दिदी बहिनी खोज्दै रानीपोखरी
नारायण पंगेनी
काठमाडौ, ३० कार्तिक । हिन्दु नेपालीहरुको दोस्रो ठुलो चाड तिहारको अन्तिम दिन विहिवार दिदीबहिनीले आफ्ना दाजुभाइको सुख, समृद्धि एवम् दीर्घायुको कामना गर्दै निधार सप्तरंगी टीका लगाई दिएर भाइटीका मनाए । विहिवार विहान ११ बजेर २३ मिनेटको उत्तम साइतमा दिदी बहिनीहरुले आफ्ना दाजुभाईहरुको निधारमा सप्तरंगी टिका लगाई दिए । तर दिदी बहिनी नहुनेहरु भने विहानैदेखि दिदीबहिनी खोज्दै रानीपोखरी पुगे । रानीपोखरीको मन्दिरमा पुगेपछि भने थुप्रै दिदी बहिनीहरु भेटिए ।
तत्कालिन मल्लकालिन राजा प्रताप मल्लले काठमाडौको रानीपोखरी बीचमा निर्माण गरेको यमलेश्वर महादेवको मन्दिरमा दिदी बहिनी नहुनेहरुले आएर भाइटीका लगाउने प्रचलन भएको गर्दा आफू विहानै मन्दिर आएको काठमाडौको जोरपाटीका मदन गौतमले बताए ।
मदन गौतम जस्तै दाजुभाई तथा दिदी बहिनी नहुनेहरुले वर्षको एक दिन भाइटीकाकै दिन मात्रै खुल्ने रानीपोखरीको यमलेश्वर मन्दिरमा आएर टिका लगाए । सांस्कृतिक परम्पराहरुको देखासिखी गर्दै आफू पनि टिका लगाउन आएको काठमाडौमा प्राध्यापन पेशा अंगाल्दै आएका बाराका योगेन्द्रप्रसाद शाहको भनाई छ ।
भाइटीका लगाई दिनु अघि दिदीबहिनीले यमराजको पूजा गरी आफ्ना दाजुभाइलाई धार्मिक विधिअनुसारको मण्डप बनाएर अष्टचिरञ्जीवीको पूजाका साथ त्यसमा कहिल्यै नसुक्ने तेलको घेरा लगाई नओइलाउने दुबो, मखमली र सयपत्री फूलको माला, सप्तरङगी टीका लगाइदिएर दिर्घायुको कामना गर्ने गर्दछन् । भाइटीकामा दिदीबहिनीले आफ्ना दाजुभाइलाई मिठाइ, फलफूल, ओखर, कटुस र मसलाका साथै सेलरोटी दिने तथा दाजुभाइले आफ्नो गच्छे अनुसारको दक्षिणा तथा उपहार दिने प्रचलन रहि आएको छ ।
भाइटीकाको दिन विहिवार विहान ५ बजेदेखि खुलेको यमलेश्वर मन्दिरमा भाइटीका लगाइदिने दिदीबहिनीहरु लस्करै देखिन्थे । दिदी बहिनी नहुनेहरुलाई भाइटीका लगाईदिन पाउदा खुशी लाग्ने भएकैले गर्दा सानैदेखि नै यो मन्दिरमा भाइटीका लगाइदिने गरेको रविना कपाली बताउछिन् । हुन त दाजुभाई नहुने दिदी बहिनीहरुले भाइटीका लगाइदिने भएपनि दाजुभाई नहुने दिदी बहिनीहरु मात्र होइन, दाजु भाइ भएका दिदी बहिनीहरुले पनि मन्दिरमा आएकाहरुलाई भाइटीका लगाइदिने गर्दछन् । दिदीबहिनी नहुनेहरु भाईटीका लगाएपछि भावुक हुने गरेको कपाली बताउछिन । भाइटीका लगाएकाहरुले धेरै वर्ष पछि पनि फोटो ल्याएर भेट्ने समेत गरेको उनी बताछिन् ।
तिहार हिन्दु नेपालीहरुको दोस्रो ठूलो चाड हो । तिहारमा भाइटीका गरिनुका साथै दीपावली गर्ने तथा देउसी भैलो खेल्ने जस्ता चलनले गर्दा पनि तिहारको रौनक छुट्टै देखिन्छ । तर तिहारकै अवसरमा जुवातास खेल्ने जस्ता विकृतिहरु पनि उत्तिकै छन् । त्यसैले संस्कृतिलाई बचाई राख्नु उचित भएपनि विकृतिहरुलाई हटाउदै जानु अपरिहार्य छ ।
