ड्यास माओवादीपछि फुटने पालो राप्रपा नेपालको

काठमाडौं । एकीकृत माओवादीबाट सम्बन्ध विच्छेद गर्दै पुर्नगठित भएको नेकपा–ड्यास माओवादी विभाजित भएलगत्तै राप्रपा नेपालमा पनि फाटो आउने भएको छ । अध्यक्ष कमल थापाको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै पार्टी सुद्धिकरण अभियान चलाउँदै आएको राप्रपा नेपालको पद्मसुन्दर लावती समुह अलग पार्टी गठनको अभियानमा जुटेको छ ।

अध्यक्ष थापाले संवैधानिक राजतन्त्र र हिन्दु राष्ट्रको मूल मुद्दामा सम्झौता गर्ने संकेत देखाएको लावती पक्षले जनाएको छ । लचकताको बहानामा पार्टीको सैद्धान्तिक धरोहरलाई लिएर संझौता गर्न नहुने भन्दै सो पक्षले कार्यकर्ताको भवनापनि त्यही भएको दाबी गरेको छ । पार्टीलाई सैद्धान्तिक विचलनको खतराबाट सुरक्षित राख्नुपर्ने आम कार्यकर्ताको ठहर रहेको उल्लेख गर्दै लावतीले संविधान निर्माणको क्रममा लचकता अपनाउने र कतै अवरोध सावित नहुने भन्ने पार्टी नेतृत्वको पछिल्लो अभिव्यक्तिबाट जिल्ला जिल्लामा कार्यकर्ता सशंकित बनेको बताए । राप्रपा नेपाल सुद्धिकरण अभियानको तर्फबाट कपिलवस्तु, रुपन्देही, चितवन, रौतहट र सर्लाही जिल्लाहरुमा कार्यकर्ता भेटभाट र अन्तरक्रिया सम्पन्न गरेर काठमाडौं फर्किएको छ । कुनै व्यक्ति विशेष नभएर सिद्धान्तका कारण राप्रपा नेपालमा समाहित भएको र नेतृत्वले पार्टीको मूल एजेण्डा कतै त्याग्न नहुनेमा कार्यकर्ताहरुको जोड रहेको उनको भनाई छ । राप्रपा नेपाल सुद्दृढीकरण अभियानले आगामी मंसिर ५ र ६ गते काठमाडौंमा राष्ट्रिय भेला बोलाएको छ ।