निर्वाचन निकासका लागि कि द्वन्द्व ?
विगत दश वर्षे सशस्त्र जनयुद्ध र १९ दिने जनआन्दोलनको बलमा २ सय ४० वर्ष सम्मको निरंकुश राजतन्त्रको अन्त्य भयो । राजतन्त्रको अन्त्य सागै २०६४ साल चैत्र २८ गते नेपालमै पहिलो पटक संविधानसभाको निर्वाचन सम्पन्न भयो । संविधानसभाको निर्वाचनमा पहिलो पटक क्रान्तिकै बलमा जनवादी सत्ता स्थापना गर्ने उद्घोषका साथ दीर्घकालिन जनयुद्धमा होमिएको शक्ति युद्धलाई रोकेर संविधानसभा निर्वाच्नमा सहभागी भएको थियो ।
पहिलो पटक निर्वाचनमा सहभागी भएको पार्टी नेकपा (माओवादी) सवै भन्दा ठूलो पार्टी समेत बन्न पुग्यो । सवै भन्दा ठूलो बनेको माओवादी पार्टी र अन्य कम्युनिष्ट नामका पार्टीहरु समेत गरि संविधानसभामा झण्डै ६२ प्रतिशत कम्युनिष्ट पार्टीको सहभागिता रह्यो । तर सवै कम्युनिष्ट पार्टीमा मतक्यैता नहुदा संविधानसभा चार परिणामविहिन भएर भंग हुन पुग्यो । कम्युनिष्टहरुमा टुटफुट हुनु पनि प्रमुख समस्या भएको नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्य ठान्छन् । तर कम्युनिष्ट पार्टीको इतिहास नै एकता, संघर्ष र रुपान्तरण भएकोले गर्दा टुटफुट हुदैमा कम्युनिष्टहरु निराशावादी हुन नहुने तर्क गर्दै वैद्यले सवै कम्युनिष्ट पार्टीहरु सच्चा कम्युनिष्ट पार्टी नभएको बताउछन् ।
एतिहासिक भनिएको संविधानसभाको निर्वाचन चार वर्ष सम्म पनि परिणामविहिन भई विघटन भएपछि पुन: आगामी मंसिरमा दोस्रो संविधानसभाको निर्वाचनको घोषणा गरिएको छ । दोस्रो संविधानसभाको मिति नजिकिदै गर्दा निर्वाचन प्रक्रियाको विरोध गरिरहेका दलहरुले आन्दोलनलाई अझ सशक्त बनाउने बताइरहेका छन् । आन्दालनरत दलहरुलाई निर्वाचनमा सहभागी गरिनुपर्छ भन्दै केही दिन सहमतिको प्रयास पनि भए तर सहमति जुट्न नसकेपछि आन्दोलनरत दलहरुलाई छाडेरै भएपनि मंसिर ४ मै निर्वाचन गर्ने कसरतमा प्रमुख दलहरु छन् । तर आन्दोलनरत दलहरुले आफ्नो माग पुरा भएमा अझै पनि निर्वाच्नमा सहभागी हुने बताउदै आएको छ ।
दलहरुबीच सहमति नभएपछि प्रमुख चार दलको दवावमा सरकारले सेना परिचालन गरेरै भएपनि मंसिर ४ मै निर्वाचन गर्ने तयारी गरेपछि भने असन्तुष्ट दलहरुले थप आन्दोलित भएका छन् । जर्वजस्ती गरिने निर्वाचनलाई आफूहरुले स्वीकार गर्नै नसक्ने नेकपा–माओवादीका अध्यक्ष वैद्य बताउछन् । मंसिर ४ को निर्वाच्नलाई ध्वस्त पार्ने भन्दै मोर्चाले मंसिर ४ गतेकै आसपासमा १० दिने आमहड्तालको घोषणा र दलहरुको बल प्रयोग गरेरै भएपनि निर्वाचन गर्ने अडानले मुलुक पुन: भिडन्त तर्फ धकेलिएको प्रष्ट छ । त्यसैले निकासका नाममा गरिने निर्वाच्नले मुलुकमा आशान्तिको सिर्जना गर्ने हो भने परिवर्तनका बाहक र आफू मात्रै प्रमुख दल हो भन्ने अहम्लाई जनताले निकट भविष्यमै धुलो चटाउनेछन् ।
