‘शहिद परिवार अलमलमै’


नारायण पंगेनी
काठमाडां, ३२ साउन । एकिकृत माओवादीको विभाजन पछि शहिद परिवार अन्यौलमा परेका छन् ।
तत्कालिन सशस्त्र युद्धको बेला पार्टी र क्रान्तिको लागि सैंयौले हासी हासी बलिदानी दिए । मर्ने त मरेर गए तर बााच्नेको पीडा दर्दनाक भइरहेको स्मृति दिवस पनि कुन माओवादीमा गएर मनाउने भनी शहिद परिवारहरु अलमलमा पर्ने गरेका छन् ।
सरकार र विद्रोहीबीच युद्धविराम भई दाङ जिल्लाको हापुरेमा सरकार र विद्रोही माओवादीबीच वार्ता भइरहेकै बेला वि.सं. २०६० साल साउन ३२ गते रामेछाप जिल्लाका तत्कालिन जनसरकार प्रमुख रहेका वावुराम लामा ‘पुष्प’ सहित २१ जनालाई रामेछापको दोरम्बामा सेनाले हत्या गरेको थियो ।
सोही घट्नाको स्मरणमा प्रत्येक साउन ३२ गते दोरम्बा स्मृति दिवस मनाइदै आएको छ । पार्टी विभाजन पछि विहिवार पहिलो पटक दोरम्बा घट्नाको दशौं स्मृति दिवस दुई पार्टी छुट्टाछुट्टै कार्यक्रम गरी मनाइए । तर दुवै कार्यक्रममा दोरम्बा घट्नाका एकाध शहिद परिवार बाहेक अधिकांशको अनुपस्थिती रह्यो ।
दोरम्बा घट्नामा मारिएका शहिदको सम्झनामा एकिकृत नेकपा माओवादीले पार्टी मुख्यालय पेरिशडााडामा र नवगठित नेकपा–माओवादीले पुरानो बानेश्वरस्थित ओम पार्टी प्यालेसमा स्मृति दिवसको कार्यक्रम आयोजना गरेको थियो । यद्यपी दुवै पार्टीले गरेको स्मृति दिवसको कार्यक्रम औपचारिकताको लागि मात्रै गरेको जस्तो देखिएको थियो ।
एनेकपा माओवादीले गरेको स्मृति दिवसको कार्यक्रममा नेता पोष्टबहादुर बोगटीले अधिकांश समय आगामी महाधिवेशनकोबारेमा चर्चा गरेको भए पनि दोरम्बा हत्याकाण्डले प्रतिक्रियावादीहरुको असली रुप देखिएको पनि बताए ।
उनले दोरम्बा हत्याकाण्डमा ज्यान गुमाउने महान् सहिदहरुको रगतले नेपाली सर्वहारा जनताको मुक्ती आन्दोलनलाई अझ माथि उठाएको भन्दै ढाडस दिने प्रयत्न गरे ।
यस्तै, एकीकृत माओवादीका प्रवक्ता अग्नी सापकोटाले दोरम्बा हत्याकाण्डले नेपाली जनयुद्धलाई गुणात्मक उचाईमा पुर्‍याएको बताए ।
एकिकृत माओवादीले दोरम्बा हत्याकाण्डले जनयुद्धलाई उचाई पुर्‍याएको भन्दै प्रशंशा गरिरहदा यता नेकपा–माओवादीले गरेको कार्यक्रममा केन्द्रीय सदस्य सूर्यहरी सुवेदीले शहिदको सपना अधुरै रहेको टिप्पणी गरे । एकीकृत माओवादी नेतृत्वले सहिद, बेपत्ता, घाइतेहरुको अपमान हुने गरी पार्टीको औपचारिक लाईन नै त्यागेको उनले आरोप लगाए ।
त्यसैगरी, माओवादी केन्द्रीय सदस्य दिलिपकुमार प्रजापतिले क्रान्तिका नायक बन्ने नेतृत्वहरुले गद्धारी गरेकाले निर्णायक चरणमा पुगेको क्रान्ति असफल भएको बताउनुभयो । नेकपा–माओवादीले गरेको कार्यक्रममा उपस्थित एक मात्रै दोरम्बामा मारिएका ठूलोराम योञ्जनकी छोरी देवी तामाङ् र ‘दोरम्बा हत्याकाण्ड’ पुस्तकका लेखक अशोक सुवेदीलाई सम्मान गरिएको थियो ।
एकिकृत माओवादीको ताम्सालिङ् राज्य समितिले र नेकपा–माओवादीको नेवा: राज्य समिति अन्तर्गतको सम्र्पक जिल्ला संगठन समितिले कार्यक्रम आयोजना गरेको थियो । दश वर्षे युद्ध पछि माओवादी शान्ति प्रक्रियामा आई पटक पटक सरकारमा सहभागी भएपनि शहिदको सपना पुरा नभएकाले शहिद परिवारले कार्यक्रमको औपचारिकतामा दोसल्ला ओढाउदा शहिदको अपमान भएको महशुश गर्ने गरेका छन् ।