राजनीतिको उत्कर्षमा केपी ओली

एमाले नेता केपी शर्मा ओलीले ४४ मत अन्तरले पार्टी अध्यक्ष पदमा विजय हासिल गरेका छन्। पार्टी वरिष्ठ नेता माधवकुमार नेपाललाई पराजित गरेर अध्यक्ष बन्न नसकेका भए सम्भवतः उनको राजनीतिक जीवनको अन्त्य हुन सक्थ्यो।

ओलीको जीवन संघर्षै संघर्षले भरिएको एउटा जीउँदो इतिहास हो। यिनको प्रारम्भिक जीवन आर्थिक विपन्नताले भरिएको थियो। उनको जग्गा खोलाले बगायो। आमा मधु ओलीको निधन भयो। बाबु मोहनप्रसाद ओलीले अर्को विवाह गरे।

उनको जीवनमा एकपछि अर्को आपत आइलाग्यो। बडाबाले उनलाई घरमा ल्याए। टुहुरो नातिको हेरचाह गर्ने जिम्मा हजुरआमाको भयो। बडाबा र हजुरआमाकै कारण यिनले स्कुल जाने मौका पाए।

स्कुले विद्यार्थी हुँदै यिनको दुब्लो ज्यान तर छुराजस्तो मुख चर्चित भइसकेको थियो। धेरैजसोले उनलाई मुख धेरै चल्ने तर कामका निम्ति ज्यान धेरै नचल्ने ठान्थे। सायद शारीरिकरूपमै उनी धेरै सक्रिय हुन नसक्ने भएका कारण यी मुख धेरै चलाउँथे।

उनले राजनीतिक रूपमा प्रशिक्षित हुने मौका रामनाथ दाहालबाट पाए, जसलाई तत्कालीन पञ्चायती सत्ताले सुखानीको जंगलमा हत्या ग¥यो। पूर्वी पहाड तेह्रथुमको आठराईस्थित इवागाउँमा ६२ वर्षअघि ओलीको जन्म भएको थियो। रामनाथले यिनलाई पहाडबाटै चिनेका थिए।

२०२०र२१ सालतिर दाहाल पनि झापा बसाइँ सरे। राजनीतिरूपमा पहिल्यै सचेत, राम्रो अनुहारका चलाख विद्यार्थी ओलीलाई दाहालले आफ्नो घरमा राखेर पढाउन थाले। उनको पढाइ घैलाडुब्बा माध्यामिक विद्यालयका हुन थाल्यो। रामनाथले कान्छी पत्नीका रुपमा विश्वेश्वरालाई भित्र्याएका थिए। ओलीले तिनलाई पनि सघाउने छन् भन्ने अपेक्षा दाहालको थियो।

दाहालको संगतले उनी राजनीतिकरूपमा झन तिखारिन थाले। विद्यार्थी कालमै पनि ओली मीठो तरिकाले बोल्थे। उनी अरूको आलोचना पनि जमेर गर्थे। उनलाई भोलिको राजनीतिका निम्ति चाहिने व्यक्तिका रूपमा त्यतिबेलै हेर्ने गरेका थिए।

एसएलसी दिएपछि उनी प्राथमिक स्कुलमा पढाउन थाले। तर, उनीमा राजनीतिक चेतना बढ्दै जाँदा पढाउने कामलाई निरन्तरता दिएनन्। १८ वर्षकै उमेरमा उनको पहिलो गिरफ्तारी भयो। त्यसको तीन वर्षपछि उनी गिरफ्तार भएपछि उनी १४ वर्षसम्म लगातार तत्कालीन एकतन्त्री निरंकुश पञ्चायती सत्ताको जेलको पाहुना पाहुना बने।

‘उहाँले जेलमा आफ्नो चिन्तन र अध्ययन बढाउनुभयो,’ उनीसँगै जेल जीवन भोगेका झापाली नेता राधाकृष्ण मैनालीले सम्झना गरे, ‘बाहिर हाम्रोबीच चिनजान त थियो, तर हाम्रो राम्रो संगत भने जेलमै भयो।’
जेलमै हुँदा ओलीले त्यतिबेला भविश्यमा संविधानमा मृत्युदण्डको प्रावधान हटाउनु पर्ने विषयमा छलफल गर्ने गर्थे। मोहनचन्द्र अधिकारी, केपी शर्मा ओली, भीमनारायण श्रेष्ठ, यज्ञबहादुर थापा र राधाकृष्ण मैनाली जेलमा सँगै थिए। पछि उनीहरूकै बीचबाट श्रेष्ठ र थापालाई लगेर पञ्चायती सत्ताले फाँसी दिएको थियो। त्यही प्रसंगलाई लिएर राधाकृष्ण मैनालीले ‘लुटिएका दुई थुँगा फूल’ नामक संस्मरणात्मक कृतिसमेत लेखेका थिए।

ओलीलाई त्यो बेलै चिन्नेहरूले भविष्यमा यिनी सुझबुझ राख्ने नेता होलान् भन्ने ठानेका थिए। अझ जेलमा रहँदा यिनी अत्यन्तै राष्ट्रवादी भावना राख्थे। विदेशीले नेपालीलाई हेपेको उनी ठान्थे। तर, जेलबाट बाहिर निस्किएपछि उनले सत्ताको शिखरमा पुग्न विदेशीको सहयोग चाहिन्छ भन्ने महसुस गरेपछि उनको व्यक्तित्व फेरिएको ठान्ने उनको सहयोद्धा पंक्ति छ।

नेपाल–भारतबीच सम्पन्न महाकाली सन्धिको यिनले खुलेर समर्थन गरे। यो समर्थनबाट राजनीतिक लाभ हुने देखेरै उनले यसलाई उपयोग गर्नु आवश्यक ठानेका थिए। यही सन्धिका कारण एमालेमा विभाजन पनि भयो। महाकाली सन्धि विरोधी खेमाको नेतृत्व एमालेका अर्का नेता बामदेव गौतमले लिएका थिए। अहिले तिनै गौतमसँग मिलेर उनले अध्यक्ष पदमा विजय हासिल गरेका छन्। तर, उनीमा पछिल्लो समयमा आएर भने विदेशी शक्तिहरूलाई नरिझाई सत्तामा पुग्न सकिन्न भन्ने भावना बलवान भएको महसुस गर्न सकिन्छ।

२०४६ सालको जनआन्दोलनपछि नेपाली राजनीतिक आकासमा ओलीको एउटा भिन्न चित्र थियो। पातलो र अग्लो ज्यान, चिरिच्याट्ट पारेर उखानटुक्का हालेर गर्ने उनका भाषणले उनलाई एउटा रोचक नेताका रूपमा स्थापित गर्दै ल्यायो। उनका रमाइलाई भाषण प्रसंगहरूसहितका फेसबुक फ्यानपेजले पनि यही संकेत गर्छ। अखबारहरूले उनका चर्चित प्रसंगहरूलाई पानाका पाना भरेर सार्वजनिक रुपमा प्रस्तुत समेत गरेका छन्।

आर्थिकरूपमा विपन्न परिवारबाट आएका कारण उनी गरिब नागरिकप्रति संवेदनशील रहने गरेका थिए। यसलाई उनका धेरै साथीहरूले सकारात्मक पक्षका रूपमा चित्रण गर्छन्। तर, पछि उनीमा भित्र एउटा कुरा राख्ने र बाहिर अर्को व्यवहार गर्ने व्यक्तिका रूपमा परिवर्तन हुँदै गएको ठान्नेहरूको कमी छैन। मनमा इख राखेर काम गर्ने नकारात्मक प्रवृत्ति पनि उनीमा छ।

ओली खुला संगठक पनि होइनन्। यसमा उनको शारीरिक अवस्थाको पनि उत्तिकै भूभिका छ। जेलमा बस्दा पनि उनी अल्सर, टिबीका बिरामी थिए। उनलाई जेलका साथीहरूले धेरै मेहनत गरेर बचाएका हुन्। तिनले उनको असाध्यै धेरै सेवासुश्रुषा गरेका छन्। केही वर्षयता उनी मिर्गौलाका बिरामी भई त्यसको प्रत्यारोपण गरेपछि झनै संगठकको रुपमा उनले काम गर्न सकेका छैनन्।

उनका निम्ति स्वास्थ्य सधैं प्रतिकूल छ। यही प्रतिकूलताले पनि उनलाई कोठेनेता बन्नुपर्ने अवस्थामा पु¥याएको छ। तैपनि उनले ती प्रतिकूलताहरूलाई चिरेर अघि बढ्ने काम गर्दै आएका छन्। प्रतिकूल स्वास्थ्य हुँदा पनि राजनीतिमा निरन्तर सक्रिय हुनुलाई भने उनको सकारात्मक पक्ष मानिन्छ।

जीवनमा रोगसँग गरेको संघर्षले उनलाई राजनीतिक संघर्षका निम्ति पनि तयार पा¥यो। विकसित मुलुकमा भएको भए रोगी नेताहरूलाई राजनीतिमा टिकाइराख्न सजिलो हुने थिएन। तर, हाम्रो समाज यसका निम्ति संवेदनशील हुन्छ र पदमा जानु हुँदैन पनि भन्दैन। बरू अध्यक्ष पदका प्रत्यासी नेपालले ‘केपी ओली राम्रा नेता हुन्, तर उनले कमजोर स्वास्थ्य भएका कारण आगामी महाधिवेशनमा अध्यक्ष पदको प्रत्यासी हुने छैनन्’ भन्ने अभिव्यक्ति आफ्नो गृहक्षेत्र रौतहटमा गएका बेला दिएका थिए। ओलीको स्वास्थ्यको प्रसंग नेपालले उठाउनु हुँदैनथ्यो भन्ने धेरैको आग्रह सुनिने गरेको थियो।

संसदीय दलमा पार्टी अध्यक्ष झलनाथ खनाललाई पराजित गरेर नेता बन्न सफल भएका ओलीले फेरि करिब ६ महिनामा अर्का प्रतिस्पर्धी नेता माधवकुमार नेपाललाई पराजित गरेर पार्टी नेतृत्व हातमा लिएका छन्। उनले आफ्ना यी पुराना दुई सहयोद्धालाई छ महिनाकै बीच परास्त गरेका छन्। दुबै पटकको निर्वाचनमा उनलाई थोरै मत अन्तरले यो सफलता हात लागेको छ।

यिनै ओलीले जनकपुरमा सम्पन्न पार्टीको सातौं महाधिवेशनमा पदाधिकारीहरूको व्यवस्था गर्न प्रस्ताव राखेका थिए। त्यो बेला पार्टी एकताका निम्ति भनेर उनलाई फरक मत राख्नबाट रोकिएको थियो। बुटवलमा सम्पन्न आठौं महाधिवेशनमा ओलीले राख्न खोजेको यही प्रस्ताव विधानमा समेटियो र पदाधिकारीको निर्वाचन भयो। अहिले नवौं महाधिवेशनमा गुटकै रूपमा नेताहरू यसमा उठे। पार्टीभित्र उपाध्यक्ष र उपमहासचिवहरूको एउटा बथान यस प्रावधानले खडा गरेको छ।

अहिलेका ओली हिजो जेलनेल भोगेका र दुःख पाएका भन्दा भिन्न छन्। यिनका पछाडि ‘ओली बा’ भन्दै पछि लाग्ने मसलदार मान्छेहरूको निकै ठूलो पंक्ति छ। ‘तिमीहरूलाई डन भन्छन् भने म सुपर डन हुँ’ भन्दै तिनलाई यिनले संरक्षण गर्ने प्रयास गरेका छन्। नेपाली राजनीतिमा मौलाएको यो डन संस्कृतिलाई मलजल गर्ने नेताको रूपमा ओलीको आलोचना हुने गरेको छ। डनहरूलाई संरक्षण गर्ने क्रममा उनी ‘एमाले यस्तो एउटा भट्टी हो, त्यहाँबाट सबै खारिएर निस्किन्छन्’ भन्दै तर्कको जलप लगाउने गर्छन्।

ओलीको सबैभन्दा राम्रो पक्ष भने आफ्ना कार्यकर्तालाई संरक्षण गर्नु हो। उनी आफूसँग आएका व्यक्तिहरूलाई कहिल्यै छोड्दैनन्। कार्यकर्ताको संरक्षण गर्न नसक्ने उनका सीपी मैनालीजस्ता धेरै नेताहरूको राजनीति समाप्त भएको उनले राम्ररी बुझेको अनुभव गर्न सकिन्छ।

ओलीले उच्च अध्ययन गर्न पाएनन्। उनले जेजति विषयमा आफैं अध्ययन गरे, त्यो आफैँमा अनुकरणीय छ। उनले परराष्ट्र मन्त्रीका रुपमा समेत सेवा गरे। यिनी आफैंले अध्ययन गरेर काम चलाउ हिसाबले अंग्रेजीमै व्यवहार पनि गरेका थिए। उनी गृहमन्त्री भएका बेला भूटानी मन्त्रीसँगको वार्तामा यिनले नेपालीमै वार्ता गरेर तिनलाई असजिलो पार्न समेत सफल भएका थिए।

उनले एउटा नक्कली विश्वविद्यालयले दिएको मानार्थ विद्यावारिधिलाई भने आफ्नो बायोडाटामा सगर्व प्रस्तुत गरेका छन्। ग्रिनफोर्ड इन्टरन्यासनल युनिभर्सिटीबाट राजनीति शास्त्रमा विद्यावारिधी प्राप्त गरेको उनले आफ्नो शैक्षिक योग्यतामा उल्लेख गरेका छन्, जब कि यो नक्कली विश्वविद्यालय भएको थाहा पाएपछि उनीसँगै यो उपाधि पाउने चर्चित कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले त्यहीबेला यसलाई फिर्ता गरिसकेका छन्। त्यो विश्वविद्यालयले आफ्नो क्रियाकलापसमेत नेपालबाट बन्द गरिसकेको छ।

संयोगले यो पंक्तिकारले नक्कली विद्यावारिधि दिने त्यो विश्वविद्यालयको बारेमा रिपोर्टिङ गरेपछि ओलीलाई त्यसबारेमा जानकारी दिँदा उनले आफू उसको प्रामाणिकताप्रति आश्वस्त भएको बताएका थिए। ‘मैले उसका सबै कागजात हेरेँ,’ उनले त्यो बेला भनेका थिए, ‘यो सक्कली नै हो।’

यो विश्वविद्यालयको मानार्थ विद्यावारिधि लिएकै कारण चर्चित लेखक खगेन्द्र संग्रौलाले उनलाई डा। ओली भनेर समेत बेलाबेलामा व्यंग्यात्मक शैलीमा लेख्ने गरेका छन्।

ओली अलोकप्रिय कुरा गर्न सक्छन्। एमाओवादीको चरम उग्रताका बेलामा यिनै ओलीले तिनका विरुद्धमा अभिव्यक्ति दिने गर्थे। त्यो बेलामा माओवादीलाई ओलीले जसरी आलोचना गर्ने नेताहरू विरलै थिए। तर, उनको यो प्रवृत्ति तिनीहरूसँग संवाद गर्ने र समस्या समाधानमा सहयोग गर्ने किसिमको भने पक्कै थिएन। यो उनले वाल्यकालदेखि नै हासिल गरेको नैसर्गिक व्यवहार पनि हो।

अध्यक्ष पदका प्रत्यासी नेपालको सरकार ढल्नुको पछाडि ओलीकै हात थियो। कांग्रेसले त्यो बेला सरकार नछोड्न निरन्तर आग्रह गरिरहेको थियो। तर, संविधानसभा विघटनको दोष तपाईंलाई लाग्छ भन्दै प्रदिप ज्ञवाली लगायतका नेताहरूले उनको नाकैमा औलो लगेर धम्क्याएपछि पनि उनले सरकार छोड्न वाध्य हुनु पर्‍यो।

मदन भण्डारीको रहस्यमय दुर्घटनाबाट मृत्यु भएपछि लामो समय सँगै रहेका ओली र नेपालको सम्बन्ध केही वर्षयता चिसिएको थियो। नेपाललाई पराजित गरेर ओलीले मीठो बदला लिएका छन्। आउने दिनमा यी दुई नेताबीचको सम्बन्धले ओलीको कामलाई सहज वा असहज बनाउन ठूलो भूमिका खेल्न सक्छ। आखिर पदाधिकारीमा नेपाल प्यानलबाट जित्नेहरूको पनि उल्लेख्य उपस्थिति छ।
# गुणराज लुईटेल