्दरी योङ्ले १ सय २६ देशका सुन्दरीलाई उछिन्दै मिस वल्र्डको ताज पहिरेकी हुन् । सन् २०१२ की मिस वल्र्ड चीनकी वेन जिया युले योङ्को शिरमा मिस वल्र्डको ताज पहि¥याई दिएकी थिइन् ।

मुस्लिम समुदायको विरोधका कारण कडा सुरक्षाबीच इण्डोनेशियाको बालीमा सम्पन्न ६३ औं संस्करणमा सहभागी मिस नेपाल इशानी श्रेष्ठ मिस वल्र्डको उत्कृष्ट १० भित्र पर्न सफल भएकी छन् । उनी मिस वल्र्डको उत्कृष्ट पाँचौ नम्बरमा पर्न सफल भइन् । मिस नेपाल इशानीले मिस वल्र्डकै अर्को उपाधि  ‘ब्युटी विथ प्रपोज’ जितेकी छन् ।

डेढ दशकदेखि नेपालले सहभागिता जनाउँदै आएको मिस वल्र्डमा सहायक उपाधि जित्ने इशानी पहिलो नेपाली सुन्दरी बन्न सफल भइन् । मिस नेपालको उपाधि जितेपछि जुम्लाका विभिन्न गाउँमा गरेको दन्त शिविरको आधारमा उनलाई ब्युटी विथ पर्पोज उपाधि दिइएको हो । उपाधिसहित उनले अभियानलाई अघि बढाउन १० हजार अमेरिकी डलर सहायतासमेत प्राप्त गरिन् । यसअघिको संस्करणमा नेपालको प्रतिनिधित्व गरेकी मिस नेपाल श्रेष्ठअन्तिम २० मा पुगेकी थिइन् ।

मिस वल्र्ड प्रतियोगिताको पहिलो उपविजेता फ्रान्सकी मेरिन लोर्फेलिन र दोस्री उपविजेता घानाकी क्यारेन्जा ना ओकिली बनेकी छन् । प्रतिष्पर्धामा फिलिपिन्स, फ्रान्स, घाना, ब्राजिल, स्पेन, नेपाल, जिब्राल्टर, अष्ट्र्लिया, बेलायत, इण्डोनेशिया र जमैका उत्कृष्ट १० मा परेका थिए ।

विश्व सुन्दरी मेगन अमेरिकामा जन्मेकी हुन् । दश वर्षको उमेरमा फिलिपिन्स फर्केकी विश्व सुन्दरी–२०१३ मेगन अहिले डिजिटल फिल्मी विषय अध्ययन गर्दैछिन् । १५ वर्षको उमेरमा उनी चलचित्रमार्फत काँचको पर्दामा देखा परेकी थिइन् । भविष्यमा चलचित्र निर्देशक बन्ने लक्ष्य रहेको उनले बताएकी छिन् ।

विश्वका एक सय ३० देशका सुन्दरीलाई उछिन्दै ब्युटी विथ पर्पोज उपाधि जितेसँगै मिस वल्र्डका दाबेदारका रूपमा हेरिएकी नेपाल सुन्दरी इशानी श्रेष्ठअन्तिम पाँच छनोटबाट बाहिरिएकी छिन् । विश्व सुन्दरीको फाइनलमा उत्कृष्ट १० मा पाँच नम्बरमा परेकी मिस नेपाल श्रेष्ठ अन्तिम पाँचमा भने पर्न सकिनन् । उत्कृष्ट १० मा पर्नुअघि उनले नेपालको संस्कृति झल्कने गीतमा नृत्य प्रस्तुत गरेकी थिइन् । उनले ‘मेरो प्यारो माइती घर’ गीतमा नृत्य प्रस्तुत गरेकी हुन् ।