नविकरणीय ऊर्जामा चासो


राजधानीको भृकुटीमण्डपमा चलिरहेको नविकरणीय उर्जा प्रदर्शनीमा अवलोकन गर्न आउनेको भीड लागेको छ ।

वैकल्पिक उर्जाको प्रवद्र्धन गर्ने उद्देश्यले आइतवारदेखि राजधानीको भृकुटीमण्डपमा शुरु भएको प्रदर्शनीमा राखिएका उपकरणहरुको अवलोकलन गर्न आउनेहरु निकै जिज्ञासु देखिन्छन् ।  ‘जागौं, नविकरणीय ऊर्जा तिर लागौं’ भन्ने नाराका साथ ऊर्जा सप्ताह शुरु भएको हो ।

अक्कल झुक्कल मात्रै विजुली देख्न पाउने नेपालीहरुको लागि वैकल्पिक ऊर्जामा चासो बढ्नु पनि स्वभाविक हो । बाइपंखी चुल्होदेखि थोरै पानीबाट पनि उत्पादन गर्न सकिने मिनी माइक्रो हाइड्रो तथा विजुलीबाट सञ्चालन गर्न सकिने कार समेत प्रदर्शनीमा राखिएका छन् ।

जलस्रोतको धनी देशको रुपमा संसारभर नै परिचित नेपालमा अहिले दैनिक १४ घण्टा लोडसेडिङ् खेप्नु परिरहेको छ ।

प्रशस्त्र पानी भएर पनि विजुली उप्पादन हुन नसक्दा हामी सधै अध्याँरोमा बस्न बाध्य छौं । नेपाल विद्युत प्राधिकरणका अनुसार केही दिन भित्रै दैनिक १८ घण्टा सम्म लोड सेडिङ् हुदैछ ।
विजुली बाल्न नपाउने भएकैले होला अहिले सौर्य तथा वायु उर्जा तर्फ आकर्षण बढिरहेको छ ।

सौर्य तथा वायु उर्जाको प्रदर्शनी मात्र होइन, नेपालका केही ठाउमा यस्ता प्रविधीहरु प्रयोगमा समेत आएका छन् । नवलपरासीको पहाडी गाउँ धौवादीको हुरहुरेडाँडामा हावाबाट उत्पादन भएको विजुलीबाट एक सय बढी घर परिवार लाभान्वित भएको कृष्ण हिल एण्ड इन्जिनियर वक्र्स प्रालि विराटनगरका सोलार इन्जिनियर लोकहरी पाठक बताउँछन् ।

नेपालको माग अनुसारको विजुली उत्पादन हुन नसकेकोले गर्दा वैकल्पिक उर्जाको महत्व बढ्दै गएको छ । लघु जलविद्युत उत्पादन तथा अन्य वैकल्पिक उर्जाको लागि वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रले सहयोग पनि गर्दै आएको इलेक्ट्रिकल इन्जिनियर चीज बहादुर गुरुङ् बताउँछन् ।

नेपालमा नविकरणीय उार्जका स्रोतहरु प्रशस्त छन् । घाम, पानी, हावा, जैविक पदार्थ आदीबाट उर्जा उत्पादन हुन सक्ने प्रशस्त आधार भएर पनि यसको अधिकतम उपयोग हुन सकिरहेको छैन ।

नविकरणीय उर्जा प्रविधीको प्रयोगले परम्परागत उर्जा स्रोत माथिको निर्भरता घटाउन, हरित ग्याउ उत्र्सजनलाई घटाई वातावरण संरक्षण गर्न सहयोग पूग्दछ । सरकारले वैकल्पिक उर्जा प्रवद्र्धनको लागि करोडौं रकम नखर्चिएको पनि होइन ।

विभिन्न एनजिओहरुले वैकल्पिक उर्जाको लागि करौडौंं रुपैया लगानी गर्दै आएका छन् । तर सरकारले वैकल्पिक उर्जा प्रवद्र्धनको लागि कनिका छरे जस्तो गरि रकम छर्दा पनि यसको उचित सदुपयोग भएको देखिदैन । त्यसैले नारामा मात्र होइन, साच्चिकै नविकरणीय उर्जा प्रवद्र्धन गर्नू जरुरी छ ।