रोल्पामा क्रान्ति बाँकी छ र कमरेड ?

केशरमणि कटुवाल 
एक वर्षभित्रमा संविधान बनाउने कसम खाएर एक युगमा एक पटक हुने भनिएको संविधानसभाको दोस्रोपटक निर्वाचन गराएको १ वर्ष पुरा हुन लागेको छ । संविधानसभाको पहिलो बैठक बसेको मितिले आगामी माघ ८ गते नेपाली जनताले संविधान पाइसक्नुपर्नेछ । तर, यहाँका राजनीतिक दलको कछुवा गति हेर्दा यसपटक पनि निर्धारित समयमा जनताले संविधान पाउँदैनन् भन्ने सहज अनुमान लगाउन सकिन्छ ।

संविधान निर्माणको कार्यतालिका अनुसार संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिले आफ्नो प्रतिवेदन बुझाएर यतिबेला संविधानसभाबाट मस्यौदा समितिमा पुगि जनताको राय सुझावकालागि लगिनुपर्दथ्यो । तर, अझै संविधान निर्माणका क्रममा देखा परेका संघीयता, शासकीय स्वरुप, निर्वाचन प्रणाली, न्याय प्रणालीजस्ता महत्वपूर्ण विषयहरुमा सहमति जुट्न सकिरहेको छैन ।

विवादित विषयमा सहमति जुटाउने जिम्म पाएको संवाद समितिमा सत्तारुढ काँग्रेस एमालेले सहमतिका लागि भन्दै ७ प्रदेशको प्रस्ताव पेश गरेपछि दलहरुबीच उत्पन्न विवादले समितिको बैठक बस्नु त परको कुरा दलहरु अनौपचारिक छलफलमा समेत जुट्न सकेका छैनन् । अहिले विवाद ठिक त्यही पुगेको छ, जहाँ अघिल्लो संविधानसभाको घाँटी निमोठिएको थियो । दलहरु अहिले सहमतिको पहल छोडेर आ–आफ्नो डम्फु बजाउनमा व्यस्त देखिन्छन् ।

सत्तारुढ दलहरु संविधान निर्माणका लागि संविधानसभा बाहिर रहेका दलहरुलाई समेत सहमतिमा ल्याउनुपर्ने बेला विपक्षी दलहरुलाई समेत पत्रकार सम्मेलन गरेर धम्क्याइरहेका छन् भने विपक्षी एमाओवादी २२ दलको गठबन्धन नै बनाएर देशव्यापी जनसभा गरेर धम्क्याइरहेको छ । अहिले संविधान निर्माणका लागि कसले कति भूमिका निर्वाह गर्ने भन्दा पनि कसले कसलाई बढी धम्क्याउने भन्ने प्रतिस्पर्धा नै चलिरहेको छ । यसले दलहरु सहमतिका लागि गम्भीर छैनन् भन्ने कुरा दिनको घाम जस्तै छर्लङ्ग भएको छ ।

दुई तिहाई बहुमतले नै विपक्षी दलहरुलाई पेलेर भएपनि संविधान बनाउँछौं भन्ने काग्रेस एमालेको चिन्तन र त्यसबाट त्रसित भएका विपक्षीहरु सहमति गर्नबाट पन्छिइरहेका छन् । एमाओवादी मोर्चाले पछिल्लो समयमा विभिन्न स्थानमा गरेका आमसभा र काँग्रेस एमालेले राजधानीमा कात्तिक २३ गते गरेको पत्रकार सम्मेलन त्यसैको ज्वलन्त उदाहरण हुन् ।

यसै सिलसिलामा एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नयाँ संविधान निर्माणका लागि शक्ति आर्जन गर्न भन्दै रौल्पातिर लागेका छन् । राष्ट्रिय सहमति कायम गरी संविधान दिनका लागि विस्तृत शान्ति सम्झौताको हस्ताक्षरकर्ताको नाताले आफ्नो भूमिका रहेको बताउने प्रचण्ड अहिले किन त्यही राष्ट्रिय सहमति गर्न छोडेर रोल्पातिर हान्निदै छन् रु यदी राष्ट्रिय सहमति नै चाहेको भए राजधानीमा बसेर सहमति जुटाउन किन सम्भव भएन रु होइन, संविधानका लागि शक्ति नै चाहिएको हो भने पूर्व मेचीदेखि मध्य तराईसम्म आईपुग्दा किन शक्ति आर्जन हुन सकेन रु यो गम्भीर प्रश्न हो एमाओवादी, उसले नेतृत्व गरेको २२ दलीय मोर्चा र माओवादी विचारधारालाई ग्रहण गर्ने सबै पार्टीहरुलाई पनि ।

राष्ट्रिय सहमति कायम गरी संविधान दिनका लागि विस्तृत शान्ति सम्झौताको हस्ताक्षरकर्ताको नाताले आफ्नो भूमिका रहेको बताउने प्रचण्ड अहिले किन त्यही राष्ट्रिय सहमति गर्न छोडेर रोल्पातिर हान्निदै छन् रु यदी राष्ट्रिय सहमति नै चाहेको भए राजधानीमा बसेर सहमति जुटाउन किन सम्भव भएन रु होइन, संविधानका लागि शक्ति नै चाहिएको हो भने पूर्व मेचीदेखि मध्य तराईसम्म आईपुग्दा किन शक्ति आर्जन हुन सकेन रु यो गम्भीर प्रश्न हो एमाओवादी, उसले नेतृत्व गरेको २२ दलीय मोर्चा र माओवादी विचारधारालाई ग्रहण गर्ने सबै पार्टीहरुलाई पनि ।

अहिले रोल्पामात्रै होइन, झापादेखि कैलालीसम्म, ताप्लेजुङदेखि दार्जुला सम्म र हिमालदेखि तराईसम्मका सबै जनताको एउटै चाहाना हो, देशमा शान्ति, स्थायित्व र अमनचयन । यसमा तलमाथि गरेर देशलाई अनिर्णयको बन्दी बनाउने अधिकार कसैलाई पनि छैन । नेपालमा आमूल परिवर्तनका नारा दिएर गरिएको जनयुद्धमा रोल्पाले ठूलो बलिदान गर्‍यो तर आज कतिपय नेताहरुलाई त्यही रोल्पा देखाएर धर्काउने माध्यम बन्न थालेको छ । त्यसो भए तपाई आफैं उत्तर खोज्नुहोस् तपाईलाई ताप्लेजुङदेखि दार्चुलासम्म र झापादेखि कैलाली सम्मका जनताले किन त्यहीमात्रामा साथ दिएनन् रु १५ औं हजारको बलिदानी भएको १० वर्षे जनयुद्धको सुप्रिम कमाण्डर कमरेड प्रचण्ड अहिले किन देशभरीबाट शक्ति आर्जन गर्न सक्नुभएन रु त्यसमा कतै तपाई आफ्नै कमजोरी त छैन, अनी आज रोल्पालाई मात्रै आफ्नो सुरक्षित ठाउँ सम्झिनुभएको त हैन रु हैन भने आफैले रोजेको संसदवादी फोहोरी आहालमा पसेपछि त्यसलाई पार लगाउने हिम्मत गर्नैपर्छ ।

त्यो रोल्पाबाट मात्रै सम्झव छैन । रोल्पाले आफ्नो एउटा महत्वपूर्ण अभिभारा पुरा गरिसक्यो अब उसलाई विश्रामको आवश्यकता छ । चहर्‍याएका घाउमा  मल्हम पट्टी लगाउनुपर्ने छ । घाइते, अपांग वेपत्ता र अंगभंग भएकाका परिवारलाई नाना, दाना र छानाको आवश्यकता छ, तपाईको फुस्रो आश्वासनको मात्रै होइन । नेपालको परिवर्तनकारी आन्दोलनमा भीमदत्त पन्तदेखि रन्तकुमार वान्तावा हुँदै, छिन्ताङ्ग हत्याकाण्ड र माओवादी जनयुद्धमा मारिएका १५ औं हजार वीर विरंगनाहरुका परिवारको आजको वास्तविक अवस्था आज के छ रु तिनीहरुको घाउमा सबैभन्दा पहिले मल्हमपट्टी लगाएर मात्रै शक्ति आर्जन हुनसक्छ अन्यथा मुखले मात्रै गरिने शक्ति आर्जनले नेपालमा परिवर्तन संस्थागत हुन सक्दैन, न त प्रतिगामीहरुको सल्बलाहटलाई रोक्ने तागत नै आउँछ ।

आज नेपालको माओवादी आन्दोलन जुन ठाउँमा आएर अकर्मन्यतामा फसेको छ त्यो आफैले निम्त्याएको भड्खालो हो । प्रचण्ड कमरेड, आज तपाईलाई कुनै न कुनै ठाउँमा बाटो बिराएको जस्तो लाग्दैन रु २०६८ को चैत्र २८ लाई सम्झिनुहोस् त, तपाई आफैंले तपाईलाई जनयुद्धभरी पहरा दिने जनसेनालाई मध्यरातमा कब्जा गराएको, अनी २ लाख, तीन लाख, पाँच लाखका पोका बोकेर घर फर्किएका जनसेनाहरु आफ्नै कमाण्डरहरुबाट बाटोमै लुटिएको ।

जुन तागत र शक्तिले जनयुद्ध लडिएको थियो, ती इमान्दार कार्यकर्ता र जनसेनाका जवानहरु आज छोराछोरीलाई भोटो, श्रीमतीलाई फरियाँ र बाबुआमालाई कमिज फेरिदिनका लागि तपाईको साम्यवादको सपना होइन माओवादी आन्दोलनले दिएको चरम निराशा र कुण्डा र पीढा बोकेर साउदी, कतार, दुवई, मलेसियामाजस्ता खाडी मुलुकमा मजदुरी गरिरहेका छन् । शक्ति आर्जन गर्न त्यता जाने कि नजाने रु

अन्त्यमा, माओवादी आन्दोलन कुनै व्यक्तिवाद, भैंसीपुजा, उग्रवादी भड्काव र दक्षिणपन्थी संशोधनवादका निम्ति थिएन नेपाल र नेपाली जनताको राज्यसत्ता र सिंगो मानवजातिको उन्नतिको लागि थालिएको महान् अभिनयान पनि थियो । तपाईले नै जनयुद्धपूर्व लेखेको दस्तावजेनको शब्दलाई सापट लिने हो भने एक पटक उठाएको बन्दुक उद्देश्य पुरा नहुदै बिसाएमा त्यो जनताप्रतिको धोखा, बेइमानी, गद्दारी र अपराध हो । त्यो अपराध त भइ नै सक्यो । त्यसमाथि पनि माओवादी आन्दोलनलाई उग्रवामपन्थी भड्काव र दक्षिणपन्थी अवसरवादबाट बचाएर एकताबद्ध गरी क्रान्तिकारी पार्टी निर्माण गर्दै क्रान्तिको बाँकी कार्यभार पुरा गर्ने काम पनि पुरा हुन सकेन र छिन्नभिन्न भएर आ आफ्नै चुला चौका बनाउने काम भए ।

यसले न त क्रान्तिलाई सेवा गरेको छ, न त छिन्नभिन्न टुक्राहरुबाट क्रान्ति पुरा हुने आशा नै गर्ने प्रशस्त ठाउँ छ । शान्ति प्रक्रियाका नाममा जसरी आफूलाई इमान्दार देखाउन आफ्ना सबै साधनहरुलाई निष्कृय बनाउने जुन काम भयो त्यहीबाट नै शक्ति क्षीण बनेको हो, अब शक्ति आर्जन गर्ने ठाउँपनि त्यहीबाट खोज्न जरुरी छ । अब स्पष्ट शब्दमा भन्ने हो भने अबको बाटो शान्ति र संविधानको होकी नयाँ विद्रोहको हो, त्यसलाई निक्र्यौल गर्दै विगतमा जनतासँग गरेका बाचाहरु र सहिद घाइते अपांग, बेपत्ता र अंगभंग भएकाका परिवारका घाउमा मल्हम लगाउँदै माओवादी आन्दोलनलाई एकताबद्ध गर्न जरुरी छ । त्यहाँबाट प्राप्त हुन्छ शान्ति प्रक्रिया र संविधान निर्माणलाई निष्कर्षमा पुर्‍याउने शक्ति ।

विगतमा बाक्लो दाल खान बनाइएका चुलाहरुलाई भत्काएर एउटै धुनी जगाऔं अनी प्राप्त हुन्छ शक्ति र उज्यालो । सबैलाई एकीकृत र संगठित बनाउँदै, विकार र फोहोरहरु, अवसरवादी, इतिहासको ब्याज खान पल्केका चोर बिरालाहरु, सिंगो माओवादी आन्दोलनमा पैदा भएका ठेकेदार र दलाललाई पन्छाएर फेरिपनि इमान्दार, कर्तव्यनिष्टहरुलाई जिम्मेवारी दिने संस्कारको विकास गर्नुहोस्, त्यसले दिनेछ उर्जा । माओवादीले जुन संसदवादी बाटोमा पाइला राखेको छ त्यहाँ दह्रोसँग टेकेर निकासको बाटो खोज्नुहोस्, अन्यथा पुर्पुरोमा हात राखेर बस्नुको विकल्प छैन ।