इरानले अन्तरिक्षमा बाँदर पठायो
दुबई, माघ १५ (रोयटर्स)- इरानले एउटा बाँदरलाई अन्तरिक्षमा पठाएर पृथ्वीमा सफलतापूर्वक अवतरण गराएको त्यहाँको सरकारी सञ्चारमाध्यम इर्नाले सोमबार जनाएको छ।
इरानको अन्तरिक्ष अभियान र केही दिनअघि होर्मुजको खाडीको मिसाइल परीक्षणको सफलताबाट इजरेल र अमेरिका सशंकित भएका छन्। स्वतन्त्र पुष्टि नभए पनि इर्नाले इरानको रक्षा मन्त्रालयलाई उधृत गर्दै समाचार दिएको छ । अन्तरिक्षमा बाँदर पठाइएको र अवतरण भएको ठ्याक्क तिथिमिति इर्नाले उल्लेख नगरे पनि परीक्षण गएको साता गरिएको जनाएको छ। गएको साता मुस्लिम पैगम्बर मोहम्मदको जन्मदिनताका परीक्षण गरिएको समाचारमा उल्लेख छ।
काभोस्गर रकेटबाट बाँदरलाई एक सय २० किलोमिटरभन्दा माथि अन्तरीक्षमा प्रक्षेपण गरिएको र सफलतापूर्वक अवतरण गराइएको इर्नाले जनाएको छ। अन्तरिक्ष अभियानमा बाँदर जिवितै पृथ्वीमा अवतरण गराइएको थियो। इरानले सन् २०११ मा नै अन्तरिक्ष अभियान अन्तर्गत बाँदरलाई पठाउने घोषणा गरेको थियो। तर त्यसबेला उक्त अभियान असफल भएको थियो।
लामो दुरी प्रक्षेपणको ब्यालेस्टिक प्रविधिको प्रयोग इरानले अन्तरिक्षमा भूउपग्रह स्थापना गरिरहेको छ। ब्यालेस्टिक प्रविधिको प्रयोग इरानले आणविक शस्त्रास्त्र प्रहार गर्नमा उपयोग गर्ने सम्भावनाबाट अमेरिकालगायत पश्चिमा मुलुक चिन्तित भएका छन्। इरानले आफ्नो आणविक कार्यक्रम शान्तिपूर्ण र ऊर्जाका लागिमात्र भएको बताउँदै आएको छ।
