पिटरले गरे निर्वाचन बहिष्कारको आह्वान
दोलखा चरिकोटमा नेकपा–माओवादीले असोज ८ गते गरेको निर्वाचन बहिष्कार सभामा एक विदेशी नागरिकले आगामी मंसिर ४ गतेका लागि तय गरिएको संविधानसभा भाग–२ बहिष्कार गर्न अपिल गरे ।
माओवादी महासचिव रामबहादुर थापा सहभागी कार्यक्रममा आइरिस नागरिक पिटरले निर्वाचन बहिष्कार गर्न आह्वान गर्दा उपस्थित कार्यकर्ताले ताली बर्साए । आइरिस पत्रिका ‘रेडफन्ड’ का वरिष्ठ सम्पादक भनेर चिनिएका पिटर आयरल्याण्ड र नेपालको यात्रा गरिरहन्छन् । आइरिस नागरिक पिटरको भाषणलाई माओवादी केन्द्रीय नेता विष्णुहरि नेपालले नेपाली अनुवाद गरिदिएका थिए । उनले ‘कथित निर्वाचन बहिष्कार गरौं’ भन्ने टिसर्टसमेत लगाएका थिए । तिनै पिटर जसले काठमाडौको अनामनगरमा रहेको रेडियो मिर्मिरेमा केही समय ग्लोवल आइ कार्यक्रम समेत चलाएका थिए । पिटरले दोलखामा दिएको मन्तब्यलाई असोज ९ गते को कान्तिपुर दैनिकले समाचार छापेको थियो ।

