चुनाव बिथोल्न माओवादीको आन्तरिक निर्देशन, वार्ताटोली विपक्षी झुक्याउने रणनीति मात्रै
रामकृष्ण अधिकारी/ राजधानी
काठमाडौं, २९ असार / वार्ता र संघर्षको दुई कार्यनीति एकसाथ अगाडि बढाउने उद्घोष गरेको नेकपा–माओवादीले आङ्खना कार्यकर्तालाई निर्वाचन बिथोल्न एक पटक फेरि जीवनमरणको अन्तिम लडाइँमा होमिन निर्देशन दिएको छ । आगामी १० साउनदेखि निर्वाचन बहिष्कार आन्दोलन औपचारिक रूपमा नै सुरुवात गर्न लागेको माओवादीले वार्ताबाट सम्झौता हुने सम्भावना नरहेको भन्दै निर्वाचन बहिष्कार आन्दोलनमा सशक्त र सक्रिय रूपमा सहभागिता जनाउन कार्यकर्तालाई निर्देशन दिएको हो । संयुक्त मोर्चा ब्युरो, केन्द्रीय कार्यालय, नेवाः र ताम्सालिङ राज्यसमितिका सदस्यहरूलाई शनिबार कीर्तिपुरमा राजनीतिक तथा वैचारिक प्रशिक्षण दिँदै माओवादीका शीर्ष नेताहरूले चुनाव बहिष्कार आन्दोलनलाई पार्टीले नयाँ जनवादी क्रान्तिको रणनीतिसँग जोडेर लैजान लागेकाले सक्रियतापूर्वक आन्दोलनमा होमिन निर्देशन दिएका थिए ।
प्रशिक्षणमा उनीहरूले पार्टीले गठन गरेको वार्ताटोली विपक्षीहरूलाई झुक्याउने रणनीतिअनुसार गठन भएको जनाउ दिँदै बहिष्कार नै मूल नीति भएको प्रस्ट पारेका हुन् । प्रशिक्षणमा अध्यक्ष मोहन वैद्यले राजनीतिक तथा वैचारिक, उपाध्यक्ष सीपी गजुरेलले अन्तर्राष्ट्रिय परिस्थिति, महासचिव रामबहादुर थापाले संगठन तथा संघर्ष, सचिव देव गुरुङले संयुक्त मोर्चा र नेत्रविक्रम चन्दले युवा परिचालनका विषयमा प्रशिक्षण दिएका हुन् । स्रोतका अनुसार प्रशिक्षणमा अध्यक्ष वैद्यले नेपालमा अहिले राजनीतिक, आर्थिक, सांस्कृतिक सबै हिसाबले संकट चुलिएकाले समाधानका लागि क्रान्ति नै एक मात्र विकल्प भएकोमा जोड दिएका थिए । उनले अहिले चार दल र वर्तमान सरकारले विदेशीको षड्यन्त्रमा मुलुकलाई सिक्किमीकरणतर्फ धकेल्ने योजना गरिरहेकाले त्यसविरुद्ध पनि क्रान्तिकारीहरूले एक पटक आन्दोलनको उठान गर्नुपर्ने बताएका थिए ।
उनले संविधानसभा निर्वाचनको नौटंकीभित्र क्रान्तिकारी शक्तिलाई निषेध गर्ने गरी प्रतिक्रियावादीहरूले दुईखाले रणनीति अगाडि सारेको भए पनि अन्ततः आपूmहरूकै जित हुने दाबी गरेका थिए । ‘क्रािन्तकारीहरूलाई सकेसम्म संसद्वादमा फसाउने, त्यो असफल भएमा दमन गर्ने नीति प्रतिक्रियावादीहरूले अपनाएका छन्,’ वैद्यको भनाइ उद्धृत गर्दै एक सहभागीले राजधानीसँग भने, ‘निर्णायक संघर्षको घडीमा क्रान्तिकारीहरूले नै जित्नेछन्, प्रतिक्रियावादीहरू आफंैले खनेको खाडलमा आफंै जाकिनेछन् ।’ वर्तमान अवस्थामा वस्तुगत परिस्थिति क्रान्तिकारीहरूका लागि राम्रो भए पनि आत्मगत अवस्था कमजोर रहेको भन्दै वैद्यले त्यसलाई मजबुत बनाउनका लागि पनि संघर्ष र संगठनको कामलाई प्रभावकारी रूपमा अघि बढाएर लैजान लागिएको उल्लेख गरे । महासचिव रामबहादुर थापाले निर्वाचन बहिष्कार आन्दोलनलाई प्रभावकारी बनाउनका लागि पार्टीले निर्वाचन क्षेत्र केन्द्रित हुने गरी संक्रमणकालीन सांगठनिक संरचना निर्माण गरेको बताए ।
उनले अध्यक्ष मोहन वैद्यको नेतृत्वमा राजनीतिक वैचारिक केन्द्रीय ब्युरो, उपाध्यक्ष सीपी गजुरेलको नेतृत्वमा अन्तर्राष्ट्रिय ब्युरो, महासचिव रामबहादुर थापाको नेतृत्वमा पार्टी संगठन केन्द्रीय ब्युरो, सचिव देव गुरुङको संयोजकत्वमा मोर्चा ब्युरो र अर्का सचिव नेत्रविक्रम चन्दको नेतृत्वमा युवा परिचालन ब्युरो गठन गरिएको जानकारीसमेत दिएका थिए । महासचिव थापाले समग्र संगठन र संघर्षको कार्यक्रमको रूपरेखा राख्दै निर्वाचन बहिष्कार आन्दोलनलाई तीन चरणमा सम्पन्न गरेर लैजाने बताएका थिए । आगामी १० साउनमा देशका ७५ ओटै जिल्लाबाट एकै पटक निर्वाचन बहिष्कार आन्दोलनको सुरुआत गर्ने, त्यसलाई भदौको पहिलो सातासम्म अगाडि बढाउने, असोजको पहिलो सातासम्म दोस्रो चरणको कार्यक्रम गर्ने र त्यसपछि भने आन्दोलनलाई उत्कर्षमा लैजाने गरी संघर्षको कार्यक्रम तय गरिएको थापाको भनाइ थियो ।
उपाध्यक्ष सीपी गजुरेलले आगामी पाँच महिना क्रान्तिकारीहरूले जित्ने या खुला ढंगबाट पछाडि हट्ने भन्ने दुई विकल्प रोज्नै पर्ने बताए । ‘हामी जित्नका लागि लड्छौं, हार्नका लागि होइनौं,’ गजुरेलले भने । सचिव देव गुरुङले आन्दोलनलाई प्रभावकारी बनाउनका लागि स्थानीय तहदेखि केन्द्रसम्म नै संयुक्त मोर्चा निर्माण गरेर जानुपर्नेमा जोड दिएका थिए । त्यस्तै, सचिव नेत्रविक्रम चन्दले भने युवाहरूको परिचालनले मात्रै जस्तोसुकै आन्दोलनलाई पनि निर्णायक बनाउन सकिने भएकाले युवा परिचालनका लागि पार्टीले रणनीति बनाइरहेको जिकिर गरेका थिए ।
