कसले कब्जा गर्ला विद्यार्थी संगठन ?

काठमाडौ / नेपालका ठूला भनिएका विद्यार्थी संगठनहरु मध्येको एक एमाले सम्बद्ध विद्यार्थी संगठन अनेरास्ववियुको जारी २१औं राष्ट्रिय सम्मेलनबाट पनि संगठन कब्जा गर्ने दाउमा मातृपार्टीका नेताहरु लागि परेका छन् । विहिवार राजधानीको बाल्मिकी क्याम्पसमा उद्घाटन भएको अनेरास्ववियुको महाधिवेशनको प्रज्ञा प्रतिष्ठानमा हुने भनिएको बन्दसत्र अधिवेशन पार्टी नेताहरुको सिनाझम्टीकै लम्बिएको छ  ।

हरेक संघ संगठनको सम्मेलन संगठनको नेतृत्व चयन र नीति परित गर्ने थलो पनि हो तर अनेरास्ववियूको विधान सम्मेलन ६ महिना अघि नै सम्पन्न भएकोले पनि जारी अधिवेशनले नयाँ नेतृत्व चयन गर्दैछ । तर संगठनको नेतृत्व कसले लिने भन्ने कुरा भने पार्टी नेताहरुको खल्तीमा देखिन्छ । संगठनको सवल नेतृत्व चयन गर्ने काम प्रतिनिधीहरुकै हो । माउ पार्टीका नेताहरुले कुनै ब्यक्तिको काँखी च्याप्ने प्रवृत्तिकै कारण एउटै संगठन पनि फरक फरक विचार समुह जसरी मैदान उत्रिनु पर्ने बाध्यता छ ।

पार्टीका नेताहरुको आफ्नो इच्छा पुरा गर्ने थलोका रुपमा लैजान नहुने संगठनका पूर्व महासचिव किशोरविक्रम मल्ल समुहबाट सचिवका प्रत्यासी महेशकुुमार बर्तौला बताउँछन् । बर्तौला मात्र होइन, माउ पार्टीका नेताहरुबाट संगठनमाथि बारंबार हुने गरेको हस्तक्षेपको अधिकांश विद्यार्थी असन्तुष्ट छन् । कसैको पनि दवावमा आएर बनाइने नेता विद्यार्थीको नेता हुन नसक्ने पदाधिकारीमै दावी राख्ने अर्का प्रतिनिधी अमृता बराल बताउँछिन् ।
.
अध्यक्षका लागि तीन जनाले उम्मेदवारी दिएका छन् । अध्यक्षमा लक्ष्मण लम्साल, किशोरविक्रम मल्ल र नवराज पौडेलले अध्यक्षमा उम्मेदवारी दर्ता गरेका छन् । तीन जनाले उम्मेदवारी दिएपनि लम्साल र मल्लबीच नै मूख्य प्रतिष्पर्धा हुने देखिएको छ ।

तीन वटा उपाध्यक्षका लागि सरोज यादव, ऐनबहादुर महर, बचनबहादुर सिंह, धु्ब राई, दीपक गौतम र थोमस बास्तोलाले उम्मेदवारी दर्ता गराए । त्यस्तै महासचिवमा नवीना लामा, रचना खड्का र चिरञ्जीवी पौडलले उम्मेदवारी दिएका छन् । ५ जना सचिवका लागि बाबुराम पन्थी, महेशकुमार बर्तौला, विवेक श्रेष्ठ,  अब्दुल हुसेन खाँ, राधिका खतिवडा, सुखीलाल चौधरी, जवाहर अन्सारी, अमृता बराल सहित १० जनाको उम्मेवदारी परेको छ । कोषाध्यक्षमा गुणरजा आचार्य र रश्मिी आचार्य प्रतिस्पर्धामा छन् ।  लम्साललाई एमाले अध्यक्ष झलनाथ खनाल पक्षले र मल्ललाई एमाले बरिष्ठ नेता केपी शर्मा ओली पक्षले बोकेका छन् । शिर्ष नेताहरुले आफूलाई साथ दिने विद्यार्थीलाई बोकेर संगठन कब्जा गर्ने कुत्सित मानसिकता कै कारण अधिवेशनमा आइतवार राती सम्म पनि मदतान प्रक्रिया अगाडी बढ्न सकेन ।

हुनत विद्यार्थीहरु नै मुलुकका संवाहक हुन् । नेपालमा ठूला राजनीतिक परितर्वतनका लागि विद्यार्थीले नै ठूला ठूला आन्दोलनको जेहाद छेंडेका छन् । राजनीतिक परिवर्तनको लागि ठूलो भूमिका खेलेका विद्यार्थीहरुले शैक्षिक परिवर्तनका लागि भने आन्दोलन गरेको देखिदैन । राजनीतिक र सामाजिक परिवर्तनमा नै विद्यार्थी आन्दोलन केन्द्रित हुँदै आएको कारण शिक्षामा धेरै समय दिन नसकेको विद्यार्थी नेता बर्तौला स्वीकार्छन् ।

खासगरि बाम विद्यार्थी संगठनहरुले नेपालको शिक्षा गुणस्तरिय नभएको भन्दै शिक्षामा ब्यापारिकण भएकाले भन्दै विभेदिकरण अन्त्य र प्राविधिक शिक्षाको नारा भने लगाउन छाडेका छैनन् । अखिलले मात्र होइन, सवै जसो विद्यार्थी संगठनहरुको जोड भनेको प्राविधिक शिक्षामा नै हुनु पर्ने पोखरा नर्सिङ् क्याम्पसमा अध्ययनरत तथा वीरगञ्ज नर्सिङ् क्याम्पसकी स्ववियू सभापति समेत रहेकी अमृता बराल बताउँछिन् । 

यसअघि ३ सय ४३ सदस्य केन्द्रिय जम्बो केन्द्रिय समिति रहेको अनेरास्ववियुको ६ महिना अघि दाङ्मा भएको विधान सम्मेलनले केन्द्रियसमिति १ सय ३५ सदस्यमा सीमित गरेको छ । विधान सम्मेलनको निर्णय अनुसार नै जारी अधिवेशनले १ अध्यक्ष, ३ उपाध्यक्ष, १ महासचिव, ५ सचिव र १ कोषाध्यक्ष गरी ११ जना पदाधिकारी चयन गर्नेछ । तर शिक्षा क्षेत्रमा भएको विकृति भन्दा पनि बढी विद्यार्थी संगठनहरु र राजनीतिक दलहरुकै विकृति बढी देखिने गरेको छ ।