५५ प्रतिशत छलाजुत्ता स्वदेशी उत्पादन

काठमाडौ/ देशलाई छालाका जुत्ता चप्पलमा आत्मानिर्भर बनाउने लक्ष्यका साथ २०१८ सालमा चीनको आर्थिक र प्राबिधिक सहयोगमा स्थापना भएको बाँसबारी छाला जुत्ता उद्योग निजीकरण संगै बिस्थापित भएपछि लामो समय नेपालमा बिदेशी छाला जुत्ता र बिशेष गरी भारतीय उत्पादनका सामग्रीको हालीमुहाली नै चल्यो ।

नेपालबाट युवाहरु धमाधम बिदेशी रहेको अवस्थामा युवाहरुलाई रोजगारी र छाला जुत्तामा नेपाललाई आत्मानिर्भर बनाउने उदेश्यका साथ स्थापना भएको छाला जुत्ता तथा बस्तु उत्पादक संघको आयोजनामा राजधानीमा दशौ राष्ट्रिय प्रदर्शनी भइरहेको छ । त्यसैभीडमा भेटिएका ओखलढुंगाका बृद्ध भैरवबहादुर श्रेष्ठ स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्नुपर्ने बताउछन् । अहिले नेपालमा छालाजुत्ताको मागको ५५ प्रतिशत स्वदेशी उत्पादनले पुरा गरिरहेको छ । अझैपनि ४५ प्रतिशत छालाजुत्तामा बिदेशीहरुको मुख ताक्नु पर्ने अवस्थामा रहेको छ ।

प्रदर्शनीमा नेपालमा चर्चित देखी भर्खरै आफूलाई स्थापित गराउने धुनमा रहेका कतिपय कम्पनीहरुका गरी करिव ७५ वटा कम्पनीका ९० वटा भन्दा बढि स्टलहरु रहेका छन् । त्यहा मानिसहरु छालाजुत्ता किनमेलदेखी अवलोकनका लागि समेत पुगेका भेटिन्थे । बाँसबारी छालाजुत्ताको अवसानसंगै बिदेशी कम्पनीहरुको हातमा पुगेको बजारलाई आफ्नो बनाउनका लागि सुरु भएको छालाजुत्ताको व्यवसायिक उत्पादन र त्यसको कच्चा पदार्थको उत्पादनमा समेत अहिले नेपाल आत्मानिर्भर बन्दै गएको छालाजुत्ता तथा बस्तु उत्पादक संघका महासचिव कृष्ण फुयाल बताउँछन् ।

नेपालमा हरेक प्रकारका उद्योगहरु स्थापना हुने भएपनि तिनीहरुलाई कसरी व्यवस्थापन गर्ने भन्ने सरकारी नीति स्पष्ट नहुदा उद्योगीहरु अन्योलमा पर्ने गरेका छन् भने व्यवसाय समेत आत्मानिर्भरताको बाटोमा जान सकिरहेको छैन । अहिले सरकारले कच्चा पर्दार्थ आयातमा सहुलियत दिने हो भने उद्योगलाई निरन्तरता दिन र छाला जुत्तामा आत्मानिर्भर बनाउन सहयोग पुग्ने प्रदर्शनीका संयोजक एवं छाला जुत्ता तथा बस्तु उत्पादक संघका महासचिव फुयाल बताउछन् ।

जस्ता बस्तुहरु उत्पादन गरेपनि त्यसले निरन्तरता पाउनका लागि ग्राहकहरुको मन जित्न सक्नुपर्ने हुन्छ । जसले जस्तो योजना बनाएपनि त्यसलाई उपभोत्ताले मन पराएनन् भने त्यसले निरन्तरता पाउन सक्दैन । नेपाली बस्तुलाई किन र के आधारमा उपयोग गर्ने, सस्तो, राम्रो, आकर्षक भएर वा नेपाली हो लगाईदिनुपर्छ भनेर भन्ने कुरामा उत्पादकहरु स्पष्ट हुन जरुरी छ । यदी आकर्षक र बलियो बनाउन सकिएन भने नेपाली हो लगाउनुपर्छ भन्ने भावनाले मात्र उद्योगलाई टिकाउन सकिदैन । त्यसका लागि सरकारी नीति, सबैको सहयोग र आत्मविश्वासको आवश्यक छ ।




,