‘सहकारी सवैको छहारी बन्नु पर्ने’

नारायण पंगेनी
नेपालमा झण्डै २७ हजार सहकारी संस्थाहरु रहेका छन् । जसमध्ये वचत तथा ऋण सहकारी संस्था मात्रै ११ हजार ५ सय ९५ वटा छ  भने ४ हजार १ सय ५ वटा बहुउद्देश्यीय सहकारी संस्थाहरु रहेका छन् । तर पनि सहकारी सवै नेपालीको एउटै छहारी भने बन्न सकिरहेको छैन ।

आर्थिक विकाशको मेरुदण्ड मानिने र वर्तमान अवस्थामा सहकारीको आश्यकता महशुश गरिएपनि सहकारीलाई हेर्ने दृष्टिकोणमा नै समस्या रहेको राष्ट्रिय सहकारी संघका अध्यक्ष केशव बडालको बुझाई छ । 

राज्य, सहकारी र निजी क्षेत्र एक आपसका प्रतिष्पर्धी होइनन् र हुनु पनि हुदैन । तर सहकारी क्षेत्रमा राज्यले गर्ने लगानी प्रति नीजि क्षेत्र ससंकित हुने र कुनै पनि निजी संस्थालाई करोडौं लगानी गर्न राज्य तत्पर देखिने अवस्था दुःखदायी हो । सहकारीलाई अर्थतन्त्रको बलियो खम्बाको रुपमा अघि सार्नुपर्ने आवश्यकता छ । नेपाल राष्ट्र वैंकका गर्भनर डा युवराज खतिवडा सहकारीलाई अर्थतन्त्रको बलियो खम्बाको रुपमा अघि सार्दा नीजि क्षेत्र दुखित हुन नहुने बताउछन् ।

सरकारले सहकारीलाई प्राथमिकता दिने खालका नाराहरु अगाडी नसारेको पनि होइन । गाउ गाउमा सहकारी घर घरमा भकारीको नारा अगाडी सार्दै तत्कालिन सरकारले प्रत्येक गाविसमा एक सहकारीको नीति अगाडी सा¥यो । सोही नीति अनुसार प्रत्येक गाविसमा सुपथ मूल्यको सहकारी पसल सञ्चालन गर्न सरकारी अनुदान समेत प्राप्त भयो । तर सुपथ मूल्यका सहकारी पसलहरु स्थानिय राजनीतिक दलका नेताहरुको मागि खाने भाडो बन्न पुग्यो र सुपथ मूल्यका पसलहरु धारासायी बन्दै गयो । त्यसैले सहकारीको भिड जम्मा गर्नु भन्दा पनि यसको नतिजा देखाउनु आवश्यक छ । सहकारी विभागका रजिष्ट्रार केदार न्यौपानेले सहकारीको उचित नतिजा देखाउनु पर्ने बेला आएको बताउँछन् । 

विभिन्न विषयका प्रारम्भिक सहकारी संस्थाहरु मध्ये १ सय ६३ वटा विभिन्न विषयका विषयगत संघ, ६८ वटा जिल्ला सहकारी संघ, १६ वटा विषयगत केन्द्रीय सहकारी संघ, २९ वटा शाखाहरुसहित एक राष्ट्रिय सहकारी बैंक, ३८ जिल्लामा डिभिजन सहकारी संस्था र आम सहकारीकर्मीहरुको छाता संगठन राष्ट्रिय सहकारी संघ क्रियाशिल छ । राष्ट्रिय सहकारी वैंकका प्रवन्धक तथा काठमाडौ जिल्ला सहकारी संघका अध्यक्ष डा. केवी उप्रेती सहकारीको संख्यात्मक विकाश द्रुत गतिमा भइरहेकोले गुणात्मक वृद्धि हुनु पर्ने आवश्यकता औल्याउँछन् ।  

सहकारीमा कुल ३८ लाख सदस्यहरुको आबद्धता रहेको छ । जसमा महिलाहरुको सहभागिता ४२ प्रतिशतभन्दा बढी रहेको देखिन्छ । सहकारी अभियानका अभियन्ताहरुले युरोपबाट थालेको सहकारी आन्दोलनकै कारण युरोपले आर्थिक विकाशमा छलाङ् मारिरहेको छ । नेपालमा भने २०१० सालमा सहकारी विभागको कार्यालय स्थापना भएपछि २०१३ चैत्र २० गते चितवनमा पहिलो पटक बखान सहकारी संस्था दर्ता भएको थियो । सोही दिनलाई नै राष्ट्रिय सहकारी दिवसका रुपमा मनाईदै आएको छ । अहिले ५६ औं राष्ट्रिय सहकारी दिवस मनाईदै गर्दा सरकारले वास्तविक रुपमा सहकारीको मर्मलाई बुझ्न सकेको देखिदैन भने सहकारीको नाम भजाएर ठडी धन्दा मच्चाईएको छ । केही दिन अघि मात्रै सरकारले जारी गरेको ‘राष्ट्रिय सहकारी नीति २०६९’ लाई सहकारीकर्मीहरुले कागजको खोष्टो मात्र भएको टिप्पणी गरिसकेका छन् । 

नेपालमा मात्र होइन, सहकारीको महत्व विश्वभरी नै बढ्दै गएको छ । यही महत्वकै कारण संयुक्त राष्ट संघले सन् २०१२ लाई अन्तर्राष्टिय सहकारी वर्षको घोषणा गरेको थियो । तर ‘अन्तर्राष्टिय सहकारी वर्ष २०१२’ केवल औपचारिकतामा मात्र सिमित हुन पुग्यो । त्यसैले नारामा मात्र होइन, कार्यान्वयमा ल्याउनको लागि सरकारको तत्परता र सहकारीकर्मीहरुले पनि सहकारीको वास्तविक मर्मलाई बुझ्न जरुरी छ । अन्यथा ५६ औं राष्टिय सहकारी दिवस पनि केवल औपचारिकतामा सीमित हुनेछ ।