शान्ति र संविधानका लागि सरकार र पार्टी त्याग्न तयारः प्रम खनाल

गुल्मी ४ वैशाख । प्रधानमन्त्री झलनाथ खनालले शान्ति र संविधानका लागि आफूले सरकार र एमाले पार्टी समेत त्याग्न तयार रहेको बताउनु भएको छ ।
आइतवार गुल्मीको सदरमुकाम तम्घासमा प्रथम गुल्मी महोत्सवको उद्घाटन गर्दै प्रधानमन्त्री खनालले शान्ति र संविधान निर्माणका लागि सरकार र आफ्नो पार्टी त्याग गर्न तयार रहेपनि आफुहरु शान्ति र संविधान त्याग्न तयार नरहेको बताउनुभयो ।
एमालेका वरिष्ठ नेता केपी ओलीले माओवादीलाई गृहमन्त्री दिए खनाललाई प्रधानमन्त्री र पाटी अध्यक्ष दुवै पद खोस्ने भनिरहेका वेला प्रधानमन्त्री खनालले शान्ति र संविधानको लागि आफूले जुनसुकै त्याग गर्न तयार रहेको बताउनुभयो ।
शान्ति र संविधानलाई नै अर्जुनदृष्ट्रि बनाएर आफु सरकारमा गएको भन्दै उहाले आफु त्यो अर्जुन दृष्ट्रिबाट पछाडी नहटेको बताउनुभयो । संविधान निर्माणका लागि समय लाग्ने भन्दै प्रधानमन्त्री खनालले जेठ १४ मा संविधान नबन्ने संकेत गर्नुभयो ।
प्रधानमन्त्री खनालले वर्तमान सरकारले आगामी चार वर्षमा देशलाई लोड सेडिङमुक्त वनाउने दावि समेत गर्नुभयो । तोकिएको मितिमा संविधान बन्न नसकेपनि संसद विघटन भने नहुने उहाको भनाई छ ।
यसअघि नेपाल पत्रकार महासंघले आयोजना गरॆको पत्रकार सम्मेलनमा बोल्दै प्रधानमन्त्री खनालले गृह मन्त्रालय अन्य दलको छलफल र सहमति पछि मात्रै माओवादीलाई दिने बताउनुभयो ।
प्रधानमन्त्री खनालले एमालेका बरिष्ट नेता केपी ओलीले प्रधानमन्त्रीलाई कारवाही गर्ने भनी दिएको अभिब्यक्ती जनआन्दोलनबाट प्राप्त स्वतन्त्रता भएको भएको टिप्पणी गर्नुभयो ।
उहाले मुलुक संक्रमणकालीन अवस्थामा रहेको भन्दै ठुला राजनीतिक दलहरुमा देखिएको समस्या त्यसकै उपज भएको बताउनुभयो ।