दशैं, सवारी चाप र सुरक्षित यात्रा

काठमाडौ/ दशैँ नजिकिएसँगै काठमाडौ उपत्यकाबाट बाहिरिने सवारी साधन र यात्रुको चाप निक्कै बढेको छ । अध्ययन तथा विभिन्न कामको शिलशिलामा राजधानीमा आइबसेकाहरु दशैंको टिका थाप्न घर जाने भएपछि उपत्यकाबाट बाहिरिने सवारी सधानमा यात्रुहरुको चाप निक्कै बढेको हो ।

दशैंमा आफ्नो जन्मथलोमा गएर आफ्नो परिवारसँगै बसेर दशैँ मनाउने तथा मान्यजनबाट टिका थाप्ने प्रचलन छ । सदाको दशैमा जस्तै यसपटकको दशैँमा पनि यात्रुहरुलाई चाप नहोस् भनेर नै यातायात महासंघले असोज १ गतेदेखि नै टिकट बुकिङ् खुला गरेको हो । झण्डै एक महिना अघिदेखि नै टिकट बुकिङ् खुल्ला गरिएपनि यात्रुहरुले भने सहज रुपले टिकट पाउन नसकेको गुनासो गरेका छन् ।

यात्रु ठगिने र यातायात ब्यवसायीले ब्ल्याकमा टिकट बेच्ने वा मनपरी भाडा अशुल्ने भएको भन्दै प्रहरीले सुरक्षा ब्यवस्था कडा पारेको जनाएपनि यात्रुहरु यसपाली पनि ठगिएकै छन् । दशैंको लागि घर फर्किने बेला आगामी असोज २० र २१ गते रोजगारीको लागि कोरिया जान लिइने इपिएस भाषाको परिक्षा समेत भएको अझ यात्रुहरुको चाप बढ्ने देखिएको छ । दशैँमा पनि घर जानु पर्ने भन्दै यात्रुहरुले जतिपनि भाडा तिर्न तयार हुने भएकाले पनि यातायात कर्मचारीको मनोमानी छ ।

यो वर्ष दशैंकै मुखमा पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिले गर्दा सोही बाहना बनाएर पनि यात्रु ठग्ने गरेको गुनासो आएका छन् । केही दिनदेखि काठमाडौंको गोंगवुस्थित नयाँ वसपार्क तथा, कलंकी, सुनधारा, गौशालामा यात्रुहरुको भींड बढेको छ । दशैँ नजिकिँदै गएपछि टिकटमा कालोबजारीको खबरहरु राजधानीबाट बाहिरीने यात्रुको निम्ति पुरानै समस्या हो ।

दशैंमा घर जानको लागि टिकट लिन भन्दै नयाँ बसपार्कमा भेटिएका सिन्धुलीका रोमबहादुर तामाङ्ले पहिले भन्दा बढी भाडाको टिकट लिएको गुनासो गरे । तर  अरनिको यातायात समितीका सदस्य श्रीबहादुर खत्रीले भने अरनिको यातायातबाट ठगि नभएको दावी गर्छन् । अरनिको यातायातकै सुरेश श्रेष्ठले दशैंको बेला टिकटमा कालोबजारी हुने कुरा स्वीकार्दै समितिले अनुगमन तिव्र पारेको बताए । यातायात कर्मचारी संगठन तथा विभिन्न पार्टी सम्बद्ध यातायात मजदुरहरुले समेत टिकटमा कालोब्यापारी गर्ने गरेको पनि उत्तिकै गुनासो आउने गरेको छ ।

सरकारले तोकिएको भाडादर भन्दा पनि यातायात व्यवसायीको मनोमानीमा भाडा तिर्न बाध्य यात्रुहरुको यात्रा पनि त्यति सुरक्षित देखिदैन । क्षमता भन्दा बढी यात्रु कोचेर लैजानुका साथै ट्राफिक प्रहरीलाई छलेर छतमा समेत यात्रु बोक्ने गर्दा दुर्घट्नाको सम्भावना पनि उत्तिकै देखिन्छ ।

यात्रुहरुलाई टिकट दिन व्यस्त यातायात ब्यवसायी सुरेश श्रेष्ठले यात्रुकै कारण मापदण्ड विपरित सिट क्षमता भन्दा बढी यात्रु राख्नु परेको बताउँछन् । तर यात्रु र ब्यवासायीलाई दोष दिएर मात्र हुँदैन । सवैजना सजग हुनु पर्दछ । ट्राफिक प्रहरीलाई छलेर होइन, ट्राफिक प्रहरीलाई पनि सहयोग गर्ने हो भने अवस्य पनि सुरक्षित यात्राका साथ घर पुगिन्छ । त्यसैले भन्नै पर्छः हतार गरे भन्न सकिन्न, ढिलो गए अवश्य पुगिन्छ ।