नेपाल बुद्धको जन्मभूमि होः नरेन्द्र मोदी

काठमाडौं– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको संविधान निर्माण प्रक्रियाको प्रशंसा गर्दै संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको भारतले सम्मान गर्ने बताएका छन् । दुई दिने नेपाल बसाइको पहिलो दिन व्यवस्थापिका–संसदलाई सम्बोधन गर्दै उनले नेपाल सार्वभौम मुलुक भएको उल्लेख गर्दै मोदीले भने, ‘भारत संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको सम्मान गर्छ ।’ नेपालको संविधान निर्माणको अभियान विश्वका लागि उदाहरणीय भएको भन्दै मोदीले उदाहरण सफल भए विश्वबाट हिंसाको अन्त्य हुने आशा व्यक्त गरे । उनले भने, ‘बुलेट छाडेर ब्यालेटमार्फत् संविधान लेख्ने नेपालको प्रयास सफल भए त्यसले विश्वमै हिंसा अन्त्य गर्नको लागि प्रेरणा दिनेछ ।’
उनले युद्ध छाडेर मूलधारको राजनीतिमा फर्किएको माओवादीतर्फ इंगित गर्दै सम्मान दर्शाए । ‘म युद्ध छाडेर बुद्धको बाटोमा हिड्ने नेपालीहरूको प्रशंसा गर्छु,’ उनले भने, ‘नेपालको संविधान यहाँको लागि मात्रै होइन, संसारकै लागि उदाहरण बन्नेछ ।’ नेपाल–भारत सम्बन्धलाई हिमाल र सागरजत्तिकै पुरानो भन्दै सम्बोधन सुरु गरेका मोदीले द्विदेशीय सम्बन्धलाई अझ प्रगाढ बनाउने प्रतिबद्धता व्यक्त गरे । नेपाल–भारत टेलिफोन महसुल घटाउन पहल गर्ने प्रतिबद्धता जनाए । उनले नेपालको सडक, पर्यटन र सूचना प्रवधिको लागि भारत सहयोग गर्न तयार रहेको जनाए । सवा अर्ब भारतीय भारतीय एक न एक पटक पशुपतिनाथको दर्शन गर्न आउने भन्दै उनले नेपालमा पर्यटन सम्भावना अपार रहेको औंल्याए । ‘एड्भेन्चर पर्यटनको लागि पनि नेपाल जत्तिको मुलुक अर्को छैन्,’ मोदीले भने, ‘नेपालले विश्वभरको पर्यटकलाई लोभ्याउन सक्छ ।’ 

भारतीय प्रधानमन्त्री मोदीले पटक–पटक नेपाल बुद्धको भूमि भएको दोहो¥याउँदै नेपालको संविधान लेखन प्रक्रिया सफल भए विश्वमै हिंसा अन्त्यको लागि प्रेरणा हुने बताए । ‘तपाईं सफल हुनुभयो भने संसारलाई शस्त्र छाड्न प्रेरणा मिल्नेछु,’ उनले भने । ‘नेपालमा जन्मेका बुद्धले मनको अँध्यारो हटाए । विचारको प्रकाश दिए । मानवलाई चेतना दिए,’ मोदीले भने, ‘सार्क सम्मेलनमा आउँदा जनकपुर र लुम्बिनी जानेछु ।’ अब बन्ने संविधानले नेपाललाई जोड्नुपर्ने मोदीको धारणा छ । उनले हरेक नेपालीको भावना संविधानमा समेट्न सुझाव दिए । संविधान लेखनमा सफलताको कामना गर्दै मोदीले भने, ‘बुद्धको भूमिमा उद्देश्य र विचारको कमी छैन् भन्ने कुरा मैले बुझेको छु ।’

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सम्बोधनको क्रममा नेपाल र नेपालीको खुलेर प्रशंसा गरे । मोदीले नेपालीमा सम्बोधन सुरु गरेका थिए । भारत र नेपालको सम्बन्ध हिमालय र गंगा जस्तै पुरानो रहेको भन्दै मोदीले नेपाली बहादुरहरूले रगत नबगाइ भारतले कुनै लडाइ नजितेको बताए । ‘हिन्दुस्तानले कुनै लडाइ जितेको छैन, जुन जितसँग कुनै नेपालीको रगत नबगेको होस्’ मोदीले यसोभन्दा सभासद्ले ताली बजाएका थिए । लगतै उनले भने– भारतको स्वाभिमान र रक्षाका लागि नेपालका बहादुरहरू मार्न र मर्न पछि परेनन्, आज म उनीहरूलाई अभिवादन गर्न चाहन्छु ।’ कुनै भारतीय सैनिकले म मृत्युसँग डराउँदिन भन्यो भने भने कि त उसले झुटो बोलेको हुने कि गोर्खा हुने भनेर भारतीय सेनाका फिल्ड मार्सनले आफूलाई भनेको मोदीले संसद्मा सुनाए । ‘उनी भन्थे, कोइ सेनाका जवाफ म मृत्युसँगै डराउँदिन मान्नुस् भन्यो भने या त उ झुट बोलिरहेको छ वा उ गोर्खा हो’ मोदीले भने– ‘यदि गोर्खाले म मृत्युसँग डराउँदिन भन्छ भने त्यो सत्य हो ।’

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले एमाओवादी अध्यक्ष प्रचण्डको नाम नलिइकन उनलाई अशोक सम्राटसँग तुलना गरे । ‘अशोक युद्ध छाडेर वुद्धको शरणमा गएका थिए । म तिनलाई बधाइ दिन चाहन्छु, जसले बुलेटको बाटो छाडेर ब्यालेटको बाटो लागेका छन्, युद्धदेखि बुद्धको बाटो लिएका मान्छे यहाँ छन् ।’ मोदीले एमाओवादी नेतालाई अशोक सम्राटसँग तुलना गर्दा व्यवस्थापिका संसद्मा रहेका एमाओवादी अध्यक्ष प्रचण्ड मख्ख परेका थिए । त्यसो त विगतमा प्रचण्ड आफैंले पनि कतिपय अवस्थामा आफूलाई आधुनिक बुद्ध बताउने गरेका थिए । भारतीय प्रधानमन्त्री मोदीले युद्धको बाटोबाट बुद्धको बाटोमा अनि शस्त्रको बाटोबाट शास्त्रको बाटोमा लागेका नेपाली नेताहरूले संविधान बनाएर सफलता प्राप्त गरे विश्वलाई हतियार छाड्न प्रेरणा मिल्ने बताए । आफ्नो संवोधनमा एमाओवादीलाई लक्षित गर्दै मोदीले भने– ‘दुनियाँको नजर तपाइँहरूतर्फ छ, किनभने संविधानको माध्यमबाट अघि बढ्ने काम नेपालको सफलताले विश्वलाई समेत शस्त्र छाड्ने प्रेरणा मिल्नेछ ।’

नयाँ संविधान ऋषि मनले बनाइनुपर्ने र हिमालदेखि तराईसम्म सबैको भावना जोड्नुपर्ने मोदीको प्रतिक्रिया थियो । ‘ऋषिहरू जस्तै तपाइँहरूले पनि धेरै परसम्मको हेर्न सक्नुहुनेछ भन्ने मलाई विश्वास छ,’ मोदीले भने, ‘तपाइँहरूले बताउने संविधान सयौं वर्षसम्मका लागि अझ आउँदा पीडिका लागि हुने मैले विश्वास गरेको छु ।’ उनले अब बन्ने संविधान समावेशी हुने विश्वास पनि व्यक्त गरे । ‘हर नेपाली नागरिक पहाड, तराई सबैको होस् । सर्वजन हिताय, सर्वजन सुखायका लागि संविधान बन्न भने मलाई विश्वास छ ।’ मोदीले थपे, ‘संविधानले जोड्छ, फुटाउँदैन ।’ संविधान निर्माणका बेला देखिने विवाद समाधान गर्न सभासद्हरू सक्षम रहेको भन्दै उनले प्रशंसा पनि गरे ।
प्रधानमन्त्री मोदीले भारतले नेपालमा कहिल्यै हस्तक्षेप नगर्ने बताए । ‘हाम्रो काम तपाईहरूको काममा दख्खल गर्ने होइन, तपाईहरूलाई दिशा दिने, मञ्जिलमा लाने हाम्रो काम होइन,’ मोदीले भने– ‘नेपाल सार्वभौम राष्ट्र हो । हिमालजतिकै उचाइ प्राप्त गरोस्, विश्व गौरवान्वित होस । यस्तो नेपाल हाम्रो इच्छा हो ।’ भावनात्मक एवं प्रभावी भाषण गरेका मोदीले भने– ‘बुद्धको भूमिमा विचारको कमी हुँदैन, इरादाको कमी हुँदैन र संकल्पको कमी हुँदैन भन्ने मलाई विश्वास छ । भारत र नेपालवी मित्रता रहोस् । अखण्ड नेपाल हिमाल भन्दा पनि उचाइमा उठोस् ।’