मधेसी दल र पार्टी फेरबदल
नारायण पंगेनी
एक युगमा एक पटक मात्रै आउने भनिएको संविधानसभाले संविधान बनाउनै नसकी संविधानसभा विघटन भएको झण्डै एक वर्ष हुन लाग्यो । तर अझै सम्म पनि संविधानसभा विघटनको कारण अनुत्तरित छ ।
संविधानसभामा रहेका ६०१ मध्ये ठूला भनिएका तीन दल एकिकृत नेकपा माओवादी, नेपाली कांग्रेस र एमालेका शिर्ष नेताहरुको गोलचक्करकै कारण संविधानसभाका सदस्यहरु गुमराहमा परे । जसको कारण संविधान बन्नै नसकी संविधानसभा विघटनभएको अधिकांशको बुझाई छ । आज पुनः एक युगमा एक पटक आउने भनिएको संविधानसभाको निर्वाचन फेरी गर्ने तयारी छ दलहरुको । निर्वाचनको चर्चा सँगै दलका नेताहरुले नै पार्टी फेरबदल गर्ने क्रम चल्न थालेको छ ।
खास गरी तराई–मधेसका २२ जिल्ला केन्द्रित राजनीति गर्ने मधेसवादी दलहरुको विभाजन र पार्टी फेरबदल भने सामान्य जस्तै बनेको छ । ०६२/६३ को जनआन्दोलन अघि मधेसको क्षेत्रिय राजनीति गर्ने एक मात्र दल नेपाल सद्भावना पार्टी अस्तित्वमा थियो ।
0६२/६३ को आन्दोलनपछि माओवादी पार्टी छाडेका उपेन्द्र यादव नेतृत्वमा मधेसी जनाधिकार फोरम मधेस आन्दोलनबाट स्थापित भयो । संविधानसभामा चौथो शक्ति बनेको उक्त पार्टी विभाजनका हाँगाहरु दर्जनबढी छन् । अहिले फेरी निर्वाचनको नजिकिने संकेत गर्दै गर्दा सबै मधेसवादी एक हुनु पर्ने चर्चा एकातिर चलिरहेको छ भने अर्कोतिर पार्टी फेरबदलको लहड नै चलेको छ ।
मधेस आन्दोलनका पुराना हस्ती भरतविमल यादव एक ताका नेपाल सद्भावना पार्टीमा थिए । उनी सद्भावना विभाजनपछि सद्भावना आनन्दीदेविमा प्रवेश गरे र पार्टीको वरिष्ठ उपाध्यक्ष बने । झण्डै तीन वर्ष अघि उनी राजनीतिबाट निश्क्रिय बनेका थिए । अहिले पुनः निर्वाचनको चर्चापछि उनी फेरी उपेन्द्र नेतृत्वको फोरममा प्रवेश गरेका छन् । भन्छन्– ‘लोकतान्त्रिक आन्दोलन, संघीयता, समावेशिता संकटमा परेकोले आफू राजनीतिमा सक्रिय हुन चाहेको हुँ ।’
‘जता काफल पाक्यो, उतै चरी नाँच्यो’ भन्ने नेपाली उक्तीछ । पटक पटक रंग बदलेर जनता झुक्याउने नेपाली राजनीतिको संस्कार नै बनिसकेको छ । दल बदल्ने रोग सबै भन्दा बढी मधेसी नेताहरुमै छ । तर उपेन्द्र यादव नेतृत्वको मधेसी जनाधिकार फोरम, नेपालमा प्रवेश गरेका भरतविमल आफू माननिय हुनका लागि दल नबदलेको नभई लोकतन्त्र र समावेशी संकटमा परेकोले राजनीतिमा सक्रिय हुन चाहेको दावी गर्छन् ।
विघटित संविधानसभामा रंग बदल्दै अधिकांश समय सत्तामा रमाएका विजय गच्छेदारको केही मधेसवादी नेताहरुसँगको मोर्चाबन्दी अहिले पनि छ । त्यसैले यादव–गच्छेदार सम्बन्धमा सुधार भने आएको देखिदैन । आर्थिक चलखेलकै कारण गच्छेदार सत्ताकेन्द्रित भएको यादव अहिले पनि छेडछाँड गर्छन । आफूले सवैलाई एकैपटक मन्त्री प्रधानमन्त्री बनाउन र करोडपति बनाउन नसक्दा नै मधेसवादी नेताहरुले दल त्यागेको बताउँछन् ।
गच्छेदार नेतृत्वको मोर्चा र तीन ठूला दलको सिण्डिकेटले गर्दा नै आज कर्मचारीतन्त्रको निर्दलिय सरकार बनेको छ । संविधानसभा विघटन सँगै बाटो विराएको नेपाली राजनीतिकै कारण देश फेरी गम्भिर संकटमा उभिएको छ । त्यसैले नेपालको राजनीति कहिले सहि ट्रयाकमा आउछ र मुलुकले निकाश पाउँछ भन्ने कुरा अहिले नै यकिन गर्न गाह्रो छ ।
