स्ववियु निर्वाचन र आर्थिक चलखेल


नारायण पंगेनी 
आगामी जेठ २३ गतेका लागि तय गरिएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनका लागि अहिले देशैभरका त्रिभुवन विश्व विद्यालय र त्यसका आंगिक क्याम्पसहरु चुनावले तातेको छ । 

विद्यार्थीको चुनाव नजिकिदै गर्दा विद्यार्थी संगठनहरु स्ववियु हत्याउने दाउमा ठूलो आर्थिक चलखेल गरिरहेका छन् । स्ववियु हत्याउनकै लागि विद्यार्थी संगठनहरुले आफै पैसा खर्चिएर विद्यार्थी भर्ना गर्ने गर्दा स्ववियु निर्वाचन महंगो हुँदै गएको छ । यस्तो प्रक्रियाबाट चुनिएका प्रतिनिधीहरुले विद्यार्थीहरुको हितमा काम नगर्ने आरआर क्याम्पसमा अध्ययनरत विद्यार्थी सुधा शर्माले बताइन् ।   

विद्यार्थी संगठनहरु भने ठूलो आर्थिक खर्चिएर गरिने निर्वाचनले विद्यार्थीको हितमा काम गर्न नसक्ने सामान्य विद्यार्थीहरु मात्र नभई स्वयं विद्यार्थी नेताहरु पनि स्वीकार्छन् । 

आरआर क्याम्पसका स्ववियु उपसभापति गिरेन्द्र राईले एमाओवादी निकट अखिल क्रान्तिकारीले गत वर्षपनि ९ सय विद्यार्थी भर्ना गरेको र अहिले पनि २५ लाखको हाराहारीमा भर्ना गरेको आरोप लगाए । पैसा खर्च गरेर  निर्वाचन गर्ने स्ववियु अवश्य पनि भ्रष्ट हुने उनको भनाई छ ।   

देशकै प्रमुख मानिने आरआर क्याम्पसमा मात्रै एकिकृत माओवादी सम्बद्ध अखिल क्रान्तिकारीले झन्डै ४ सय विद्यार्थी भर्नाका लागि झण्डै १४ लाख खर्चिएको छ भने एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले ३ सय विद्यार्थी एकै पटक भर्ना ग¥यो । तर एमाओवादी निकट अखिल क्रान्तिकारीका विद्यार्थी नेता कैलाश  दर्लामी स्वयं फर्जी विद्यार्थी भर्ना गर्ने प्रवृतिले स्ववियुमाथि नै प्रश्न चिन्ह खडा हुने बताउँछन् । 

आरआरमा मात्र होइन हरेक क्याम्पसका स्ववियु हडप्न भर्नाका लागि संगठनहरुको होड चल्यो । विद्यार्थी संगठनहरुले चुनावका लागि लाखौं खर्चिएको स्वयं विद्यार्थी संगठनका नेताहरु स्वीकार्छन् । नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघका आरआर इकाई उपसभापति अनुज कार्कीले पनि ठूलो रकम खर्चिएर गरिने चुनावले स्ववियु भ्रष्टाचारमुक्त नहुने दावी गर्छन । 

एकमुष्ठ रुपमा लाखौं खर्चिएर आफ्नो पक्षको विद्यार्थी भर्ना गरिएपछि नेकपा–माओवादी निकट अनेरास्ववियु (क्रान्तिकारी) सवै भन्दा बढी रुष्ट छ । राजनीतिक दलले मिनिसत्ताको रुपमा विद्यार्थी संगठनहरुलाई प्रयोग गर्ने गरेको नेकपा–माओवादी निकट अनेरास्ववियुका आरआर इकाई उपाध्यक्ष अनुशिल न्यौपाने बताउँछन् । 

त्रिभुवन विश्वविद्यालयले देशभरका ६० आंगिक क्याम्पसमा यही जेठ २३ गते स्ववियु निर्वाचनको घोÈणा गरेको छ । आगामी दिनमा स्ववियुमा प्रभुत्व कायम गर्नको लागि ठूलो रकम खर्चिने संगठनमा अहिले एकिकृत माओवादी निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारी अग्रपंक्तीमा छ । 

आम विद्यार्थीहरुको हितमा काम गर्ने भनिएको संस्थालाई जसरी पनि हत्याउनु पर्ने सोंचमा गरिने आर्थिक चलखेलका कारण स्ववियु विद्यार्थीहरुको हित गर्ने नभई भ्रष्टाचारको अखडा बन्ने निश्चित छ ।