दैनिक ३० वटा कार बिक्छन् राजधानीमा


ललितपुर, मंसिर १३ - वार्षिक २० भन्दा बढी जिल्ला खाद्य संकटको सूचीमा पर्ने र प्रतिव्यक्ति आय वाषिर्क ६० हजार हाराहारी भएको मुलुकको राजधानी काठमाडौंमा भने सर्वसाधारणले दैनिक ३० वटा नयाँ कार किन्छन् भन्दा धेरैलाई पत्यार नलाग्ला । तर राजधानीवासीले औसत ९ करोड नगद तिरेर दैनिक ३० वटा कार किन्ने हैसियत बनाएका छन् । 
कार किन्ने यो पद्धति बढ्दै गएको यातायात व्यवस्था कार्यालयको साना/ठूला सवारी वागमती अञ्चल कार्यालयले जनाएको छ । यसका अनुसार यहाँ दैनिक २५ लाखदेखि ३० लाख हाराहारी मूल्यका ३० वटा कार किनबेच हुन्छन् । यस आँकडाअनुसार राजधानीमा वाषिर्क २७ अर्ब ७४ करोड रुपैयाँ बराबरको कार बिक्री हुन्छ । 
वागमती अञ्चल कार्यालयले आफ्नो मन्त्रालयका लागि तयार गरिरहेको तर सार्वजनिक भइनसकेको पहिलो चौमासिक प्रतिवेदनअनुसार दसैं र तिहार परेको कात्तिक महिनामा सर्वसाधारणले ६ सय ६८ वटा नयाँ कार किने । उक्त महिना ३० दिनको थियो । तर दसैं, तिहार र सार्वजनिक बिदा कटाउँदा १६ दिन मात्रै कार्यालय खुलेको थियो । यस हिसाबले कात्तिकमा प्रतिदिन ४१ वटासम्म नयाँ दर्ता भए । प्रतिकार ३० लाखका दरले हिसाब गर्दा दसैं र तिहारमा प्रतिदिन १२ करोड ३० लाख रुपैयाँ बराबरका कार बिक्री भए ।
अञ्चल कार्यालयका प्रमुख तुलक्षीनाथ गौतमका अनुसार उनको कार्यालयमा सर्वसाधारण कम्तीमा २५ लाखदेखि बढीमा डेढ करोड रुपैयाँ पर्ने कार दर्ता हुन पुग्छन् । राजधानीवासीले सबैभन्दा धेरै कार किन्ने महिना साउनदेखि कात्तिकसम्म पर्छन् । दसैं, तिहारलाई लक्ष्य गरी व्यापारीहरूले छुट र उपहार अफर राख्ने बेला वर्षकै सबैभन्दा धेरै कार बिक्री हुने महिना पर्छ भने सबैभन्दा कम बिक्री हुने पुस हो । 'पुस गतिलो महिना होइन, पुसमा किनेको कार धेरै टिक्दैनन्, राम्रो पनि हँुदैन भन्ने ग्राहकको मान्यता रैछ,' उपसचिव गौतमले सर्वसाधारणको कार किन्ने बानीबारे भने । किनमेलको पद्धति हेर्दा अधिकांश कार किन्ने राजधानीबाहिरबाट आएका छन् । ती कर्पोरेट हाउस, बैंक, वित्तीय संस्था, फाइनान्स, एनजीओ/आईएनजीओमा काम गर्छन् ।
रेमिट्यान्स र जग्गा कारोबार गर्नेहरू पनि कार किन्नेको सूचीमा पर्छन् । वित्तीय संस्थाहरूले सजिलै उपलब्ध गराउने ऋण प्रवाह पनि कार खरिद गराउने कारण रहेको गौतमले बताए । 'अधिकांश वित्तीय संस्थाका कागज पनि हुन्छन्,' उनले भने । सर्वसाधारणपछि सरकारी निकायमा कार्यरत कर्मचारी र प्रहरी पनि कार किन्ने सूचीमा छन् । तर सरकारी कर्मचारीका पत्नी वा परिवारका अरू सदस्यका नाममा अधिकांशले दर्ता गराउँछन् । गौतमका अनुसार यहाँका ६ वटा काउन्टरमा दैनिक १५ सय हाराहारी सर्वसाधारण चार पाङ्ग्रे सवारीसम्बन्धी सेवा लिन आउँछन् । यसमा नयाँ कार किनेर दर्ता गराउने दैनिक ३० हाराहारी हुन्छन् । गत वर्ष यस कार्यालयले ७ हजार ८ सय नयाँ कार दर्ता गरेको थियो । यस हिसाबले त्यस वर्ष मासिक ६ सय ५० हाराहारी नयाँ कार थपिएका थिए । त्यस वर्ष यस कार्यालयले नयाँ कार दर्तासहित अन्य नामसारी, नवीकरणलगायत सेवाबाट २ अर्ब राजस्व उठाएको थियो ।
असार नयाँ कारको दर्ता ज्यादै कम हुने महिना हो । 'असारमा बजेट आउने भएकाले करको दर घटबढ होला कि भन्ने आशामा नकिन्दा रहेछन्,' उनले भने । कार्यालयको तथ्यांकअनुसार साउनपछि नयाँ कारको दर्ता बढ्दै जान्छ । साउनदेखि कात्तिकसम्म २ हजार २५ वटा कार/जिप/भ्यान बिक्री भए । चार पाङ्ग्रे सवारी साधनको बिक्रीमा कारपछि दोस्रो स्थानमा पिकअप गाडी पर्छन् । यस अवधिमा ८ सय ४ पिकअप बिक्री भए । यी अधिकांश किन्ने व्यवसायी हुन्छन् । यसपछि बस अनि ट्रक/मिनिट्रक पर्छन् ।
चालू आर्थिक वर्षको पहिलो चार महिनामा काठमाडौंमा १ सय ८० वटा बस र १ सय ६१ वटा ट्रक/मिनिट्रक बिक्री भए । सबैभन्दा कम बिक्री हुनेमा एम्बुलेन्स (१४ मात्र) छ ।

Suraj kunwar by kantipur