को हुन् कोइरालामाथि आक्रमण गर्ने काँग्रेस कार्यकर्ता ? (भिडियो सहित)

को हुन् कोइरालामाथि आक्रमण गर्ने काँग्रेस कार्यकर्ता ? (भिडियो सहित)

नेपाली काँग्रेसका सभापति सुशील कोइरालामाथि काठमाडौको कपनमा आफ्नै कार्यकर्ताले आक्रमण गरेका छन् । आक्रमणका क्रममा सभापति कोइरालालाई जोगाउँदा काँग्रेसका तीन जना कार्यकर्ता घाइते भएका छन् । ती मध्ये दुई जनालाई गम्भीर चोट लागेको छ ।
पार्टीको काठमाण्डौ क्षेत्र नम्बर ४ को अधिवेशन चलिरहेका बेला मञ्चमै पुगेर काँग्रेस कार्यकर्ता प्रवेश बस्नेतले झ्यालको फ्रेमले कोइराला माथि आक्रमण गरेका हुन् । कार्यकर्ताले जोगाउँदा जोगाउँदै पनि सभापति कोइरालाको कुममा लागेको छ भने कोइराला माथिको रोक्दा क्षेत्रीय सचिव नर्मदा पोखरेल र श्यामकृष्ण संगतको टाउकोमा गम्भीर चोट लागेको छ ।
ओम अस्पतालमा उपचार गराइरहेका संगतको टाउकोमा १४ वटा र नर्मदा पोखरेलको टाउकोमा २ वटा टाँका लगाइएको छ । अर्की घाईते मीना पराजुली भने सामान्य उपचार पछि घर फर्केको नेविसंघकी नेतृ प्रतिमा सिलवालले जानकारी दिनुभयो ।  
आसन नगराएको भन्दै आक्रमण!
आफूलाइ आसन नगराएको भन्दै उनले आक्रमण गरेको स्रोतले जनाएको छ । अतिथिहरुलाइ खादा ओढाउने क्रममा बस्नेतले एक्कासी आक्रमण गरेका थिए । महामन्त्री कृष्ण प्रसाद सिटौला र प्रकाशमान सिंह लगायतका काँग्रेसका कार्यकर्ताहरुले बस्नेतलाई रोके लगे लगत्तै काँग्रेस कार्यकर्ताले बस्नेतलाइ कार्यक्रम स्थलमै कुटपीट गरेका थिए ।
बस्नेतलाई कुटपीटबाट जोगाउन गगन थापा लगायतका अरु काँग्रेस नेता कार्यकर्ता र प्रहरीलाइ हम्मेहम्मे परेको थियो ।
कुटपीटबाट गम्भीर घाइते भएपछि प्रहरीको जिम्मा लगाइएका बस्नेतको पनि काठमाडौं मेडिकल कलेजमा उपचार भैरहेको छ ।
को हुन् बस्नेत?
बस्नेत नेपाली काँग्रेसका पूर्व सांसद पुरुषोत्तम बस्नेतका भतिजा हुन् । उनले नेविसंघको क्षेत्रीयमा बसेर काम गरी सकेका छन् ।
यसैबीच काँग्रेस काठमाण्डौ, चार नंबर क्षेत्रीय समितिले बस्नेतलाइ पार्टीको सदस्यबाट निकाल्ने सिफारिस गर्नुका साथै छानवीन गर्न पाँच सदस्यीय समिति बनाएको छ ।
घटनापछि सभापति सुशील कोइरालाले घट्ना सुनियोजित नभइ संक्रमणकालको परिणाम भएको प्रतिक्रिया दिनुभयो ।
पहिलेपनि
यसअघि नेकपा एमालेका अध्यक्ष झलनाथ खनाललाई सुनसरीका आफ्नै कार्यकर्ता देवी रेग्मी र एकीकृत माओवादीका पूर्व सभाषद झक्कु सुवेदीलाइ गालामा थप्पड हानेका थिए ।