दैलेखबाट विपक्षीको आन्दोलन शुरु


काठमाडौं ।  दैलेखका पत्रकार डेकेन्द्र थापाको हत्यारालाई कारवाहीको माग गर्दै पत्रकारहरुले आन्दोलन तिव्र पारेपछि विपक्षी दलहरुले दैलेखबाटै आन्दोलनको थालनी गरेका छन् ।

राष्ट्रपति डा. रामवरण यादवसँग सहमतिका लागि समयसीमा नतोक्न आग्रह गरेका दलहरुले पत्रकार तथा केही मानवअधिकारवादीको आन्दोलनसँगै सरकार विरोधी आन्दोलन गर्न लागेका हुन् ।

विपक्षी दलहरुले सत्तारुढ विरुद्ध आन्दोलन चर्काउने रणनीति अन्तरगत आज पत्रकार डेकेन्द्र प्रकरणसंग जोडिएर दैलेख सदरमुकाम दैलेखमा आमसभाको आयोजना गरेका छन् ।

आमसभालाई संवोधन गर्न नेपाली कांग्रेसका तर्फबाट नेता रामशरण महत र एमालेबाट उपाध्यक्ष वामदेव गौतम जाने कार्यक्रम तय गरिएको काँग्रेस एमालेले जनाएका छन् ।

पुर्व निर्धारित दैलेखको कार्यक्रममा आफ्नो पार्टीबाट उपाध्यक्ष वामदेव गौतम जाने एमाले नेता कृष्णगोपाल श्रेष्ठ र काँग्रेस बाट डा रामशरण महत जाने नेता नारायण खड्काले जानकारी दिनुभयो ।

आजवाट सुरु गरिएको यस आन्दोलनलाई विपक्षीहरुले पहिलो चरण अन्तरगतको सडक आन्दोलनका रुपमा व्याख्या गरेका छन् ।