‘कर्ममा विश्वास गरौं’

अन्तरिम मन्त्रीपरिषदका अध्यक्ष खिलराज रेग्मीले चुनावलाई शान्तिपूर्ण बनाउन नै सेना परिचालन गरिएको जिकिर गर्दै सवैलाई कर्ममा विश्वास गर्न आग्रह गरेका छन् । लुम्बिनी पत्रकार समाजको टोलीसँग बुधवार सिंहदरबारमा भएको भेटमा रेग्मीले सुरक्षा परिचालनले कसैलाई क्षति नपुराउने दावी गरे । कसैलाई पनि क्षति नहुने गरि शान्तिपूर्ण तरिकाले निर्वाचन सम्पन्न गर्ने सरकारको उद्देश्य रहेको रेग्मीले प्रष्ट्याए ।

उनले चुनावमा सहभागी हुने सबैलाई सरकारले सुरक्षा प्रदान गर्ने विषयमा कुनै कसर बाँकी नराख्ने प्रतिवद्धता जनाए । सधैं गम्भिर मुद्रामा देखिने रेग्मी बुधवार आफ्नै जन्मथलोका पत्रकारहरुको जमातसँग हँसिलो मुद्रामा प्रस्तुत हुँदै सवैले कर्ममा विश्वास गर्नुपर्ने पटक पटक दोहो¥याए । सवैजना कर्ममा लागौं, उनले भने–‘हाम्रो शक्ति कर्ममै हो, राज्यको शक्ति पनि कर्ममै छ ।’ राजनीतिक शक्तिहरुले ल्याङ्गेरिङ् गरेमा भने समस्या उत्पन्न हुने रेग्मीको भनाई थियो । निर्वाचन बाहेक हामीले अरु विकल्प नै देखेनौं, उनले भने– ‘जनआन्दोलनको स्प्रिडले पनि त्यही भन्छ ।’

तोकिएकै मितिमा संविधानसभाको निर्वाचन सम्पन्न गर्नका लागी सरकार अन्तिम चरणको तयारीमा लागेको उनले बताए । अध्यक्ष रेग्मीले मसिर ४ गते हुने निर्वाचनपछि मुलुकमा जारी अस्थिरता अन्त्य हुने दावी समेत गरे । सकारात्मक र परिणमुखी परिवर्तनका लागी आशावादी भएर क्रियाशील हुनुपर्नेमा जोड दिए । रेग्मीले अवको एक महिनाको समयमा निर्वाचन नै महत्वपूर्ण भएको भन्दै खबरदारी सहित प्राथमिकताका साथ लाग्न पनि पत्रकारहरुलाई आग्रह गरे ।

लुम्विनी पत्रकार समाज, काठमाडौका संयोजक टंक पन्तले समाजको तर्फबाट पेश गरेको स्मरणपत्र बुझ्दै रेग्मीले अरुलाई सचेत गराउँने पत्रकारले नै तोकिएको न्युनतम पारिश्रमिक नपाउनु दुःखद भएको बताए । पत्रकारहरुले सरकारी मिडियाले समेत न्युनतम पारिश्रमिक नदिएको भन्दै आलोचना गरेका थिए ।