जनसंख्या २,६४,९४,५०४
काठमाडौं, १२ मंसिर । नेपालको जनसंख्या २ करोड ६४ लाख ९४ हजार ५ सय ४ पुगेको छ । केन्द्रीय तथ्यांक विभागले सोमबार सार्वजनिक गरेको राष्ट्रिय जनगणना २०६८ अनुसार जनसंख्या वृद्धिदर घटेर १ दशमलव ३५ प्रतिशत पुगेको छ । महिलाको संख्या झन्डै ३ प्रतिशत बढी देखिएको छ ।
कुल जनसंख्यामध्ये महिला १ करोड ४५ हजार ४ सय ६३ अर्थात् ५१ दशमलव ५ प्रतिशत छन् । पुरुषको संख्या १ करोड २८ हजार ४९ हजार ४१ अर्थात् ४८ दशमलव ५ प्रतिशत छ । लैंगिक हिसाबले सय महिला बराबर ९४ दशमलव १६ पुरुष छन् ।
प्रतिवेदनले १ दशमलव ३५ प्रतिशतले जनसंख्या वृद्धि भएको देखाएको छ । २०५८ सालको तथ्यांकमा २ करोड ३१ लाख ५१ हजार ४ सय २३ जनसंख्या थियो । वृद्धिदर २ दशमलव २५ प्रतिशत थियो ।
विभागले गत वर्ष सार्वजनिक गरेको राष्ट्रिय जनगणनाको प्रारम्भिक नतिजाभन्दा अन्तिम प्रतिवेदनमा जनसंख्या घटेको छ । 'गणक र सुपरिवेक्षकले संकलन गरेको लगतमा करिब ४ प्रतिशत इरर (भ्रमांश) देखिएकाले संख्या घटेको हो,' प्रतिवेदन प्रस्तुत गर्दै विभागका महानिर्देशक उत्तमनारायण मल्लले भने, 'अन्य मुलुकमा समेत यस्तै इरर देखिने गरेको छ ।'
सिंहदरबारस्थित योजना आयोगको डा. हर्क गुरुङ सभाकक्षमा आयोजित समारोहमा प्रधानमन्त्री बाबुराम भट्टराईले उक्त प्रतिवेदन सार्वजनिक गरेका हुन् ।
कुल जनसंख्याको ५६ दशमलव ९६ प्रतिशत १५ देखि ५९ वर्ष उमेर समूहका छन् । दस वर्षअघिको तथ्यांकमा यो उमेर समूहको जनसंख्या ५४ दशमलव १५ प्रतिशत थियो । जनघनत्व प्रतिकिलोमिटर १ सय ८० रहेको छ । सबैभन्दा धेरै जनघनत्व काठमाडौंमा ४ हजार ४ सय १६ प्रतिवर्ग किलोमिटर र सबैभन्दा कम मनाङमा प्रतिवर्ग किलोमिटर ३ जना छन् ।
यसैगरी विदेशमा रहेकाहरूको संख्या १९ लाख २१ हजार छ । लगत लिने बेलामा तेस्रो लिंगीको फारम भराइए पनि संख्या भने सार्वजनिक गरिएको छैन । बसाइँ सराइमा भने धेरै अन्तर देखिएको छ । कुल जनसंख्यामा तराईको हिस्सा बढेर ५० दशमलव २७ प्रतिशत पुगेको छ । दस वर्षअगाडि ४८ प्रतिशत थियो । पहाडमा ४३ दशमलव ०१ र हिमाली क्षेत्रमा ६ दशमलव ७३ प्रतिशत छ । जुन दस वर्षअघि क्रमशः ४८ दशमलव ४० र ७ दशमलव ३० प्रतिशत थियो ।
जातजाति र भाषा बढे
राजनीतिक रूपमा सबैको चासोको विषय बनेको जातजातिको संख्या बढेर १ सय २५ पुगेको छ । यसअघि १ सय थियो । जसअनुसार प्रमुख दस जातिमा क्रमशः क्षेत्री, ब्राह्मण, मगर, थारू, तामाङ, नेवार, कामी, मुसलमान, यादव र राई छन् । कुल जनसंख्याको १६ दशमलव ६ प्रतिशत क्षेत्री, १२ दशमलव २ प्रतिशत पहाडी ब्राह्मण, मगर ७ दशमलव १, थारू ६ दशमलव ६ र तामाङ ५ दशमलव ८ प्रतिशत छन् । सबैभन्दा कम कुसुन्डा २ सय ७३ छन् ।
मुलुकमा बोलिने भाषाको संख्या १ सय २३ पुगेको छ । यसअघि ९२ वटा थियो ।
भाषागत हिसावमा ४४ दशमलव ६ प्रतिशतले नेपाली बोल्छन् । ११ दशमलव ७ प्रतिशतले मैथिली, ६ प्रतिशतले भोजपुरी, ५ दशमलव ८ ले थारू, ५ दशमलव १ ले तामाङ र ३ दशमलव २ ले नेवारी बोल्छन् ।
धर्म १० तथ्यांकअनुसार नेपालमा सबैभन्दा बढी हिन्दु धर्मावलम्बी छन् । ८१ दशमलव ३ प्रतिशतले हिन्दु धर्म मान्छन् । ९ प्रतिशत बुद्ध, ४ दशमलव ४ प्रतिशत इस्लाम, ३ प्रतिशत किराँत, १ दशमलव ४ प्रतिशत क्रिस्चियन र ० दशमलव ४ प्रतिशतले प्रकृति धर्म मान्नेहरू छन् ।
साक्षरता बढ्यो
साक्षरता दर ६५ दशमलव ९ प्रतिशत पुगेको छ । पुरुषको साक्षरता दर ७५ दशमलव १ र महिलाको ५७ दशमलव ४ प्रतिशत छ । १९ दशमलव ७१ प्रतिशत महिलाको नाममा घरजग्गा छ । यसअघि ९ दशमलव ११ प्रतिशत मात्र थियो ।
हरेक दस वर्षमा राष्ट्रिय जनगणना हुँदै आएको छ । २०६८ असार ३ देखि १३ गतेसम्म देशभरि एकसाथ ११ औं राष्ट्रिय जनगणना भएको थियो । त्यसनिम्ति ४० हजार सुपरिवेक्षक र गणक खटाइएका थिए । जनगणना परिणामको राजनीतिक, भौगोलिक र सामाजिक महत्त्व छ ।
