पत्रकार महासंघलाई थप समावेशी बनाउन चार पत्रकार संगठन सहमत

काठमाडौं, १५ चैत । नेपाल पत्रकार महासंघलाई थप समावेशी बनाउन चार पत्रकार संगठन सहमत भएका छन् । राजधानीमा शनिवार बसेको क्रान्तिकारी पत्रकार संघ, पे्रस चौतारी, प्रेस युनियन र क्रान्तिकारी पत्रकार महासंघको संयुक्त बैठकले पोखरामा सम्पन्न भएको साधारण सभाको भावना र चार संगठनको प्रतिवद्धताअनुसार विद्यान संसोधनको प्रस्ताव अघि बढाउन पत्रकार महासंघ केन्द्रीय समितिलाई आग्रह गरिएको  छ ।
पत्रकार महासंघको आगामी बैशाख २० र २१ गते हुने चौविसौ महाधिवेशनमा विधान संशोधन गरी पदाधिकारी र सदस्यमा थप समावेशी बनाउने विषयमा चार संगठनबीच सहमति भएको हो । चार संगठन बिच महासंघको विधान संसोधन गरी वरिष्ठ, खुल्ला र महिला गरी तीन उपाध्यक्ष, तिन समावेशी र दुई खुला गरी पाच सचिव, पाच खुला सदस्य, एक अल्पसंख्यक र एक अपाङग सदस्य थप गर्न सहमति भएको छ ।
चार संगठनवीच महासंघलाई पारदर्शी र सुदृढ बनाउन महाधिवेशनबाटै केन्द्रिय लेखा समिति गठन गर्न पहल गर्ने पनि सहमति भएकोे छ ।
चार संगठनको बैठकमा क्रान्तिकारीबाट आचार्य र खिलवहादुर भण्डारी, चौतारीबाट राजेन्द्र अर्याल र दुर्गा शर्मा, युनियनबाट किरण पोखरेल र शिव लम्साल र महासंघबाट कुमार शाह र नारायण पंगेनी सहभागी थिए ।