कम्युनिष्ट संस्थापक कर्मचार्यको निधन

काठमाडौ/ नेपाल कम्युनिष्ट पार्टीका संस्थापक सदस्य नरवहादुर कर्माचार्यको ८९ वर्षको उमेरमा साउन ९ गते विहान निधन भएको छ । एकमात्र जिवित संस्थापकको रुपमा रहनुभएका उहाँको निधनसँगै नेकपा संस्थापकहरु कोही जिवित रहेको छैन ।

जण्डीस र ज्वरोले एकैसाथ च्यापेपछि उहाँलाई गत असार २३ गते काठमाडौको मोडेल अस्पतालमा भर्ना गरिएको थियो । कर्माचार्यको शवलाई श्रद्धाञ्जलीका लागि विहान एकिकृत माओवादीको केन्द्रीय कार्यालय पेरिसडाँडामा राखिएको थियो । कर्माचार्यको शवलाई अन्तिम श्रद्धाञ्जलीका लागि काठमाडौको खुलामञ्चमा राखिएको छ ।

वि सं १९८१ मा पाटनको कुम्भेश्वरमा बुवा चन्द्रबहादुर कर्माचार्य र आमा श्रीकुमारी कर्माचार्यका पुत्रका रुपमा जन्मिएका कर्माचार्यले स्थानीय भैरवगोपाल वैद्यबाट राजनीतिमा लाग्ने प्रेरणा पाउनु भएको थियो ।  वि.सं. १९९७ देखि सक्रिय राजनीतिमा लागेका कर्माचार्यले २००४ साल वैशाख १० गते नागरिक आन्दोलनमा भूमिका निर्वाह गर्नु भएको थियो ।

भारतमा अंग्रेजहरुको शासन र नेपालमा निरङकुश राणा शासनको थिचोमिचोका विरुद्ध सङगठित रुपमा लाग्न फरक राजनीतिक शक्ति स्थापना गर्नुपर्छ भन्दै उहाले कम्युनिस्ट पार्टी स्थापनाको अभियानमा जुट्नु भएको थियो । विसं २००६ वैशाख १० गते कोलकाताको एउटा पुरानो घरमा पुष्पलाल श्रेष्ठको अगुवाईमा कर्माचार्यसहित निरञ्जनगोविन्द वैद्य, नारायणविलास जोशी र मोतीदेवी श्रेष्ठले नेपाल कम्युनिस्ट पार्टीको स्थापना गर्नु भएको थियो ।

नेपाली कांग्रेसका नेता बिपी कोइरालालगायतका तत्कालीन नेता र परिवर्तनकामी शक्ति मिलेर जानुपर्छ भन्ने धारणा राख्ने कर्माचार्यले विभिन्न टुक्रामा विभक्त कम्युनिस्ट पार्टीलाई एकीकृत गराउन आह्वान गर्दै आउनु भएको थियो । विसं. २००७ सालको प्रजातान्त्रिक आन्दोलनमा अग्रणी भूमिका निर्वाह गर्नुभएका कर्माचार्य अविवाहित हुनुहुन्थ्यो ।  
 
 
शोक वक्तव्य
नेपाल कम्युनिष्ट पार्टीका संस्थापक एवम् नेपाली श्रमजीवि सर्वहारा वर्गको अग्रदस्ता एकीकृत नेपाल कम्युनिष्ट पार्टी (माओवादी)का संरक्षक कमरेड नरबहादुर कर्मचार्यको आज बिहान ५ बजेर ६ मिनेट जाँदा ८९ वर्षको उमेरमा पीत्त नलीमा क्यान्सर रोगका कारणले उपचारको क्रममा मोडेल अस्पतालमा निधन भएको छ । नेपाली जनता र हाम्रो पार्टीका सम्पूर्ण नेता तथा कार्यकर्ताहरु उहाँको निधनले गहिरो शोकमा डुबेका छन् । हाम्रो पार्टी नेपाली जनताको तर्फबाट उहाँप्रति हार्दिक श्रद्धान्जली अर्पण गर्दछ । शोक सन्तप्त परिवारजनहरु प्रति गहिरो समवेदना प्रकट गर्दै उहाँका समाजवाद र साम्यवादसम्म पुग्ने बाँकी सपनाहरु पुरा गर्न प्रतिवद्धता जाहेर गर्दछ ।
उहाँको जन्म वि.सं १९८१ कार्तिक १४ गते भाइटीकाका दिन बुबा चन्द्रबहादुर कर्माचार्य र आमा कुमारी कर्माचार्यको कोखबाट भएको थियो । उहाँका एक भाइ लक्ष्मण कर्माचार्य र एक बहिनी कमला कर्माचार्य हुनुहुन्छ । सानीआमाका तर्फबाट भाइहरु मुकुन्द कर्माचार्य, तेजबहादुर कर्माचार्य, हरि कर्माचार्य र बहिनी गीता श्रेष्ठ हुनुहुन्छ ।
 कम्युनिष्ट पार्टीको स्थापना हुनुभन्दा पहिले उहाँ २००५ सालदेखि प्रजातन्त्र संघमा संलग्न भएर राणा बिरोधी आन्दोलन र मजदुर आन्दोलनमा सक्रिय हुने क्रममा जेल पर्नुका साथै निर्वासन हुनुभएको थियो । उहाँहरु त्यतिखेरको प्रतिकूल परिस्थितिमा पनि विभिन्न सार्वजनिक स्थलहरुमा जागरणमुखी गीतहरु गाएर राणा बिरोधी अभियानमा जनतालाई सक्रिय बनाउन सहभागी हुनुभयो । त्यसैक्रममा राष्ट्रिय काँग्रेसका नेताहरुलाई मिलाउन भूमिका पनि खेल्नुभयो । उनीहरुबाट देश र जनताको पक्षमा केही नहुने रहेछ भन्ने निश्कर्षमा पुगेर अर्को क्रान्तिकारी पार्टी निर्माणमा लाग्नुभयो । अर्को क्रान्तिकारी पार्टी निर्माणमा लाग्न १९४९ को चिनियाँ क्रान्ति र भारतको तेलङ्गाना किसान बिद्रोहले उहाँलाई प्रेरित गरेको थियो । क. पुष्पलालको नेतृत्वमा उहाँसहित नारायणविलास जोशी र निरञ्जन गोविन्द बैद्य मिलेर १९४९ अप्रिल २२ मा कलकत्ताको बडा बजारमा नेपाल कम्युनिष्ट पार्टीको स्थापना गर्नुभयो ।
    कम्युनिष्ट पार्टीको गठन पश्चात उहाँ मजदुर संगठनका पनि संस्थापक अध्यक्ष हुनुभयो । उहाँ पार्टीले संचालन गरेका विभिन्न राजनीतिक आन्दोलनहरुमा सक्रियतापूर्वक लाग्दै २०१६ सालमा ललितपुर नगरपालिकाको मेयरमा चिर्वाचित भएर जिम्मेवारी सम्हाल्नु भयो ।
उहाँ २०१९ सालमा तेस्रो महाधिवेशनबाट पार्टी केन्द्रीय सदस्यमा निर्वाचीत हुनुभयो । त्यसपछि पार्टी फुट र विभाजनको श्रृंखला सुरु भएपछि उहाँ लगायत केही साथीहरु स्वतन्त्र भएर कम्युनिष्ट आन्दोलनमा सक्रिय भईरहनुभयो । उहाँले विभाजित समुहहरुलाई एकीकृत बनाउन निरन्तर पहल र प्रयत्न गरिरहनुभयो । यही क्रममा चौथो महाधिवेशनमा एकतावद्ध भएर केन्द्रीय सदस्य हुनुभयो । एकता केन्द्र निर्माण हुँदा उहाँ एकता केन्द्र तदर्थ समितिको अध्यक्षसमेत हुनुभएको थियो । नेपाल कम्युनिष्ट पार्टीका संस्थापकहरु मध्ये लामो समय सार्वधिक सक्रिय क. कर्माचार्य पार्टी र क्रान्तिकै हितलाई अघि बढाउने क्रममा आजीवन अविवाहित रहनुभयो । हाल उहाँ एकीकृत नेपाल कम्युनिष्ट पार्टी (माओवादी)को संरक्षकको रुपमा रहनुभएको थियो । जीवनको अन्तिम क्षणसम्म पनि उहाँ पार्टी, क्रान्ति र परिवर्तनको निम्ति चिन्तित र सक्रिय भईरहनु भयो ।

.........................
पुष्पकमल दाहाल ‘प्रचण्ड’
अध्यक्ष
एकीकृत नेकपाल कम्युनिष्ट पार्टी (माओवादी)
मितिः २०७० श्रावण ९ गते