राजधानीको धुलो र द्रुत मार्ग

नारायण पंगेनी
मुलुकभरबाट विभिन्न उद्देश्यले नागरिकहरु राजधानीमा केन्द्रित भइरहेका छन् । झण्डै २५÷३० लाख नागरिकको बसोवास रहेको राजधानीमा बढ्दो चाप सँगै सवारी चाप पनि बढ्दै गइरहेको छ । बढ्दो जनसंख्या, सवारी चाप अनि साघुँरा गल्लीहरुले गर्दा राजधानीमा समस्या विकराल बन्दै गइरहेको छ ।

यावत् समस्याहरुलाई न्युनिकरण गर्नकै लागि पछिल्लो समय सडक चौडा पार्ने अभियान शुरु गरिएको हो । जारी विस्तार योजना अन्तर्गत काठमाण्डू उपत्यकामा ४०० किलोमिटर सडकहरुलाई चौडा र व्यवस्थित पार्ने सरकारी योजना छ । सरकारी योजना अनुसार सडक भत्काउने जिम्मा पाएको काठमाडौ उपत्यका विकाश प्राधिकरणले ठूलै विरोध खेपेर पनि काम अगाडी बढाईरहेको छ । विरोधलाई श्वरलाई मत्थर पार्ने नभई दमन नै गरेर भएपनि काम गर्नुपर्ने मानसिकतामा रहेको सरकारले प्राधिकरणलार्य सहयोग गर्ने ठूलै सुरक्षाकर्मी समेत परिचालन गर्दै आएको छ ।

गत शनिवार अनामनगर घट्टेकुलो खण्ड अन्तर्गतको भित्री मार्गमा सडक विस्तारका लागि डोजरसँगै दर्जनौं सुरक्षाकर्मी तैनाथ भए तर स्थानियवासीले अवरोध गर्न खोजेका थिए । अवरोध गर्न सवै भन्दा अगाडी तम्सिएका पञ्चायतकालिन सांसद दुर्गाराज प्रसाई कुर्लिन थालेपछि प्रहरी अधिकारी पनि प्रतिवादमा उत्रिन पुगे ।    यो त एउटा उदाहरण मात्रै हो । कांग्रेस नेता नरहरी आचार्यदेखि पूर्वसभामुख समेत सडक विस्तार अभियानको विपक्षमा उभिएका थिए । तर पनि सकारात्मक कामका पछाडी विकाश विरोधीहरुले दाल गलाउन सकेनन् ।

२०६८ कार्तिक २५ गतेबाट सुरु भएको यस अभियानका क्रममा सरकारले राजनीतिक दल, स्थानियवासीदेखि अदातलको आदेशका बावजुद पनि झण्डै ७५ किलोमिटर सडक भत्काई सकेको छ । भत्काउने जिम्मा काठमाडौं उपत्यका विकास प्राधिकरणको भए पनि बनाउने काम भने सडक विभाग र काठमाडौ महानगरपालिकाको हो । तर निर्माण कार्य सुस्त गतिमा हुदा अधिकांश सडक धुलाम्मे भएको छ ।

राजधानीका सडक विस्तार मात्र नभई काठमाडौ हेटौडा जोड्ने द्रुतमार्गदेखि तिब्बत रेलमार्ग ल्हासाबाट काठमाडौं विस्तार गर्ने चिनिया प्रधानमन्त्री वेन जियाबाओको आश्वासनले आम नेपालीलाई थप पनि उत्साहित बनाएको छ । ललितपुरको खोकनाबाट बाराको निचगढ जोड्ने ७६ किलोमिटर ट्रयाक मध्ये एक किलोमिटर मात्रै ट्रयाक खोल्न बाँकी छ ।

राजधानीमा आएको विरोध जस्तै यो सडक निर्माण पनि स्थानियवासीले विरोध नगर्लान भन्न सकिदैन तर आफ्नै क्षेत्रको विकाश हुने भएकोले स्थानियले विरोध नगर्ने नेपाल पूर्वाधार विकाश कम्पनीका अध्यक्ष कुशकुमार जोशी विश्वास ब्यक्त गर्छन ।  काठमाडौ तराई जोड्ने फाष्ट ट्रयाक निर्माणपछि चार घण्टा लाग्ने मकवानपुरको हेटौडा ४५ मिनेटमा नै पुग्न सकिन्छ । ४५ मिनेटमै हेटौंडा पुगिने भएपछि राजधानीको चापलाई न्युन गर्न पनि यसले थप मद्दत गर्नेछ । यसले काठमाडौ र हेटौडा एउटै शहर बन्ने पूर्वाधार विकाश कम्पनीका अध्यक्ष कुशकुमार जोशी बताउँछन् ।

काठमाडौ उपत्यकामा मेट्रो रेलको परिकल्पनादेखि राजधानीका विभिन्न ठाउमा फ्लाई ओभर निर्माण गर्ने योजनाहरु पनि अगाडी नसारिएका होइनन् । तर इच्छा शक्ति हुने हो भने यस्ता महत्वाकांक्षी योजनाहरु पनि पुरा नहुने होइनन् । सरोकारवाला निकायहरुबीच समन्वयको अभावका कारण काठमाण्डू उपत्यकाको सडक विस्तारको काममा ढिलाइ हुदा अहिले फुटपाथमा हिड्ने सर्वसाधारणले सास्ती बेहोर्नु परेको छ । त्यसैले विकाशलाई राजनीतिक प्रोपोगाण्डा भन्दा पनि आवश्यकता ठानेर काम गर्ने अठोट गर्ने हो सवल नेपाल निर्माण हुनेछ ।