दहाललाई झापड हान्ने पदमका बा काठमाडौं आए

काठमाडौ, ७  मंसिर - माओवादी अध्यक्ष पुष्पकमल दहाललाई झापड हान्ने पदम कुँवरका बुवा प्रेमबहादुर मानसिक सन्तुलन गुमाएकी पत्नी हरिकुमारीलाई 'बाग्लुङ जान्छु' भन्दै झुक्याएर छोरो भेट्न बिहीबार काठमाडौं आइपुगेका छन् ।

२५ वषर्ीय पदमलाई भेट्न छोरीज्वाइँ भीम भारतीका साथ बिहीबार बेलुकी हनुमानढोका पुगेका उनले छोरालाई भेट्न पाएनन् । 'प्रचण्ड कुँवरलाई भेट्न आउनुभएको हो ?' हनुमानढोकामा बिहीबार साँझ उनलाई एक सईले व्यंग्य शैलीमा भने, 'उहाँलाई शुक्रबार मात्रै यहाँ राखेका थियौं, अहिले दुई नम्बर गण महाराजगन्जमा लगिएको छ, भोलि १० बजे उतै जानुहोला ।'

छोरालाई भेटेपछि प्रचण्डलाई पनि भेट्ने योजना बनाएका प्रेमबहादुर तीन दिनअघि काठमाडौंका लागि बाग्लुङको राजकोटबाट हिँडेका थिए । 'मेरो छोरो कसैको लहडमा लाग्ने खालको होइन,' ५९ वषर्ीय प्रेमबहादुरले भने, 'घरको कहालीलाग्दो अवस्थाले उसले नगर्नुपर्ने काम गर्‍यो ।' तर, छोराको ओठ काटिने र नाक भाँचिने गरी कुटिएको घटनाले उनी दुखी छन् । 'मेरो छोराले त गल्ती गरिहालेको थियो, त्यसपछि उसलाई कानुनले तोकेअनुसार कारबाही गरिनुपथ्र्यो, सोत्तर हुने गरी सारा देश उभिएको ठाउँमा प्रचण्डजीका कार्यकर्ताले कानुनमाथि उभिएर पदमलाई कुट्नु भनेको कुकुरलाई टोक्नुसरह हो,' छिमेकीहरूसँग सापटी खर्च मागेर बुर्तिवाङबाट रात्रिबस चढेर बिहीबार बिहान राजधानी छिरेका उनले भने ।

७ वर्षको सेवापछि २०३७ सालमा नेपाली सेनाबाट स्वैच्छिक अवकाश लिएका प्रेमबहादुरले छोराबारे ५६ वषर्ीया पत्नी हरिकुमारीलाई बताएका छैनन् रे । 'द्वन्द्वकालदेखि मानसिक सन्तुलन गुमाएकी श्रीमतीलाई अहिलेसम्म घटनाबारे भनेको छैन, पार्टीको काम छ, बाग्लुङसम्म पुगेर आउँछु भनेर आएको हुँ,' उनले भने । आफू कम्युनिस्ट भएकै कारण पञ्चायतकालमा घर लुटिएको स्मरण गर्दै उनले माओवादी युद्धकालभरि पनि आफूले दुःख पाएको बताए ।

'एकातिर कम्युनिस्ट विचारधारा बोकेको र अर्कोतिर सेनाको जागिरे भएकै कारण जनयुद्धभर तारिख खेपें,' ७ सन्तानका बाबु उनले थपे, 'मैले भोगेको दुःख देखेर दुई सन्तान माओवादीमा पूर्णकालीन सदस्य भई भूमिगत भए । यी सबै घटनाका कारण सेना र प्रहरीले घर कुरेर बस्ने मेरी बुढियालाई वर्षौंसम्म दुव्र्यवहार गरिरहे । अहिले ऊ कम्ब्याट पोसाक देख्यो कि मूच्र्छा पर्छे, मानसिक अवस्था अझै उस्तै छ ।' सशस्त्र युद्धका बेला माओवादी प्रवेश गरेकी माइली छोरी प्रतिमा र साइँला छोरा टेकबहादुरका कारण सुरक्षाकर्मीले दिएको मानसिक तनावले पत्नी हरिकुमारीको मानसिक अवस्था ठीक नभएको उनले बताए ।

तीनपटक पाटनको मानसिक अस्पताल धाइसकेको बताउने प्रेमबहादुरले घटनापछि आफन्तजन र सुरक्षाकर्मीले गरेका टेलिफोन संवाद पनि उनलाई नसुनाएको बताए । 'यता घटना भएपछि खुब फोन आउन थाले, धेरैपटक उनलाई छल्दै कुराकानी गरें,' उनले भने । बाग्लुङ सदरमुकामबाट २ दिन हिँडेपछि पुगिने राजकोटमा रहेकी उनकी पत्नी यतिबेला जनमुक्ति सेनाबाट स्वैच्छिक अवकाश लिएका उनका अर्का छोरा टेकबहादुर र तिहार मनाउन माइती पुगेकी छोरी प्रतिमाको निगरानीमा छिन् ।

टेकबहादुर म्याग्दीको बेनी र पाल्पाको तीनजुरे घटनाका घाइते माओवादी कार्यकर्ता हुन् भने प्रतिमा २०६० माघ २० गते सुरक्षाकर्मीको युनिफाइड टोलीको घेरामा परी घाइते भएकी जिल्ला तहकी महिला नेतृ हुन् । कम्मर र हातमा गोली लागेर घाइते भएकी प्रतिमा हाल द्वन्द्वकालमै भूमिगत भएका र उनलाई उद्धार गर्ने सल्यानका क्रान्तिकारी विद्यार्थी माओवादी नेता भीम भारतीकी पत्नी हुन् ।

बेरोजगार भएपछि सल्यान छाडेर काठमाडौं आएका भीम ठमेलको एक एजेन्सीमा आबद्ध छन् । उनी नेपाल घुम्न आउने विदेशी पर्यटकका भारी बोकेर प्रतिमा र ६ महिने सन्तानलाई हुर्काइरहेका छन् ।

आधा वर्षलाई मात्र खान पुग्ने पाखो र थोरै बारीले गर्जो टार्न मुस्किल परेपछि कुकको तालिम लिएका पदम यसपालि दुबई वा क्यानडा जाने योजनामा थिए । 'केही सातादेखि भिनाजु भीम भारतीलाई ४/५ लाख चाहिएको छ भन्दै भौतारिरहेका पदम गत शुक्रबार ग्यास सिलिन्डरको खोजीमा बाँसबारीस्थित भिनाजुको डेराबाट पैसा बोकेर निस्किएका थिए । संविधानसभाको चुनावका बेला बाग्लुङका ६ वटा गाविसमा वाईसीएलको जिम्मेवारीसमेत सम्हालेका उनले त्यही दिन बुलेकी भृकुटीमण्डपमा माओवादीले आयोजना गरेको चियापानमा प्रचण्डलाई झापड हाने ।

source: कान्तिपुर