ग्यास कार्ड र दुई रंगको सिलिण्डरको चर्चा


काठमाडौ / पेटोलियम पदार्थमा बारंबार हुने गरेको मूल्यवृद्धि र यसको कृत्रिम अभावले गर्दा नेपालमा ग्यास उपभोक्ताहरु मारमा पर्दै आइरहेका छन् । गएको एक वर्षमा मात्रै पट्रोलियम पदार्थमा नौ नौ पटक सम्म मूल्यवृद्धि भयो ।

पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरुद्ध विशेषत: विद्यार्थी संगठनहरुले आन्दोलन गर्ने गरेका छन् । पछिल्लो समय चाडपर्व नजिकिदै गर्दा पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि र दैनिक उपभोग्य बस्तुमा भएको महंगीका विरुद्ध नेकपा–माओवादी र विभिन्न विद्यार्थी संगठनहरु आन्दोलन उत्रिएका छन् ।

पेट्रोलियम पदार्थमा पटक पटक देखिने गरेको क्रृत्रिम अभाव हटाउन भन्दै सरकारले सर्वसाधारण उपभोक्ता र ब्यवसायिक प्रयोजनको लागि दुई वटा सिलिण्डर प्रचलनमा ल्याउने तथा ग्यासको सहज वितरणको लागि ग्यास उपभोक्ता कार्ड वितरण गर्ने योजना अगाडी ल्याएको छ । उपभोक्ता कार्डका लागि फारम वितरण गर्ने काम भइरहेको भएपनि दुई किसिमको ग्यास प्रयोगमा ल्याउनेबारेमा भएका विवादले गर्दा उपभोक्ता कार्ड वितरणको लागि फारम भर्ने काम समेत नियमित हुन सकेको छैन ।

ग्यास उपभोक्ता कार्ड नै उपलब्ध नभइरहेको अवस्थामा ग्यासको सहज वितरणको लागि भन्दै सरकारले असोज १ गतेदेखि रातो र निलो गरीे दुई रंगको सिलिण्डर प्रचलनमा ल्याउने बताएको थियो । विवाद कै बीच सरकारले कार्तिक १ गतेदेखि दुई कलरको सिलिण्डर प्रचलनमा ल्याउने बताएको छ । यसको लागि सवै भन्दा बढी ग्यास विक्रेताहरु नै कस्सिएर लागेका छन् । ग्यास विक्रेता महासंघका अध्यक्ष ज्ञानेश्वर अर्यालले ग्राहक कार्ड वितरण गर्ने काममा आफूहरु लागि परेको बताए ।

उपभोक्ताहरुको लागि कार्ड प्रचलनमा ल्याउने सरकारको योजना सकारात्मक कुरा हो । उपभोक्ता कार्ड प्रयोगमा ल्याएपछि ग्यासमा हुने गरेको कालोबजारी नियन्त्रण हुने अर्का ग्यास ब्यवसायी तथा ग्यास उपभोक्ता महासंघका महासचिव महेश्वरकुमार श्रेष्ठ बताउछन्, ।
दुई किसिमको ग्यास प्रचलनमा ल्याउने कुरामा ग्यास डिलरहरु मात्र होइन, उपभोक्ता हितमा आवाज उठाउने संघ संस्थाहरुले पनि सकारात्मक नै भएको बताएका छन् । तर उचित ऐन कानूनको अभावमा ल्याइने यस्ता कार्यले अझ बढी अराजकता र कालाबजारी बढ्ने ग्यास उद्योगीहरुको बुझाई छ । त्यसैले विज्ञहरुको सल्लाहमा उचित ऐन कानून बनाएर मात्रै यो योजना कार्यान्वयन ल्याउनु पर्ने ग्याउ उद्योगी संघका महासचिव कुशकुमार मल्ली बताउाछन् ।

सामान्य नागरिक मात्र होइन, राजधानीका सचेत उपभोक्ताहरुले समेत ग्यास उपभोक्ता कार्डका लागि अहिले सम्म फारम भरेका छैनन् ।  उपभोक्तालाई फारम भर्ने काम समेत नगराईए पनि सस्तो लोकप्रियतामा रमाउने प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले भने ग्यास उपभोक्ता कार्ड लिएको चार महिना भइसकेको छ । काठमाडौ उपत्यकामा साढे २ लाख कार्ड ग्यास विक्रेता महासंघमा आइसकेको र ४० हजार कार्ड आयल निगममा बुझाई सकेको ग्यास विक्रेता महासंघका महासचिव महेश्वर कुमार श्रेष्ठ बताउाछन्, ।

एका तर्फ सरकारले कार्तिक १ गतेदेखि नै घरायसी र ब्यवसायीक प्रयोजनका लागि भन्दै दुई किसिमको सिलिण्डर प्रचलनमा ल्याउने बताएको छ भने, सरकारी कलेजमा पढ्ने विद्यार्थीहरुलाई खाना पकाउने एलपी ग्यासमा सहुलियत दिने घोषणा समेत गरिसकेको छ । सरकारले जनतालाई अल्मल्याउने यस्ता निर्णयहरु कार्यान्वयनमा आउनु अगाडी नै बजारमा खाना पकाउने ग्यासमा क्रृत्रिम अभावहरु सिर्जना हुन थालिसकेको छ । तर पनि ग्यास विक्रेता महासंघका अध्यक्ष ज्ञानेश्वर अर्याल भने तत्काल दशैकै बेला ग्यास अभाव नहुने दावी गर्छन ।

दुई रंगको सिलिण्डर प्रचलनमा ल्याउनेबारेमा ऐन कानून र सरोकारवालाहरुबीच छलफल हुनु पर्ने भन्दै ग्यास ब्यवसायीहरुले अडान लिएपछि दुई रंगको सिलिण्डर प्रचलनमा ल्याउनेबारेमा छलफल गर्न सरकारका प्रतिनिधी र ब्यवसायीहरु सम्मिलित कार्यदल समेत बनाइएको छ ।

सरकारले प्रचलनमा ल्याउन लागेको दुई किसिमको ग्यासको प्रयोगले उपभोक्ताहरुको लागि सहज हुने कुरा जायज हो तर यस्ता किसिमको ग्यास प्रचलनमा ल्याउदा ऐन नियम र अनुगमन कार्य फितलो भयो भने ब्यसायीहरुलाई अझ बढी कालोबजारी गर्न सहज हुने देखिन्छ । त्यसैले यस तर्फ भने सरकार र सरोकारवाला निकायहरु मात्र होइन, आम उपभोक्ता समेत सजग हुन जरुरी छ ।