नेपाल जोर्डनसँग ९-० ले पराजित

साउन ८ - नेपाली राष्ट्रिय फुटबल टोलीले शनिबार अन्तर्राष्ट्रिय फुटबल इतिहासमै सबैभन्दा खराबमध्येको एक पराजय स्वीकारेको छ। विश्वकप छनोटअन्तर्गत दोस्रो चरणको पहिलो लेगमा नेपाल घरेलु टोली जोर्डनसँग ९-० को लज्जास्पद नतिजामा पराजित भएको थियो। जोर्डनको अम्मान रंगशालामा नेपाललाई हराउन मोहम्मद हसनले ४ तथा खालिद अमेर र अहमद हायलले २/२ र अब्दुल्लाले एक गोल गरे ।

नेपाली रक्षकहरूले निगरानीमा राख्न नसक्दा उत्कृष्ट हेडमा सहज गोल गर्दै सातौं मिनेटमा जोर्डनको खाता खोलेका मोहम्मदले ७४औं मिनेटमा दोस्रो व्यक्तिगत गोल गरेका थिए। समय सकिन ६ मिनेट बाँकी रहँदा ह्याटि्रक पूरा गरेका उनले इन्जुरी समयको तेस्रो मिनेटमा व्यक्तिगत चौथो गोल गरे ।


जोर्डनका लागि दोस्रो गोल २०औं मिनेटमा खालिल अमेरले दुई रक्षक तथा गोलकिपर किरण चेम्जोङलाई कटाएर गरेका थिए। ३१औं मिनेटमा अमेरकै क्रसमा अहमद हायलले हेडमा गोल गर्दै अग्रता ३ गोलले फराकिलो पारे। पहिलो हाफको अन्ततिर नेपालले खेलमा केही सुधार गरे पनि इन्जुरी समयमा अर्को गोल खाँदा टोलीको आशा थप पातलियो। एक मिनेट थप गरिएको इन्जुरी समय सकिनै लाग्दा सलिम अब्दुल्लाहले गोल गरे ।

अमेरले ५६औं मिनेटमा पेनाल्टी बक्स बाहिरबाट कडा प्रहारमा दोस्रो व्यक्तिगत गोल गर्दै जोर्डनलाई ५-० को अग्रता दिलाए भने त्यसको ८ मिनेटपछि अहमदले अर्को गोल गरे । उनले पेनाल्टी बक्स बाहिरबाट गोल गरेका हुन्। ७४ औँ मिनेटमा सातौं गोल खाएको नेपालविरुद्ध अन्तिम ६ मिनेट बाँकी रहँदा हिजाह आन्सको क्रसमा महमुद हसनले आठौं गोल गरे। इन्जुरी समयसम्म पनि नेपालको गोल खाने क्रम रोकिएन। इन्जुरी समयको तेस्रो मिनेटमा विकाससिंह क्षत्रीले गोललाइनबाट बचाएको बल राम्ररी क्लियर नहुँदा कसैको निगरानीमा नरहेका महमुदले व्यक्तिगत चौथो तथा टोलीको नवौं गोल गरे ।

जोर्डनसँग ९-० ले पराजित भएपछि नेपाली टोलीको विश्वकप २०१४ को यात्रा लगभग टुंगिएको छ। अघिल्लो चरण प्रवेशलाई बिहीबार घरेलु मैदान दशरथ रंगशालामा हुने दोस्रो लेगमा नेपालले असम्भव १०-० को जित दर्ता गर्नुपर्नेछ।