कस्तो छ प्रचण्डको र उर्मिलाको सम्बन्ध ?



काठमाडौं, २ जेठ : नेकपा एमालेकी नेतृ उर्मिला अर्यालले एमाले छाडेर एकीकृत माओवादीमा जाने निर्णय गरि सकिन् । उनी यही ४ गते एमाओवादीमा प्रवेश गर्दैछिन् । 
 
एमालेमा रहँदा छोटो छोटो अवधिमा गुट परिवर्तन गरिरहने उर्मिला कसरी एमाओवादीमा जान लागिन् भन्ने चाहीँ रहस्यसँगसँगै अनौठो विषय पनि छ । विद्यार्थी जीवनदेखि नै राजनीतिमा सक्रिय उर्मिला प्रचण्डसँग निकट थिइन् ।
 
पर्साको ठाकुरद्वार क्याम्पसमा अध्ययन गर्दादेखि नै उनले विद्यार्थीहरुबीच आफ्नो गहिरो छाप छोडिन् र ०३७ सालको जनमत संग्रंहपछि उनी ०३८ सालमा महिला संगठनको अध्यक्ष पनि बनिन् । महिला संघठनको राष्ट्रिय सम्मलेनमार्फत अध्यक्ष बनेपछि उनको राजनीतिक यात्रा झन् फराकिलो र मजबुत बन्यो । 
 
उर्मिला महिला संघको अध्यक्ष भएको बेला प्रचण्ड युवा संगठनको अध्यक्ष थिए । त्यत्तिबेला देखि नै उर्मिला र प्रचण्डको बीचमा घनिष्ठ सम्बन्ध थियो । कतिपयले त प्रचण्ड र उर्मिलाको बीचमा प्रेम सम्बन्ध छ भनेर पनि चर्चा गर्थे । यद्यपि त्यविबेला प्रचण्डको विवाह भइसकेको थियो तर उनी अविवाहित थिइन् ।
 
पछि उर्मिलाको यमबहादुर (वाइबी) थापासँग विहे गर्न पनि प्रचण्डले लमीको भूमिका खेलेका थिए । उनका श्रीमान् वाइबी प्राध्यापन सँगसँगै विकास निर्माणको काममा पनि सहभागी हुने गरेका छन् । वाइबीलाई एमालेले आफ्नै पहलमा राष्ट्रिय योजना आयोगको सदस्य पनि बनाएको थियो । 
 
प्रचण्डसँग राम्रो सम्बन्ध भएतापनि पार्टीभित्र प्रचण्ड नेतृत्वको समुहले व्यक्तिगत सम्पत्ति सबै पार्टीलाई बुझाएर जनयुद्धमा जाने निर्णय गरेपछि भने उनी अनकनाइन् । प्रचण्ड युद्धमा गए, नेतृत्व गरे । उर्मिला गइनन् । पञ्चायती व्यवस्थाको अन्त्यपछि गोरखाका मशाल नेता वाचश्पति देवकोटासँगै उर्मिला अर्याल प्रचण्डको पार्टी परित्याग गरेर एमालेमा छिरिन् । 
 
जनयुद्ध चलिरहेसम्म प्रचण्डसँग उनको खासै हिमचिम भएन तर शान्तिप्रक्रियामा आइसकेपछि भने प्रचण्डको र उर्मिलाको सम्बन्ध पहिलेको जस्तै हुन थालेको छ । बहुदलको बेला नेकपा एमालेमा लागेपछि पार्टीभित्र थुप्रै अवसरहरु पाएपनि उमिर्लाले अहिले अकस्मात एमाओवादीमा जाने निर्णय गर्नु सुनियोजित भएको एमाले नेतृ शान्ता मानवीले बताइन् ।  उर्मिलाले एमालेबाटै ०४८ सालमा पर्साबाट चुनाव लडिन् तर जित्न भने सकिनन् । 
 
बुटवल महाधिवेशनमा एमालेका केपी शर्मा ओली पक्षमा लागेर पोलिटब्यूरो सदस्य हत्याए पनि मन्त्री हुनको लागि उनले झलनाथ खनालका पालामा गुट परिवर्तन गरेको एमालेका नेता तथा पूर्व सभाषद् प्रधुम्न चौहान बताउँछन् । खनालको पालामा उनी स्थानीय विकास मन्त्री समेत भएकी थिइन् । 
 
खनालले पार्टी नछोड्न आग्रह गरेपनि मानिनन्
 
उर्मिलालाई पार्टी नछोड्न एमाले अध्यक्ष झलनाथ खनाल र स्थायी समिति सदस्य तथा अनुशासन आयोगका संयोजक अमृतकुमार बोहोराले बुधबार आग्रह गरेका थिए । खनाल र बोहोराले पार्टी छोड्नुपर्ने कारणबारे बताउन आग्रह गर्दा उनले सैद्धान्तिक भन्दा पनि व्यक्तिगत कारणले एमाओवादीमा जानुपरेको बताइन् । “सैद्धान्तिक मतभेद केही होइन, मैले जाने निर्णय गरिसकेँ, मलाई रोक्ने प्रयास नगर्नुस्” उर्मिलाले भेटका क्रममा भनिन् । 
 
अवसरको राजनीति
 
०४६ सालमा प्रचण्डले नेतृत्व गरेको पार्टीको आकार सानो र एमाले ठूलो भएका कारण एमालेमा प्रवेश गरेकी भनिएकी उर्मिला जता राम्रो अवसर मिल्छ त्यतै जाने नेता भएको एमालेका नेताहरुको भनाई छ । 
 
अवसरको राजनीति गर्न खप्पीस उर्मिला र मान्छेलाई रिझाउन सीपालु प्रचण्डको यो मिलन राजनीतिक र सैद्धान्तिक भन्दा पनि व्यक्तिगत सम्बन्धमा आधारित छ । एमालेमा हुँदा समेत प्रचण्डको निक्कै प्रशंशा र गुणगान गाउने गरेकी उर्मिलालाई भने प्रचण्ड पत्नी सीताले खासै नरुचाउने बताइन्छ । 
 
अहिले एमाले भन्दा एमाओवादीको प्रभाव र छाप बढी भएको र रामचन्द्र झा लगायत अरु नेताहरु पनि एमालेमा जाने चर्चा चलेको बेला उर्मिलाले यस्तो निर्णय गर्नु अवसर खोजी नै नयाँ उपाय भएको ठानिएको छ । 

(ओएनएस)