गीति एल्बम बेचेको रकम गाउँ विकासमा
काठमाडौं, कार्तिक । कतिपय कलाकारहरु एल्बम निकाल्दा ऋणको भारले थिचिन्छन् । कतिपयलाई आफ्नै गर्जो टार्न पुग्दैन । तर गीतकार पद्मा लिंखा मगरको पहिलो गीति एल्बम ‘नजर’को बिक्रीवितरणबाट संकलित रकम समाज सेवामा लगाएका छन् । उक्त रकम झुम्लावाङ गाउँ संस्थापना ९जेभीएफ०लाई हस्तान्तरण गरिएको छ ।
निष्ठा म्युजिकले राजधानीको काठमाडौं मलस्थित थिएटर मलमा आज आयोजना गरेको कार्यक्रममा राष्ट्रगान सर्जक व्याकुल माइलाले जेभीएफका कन्ट्री कोअर्डिनेटर पूर्णबहादुर बुढा मगरलाई सहयोग रकमवापतको चेक हस्तान्तरण गरे । जेभीएफकै कामको सिलसिलामा बस दुर्घटनामा परी दुवै खुट्टा गुमाएका मगर वैशाखी टेकेर रकम हस्तान्तरण कार्यक्रममा उपस्थित थिए । एक वर्षको अवधिमा गीति एल्बम बेचेर ७ लाख १३ हजार २ सय ५० रुपैयाँ हस्तान्तरण गरिएको हो । जेभीएफले रूकुम जिल्लाको झुम्लावाङलाई दिगो विकासको क्षेत्रमा ‘नमुना गाउँ’ बनाउनका लागि शिक्षा, स्वास्थ्य, सामाजिक–सांस्कृतिक तथा आर्थिक विकासको क्षेत्रमा स्वदेशी(विदेशी स्वयंसेवकको सहकार्यबाट विभिन्न परियोजना सञ्चालन गरिरहेको छ । आफ्नो गाउँ–समाजको विकासका लागि सरकार तथा दातृसंस्थाको मात्रै मुख ताकेर बसे अझै दशकौं कुर्नुपर्ने मात्रै होइन, यसले व्यक्तिगत तथा समग्र समाजलाई नै परनिर्भर बनाउँछ भन्ने निष्कर्षका साथ झुम्लावाङमार्फत सकारात्मक सन्देश प्रवाह गर्न लागिपरेको जेभीएफले जनाएको छ । संखुवासभाको माम्लिङ जन्मघर भई झुम्लावाङ कर्मथलो भएकी गीतकार पद्मा लामो समयदेखि अमेरिकामा बसोबास गर्दै आएकी छन् । उनले शुभकामना सन्देशमार्फत गाउँठाउँको विकासमा सहयोग पुगोस् भन्ने हेतुले ‘नजर’ एल्बम बजारमा ल्याएको उल्लेख गर्दै त्यसमा साथसहयोगका लागि आभार व्यक्त गरेकी छन् । निष्ठा म्युजिकले उत्पादन तथा बजार व्यवस्थापन गरेको यस एल्बममा राजेश थापाको सोलो संगीत छ । सर्जकका तर्फबाट कार्यक्रममा बोल्दै संगीतकार थापाले ‘नजर’ एल्बमको माध्यमबाट गाउँको विकासमा टेवा पुग्नुका साथै आफ्नो सांगीतिक करिअरमा पनि ठूलो फड्को भएको सुनाए । एल्बमका गीतहरूमा संगीता राना, उदय सोताङ, राजेशपायल राई, रिमा गुरुङ होडा, स्वरुपराज आचार्य, अञ्जु पन्त र दीपक लिम्बूको स्वर समेटिएको छ । आज हस्तान्तरित रकम जेभीएफद्वारा निर्माणाधीन झुम्लावाङ सामुदायिक स्वास्थ्य केन्द्रको कोषमा जाने जेभीएफको असिस्टेन्ट इन्टरनेसनल कोअर्डिनेटर कला कोयूले बताइन् । ‘प्राथमिक उपचार सेवा दिन नियुक्त दुई कर्मचारीलाई यस रकमबाट पारिश्रमिक दिइनेछ’, कार्यक्रम संयोजक सचित राईद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘२०६७ कात्तिकमा स्वास्थ्य केन्द्रको भवन निर्माण सुरुआत गरिएकोमा २०६८ भदौमा पहिलो चरणको काम सम्पन्न भएको थियो । ३३ लाख ९७ हजार रुपैयाँ कुल लागतमध्ये १३ लाखबराबरको जनश्रमदान गरिएको छ । यसमा सहयात्री संस्था फ्रान्सको पार्टेज एट सोइनले १९ लाख, जिल्ला विकास समिति, रूकुमबाट १ लाख ९७ हजार रुपैयाँ सहयोग प्राप्त भएको छ । २०६९ कात्तिकदेखि प्राथमिक उपचार सेवा प्रारम्भ गरिएकोमा तीन वर्षभित्र दोस्रो चरणको भवन निर्माण सम्पन्न गरी १० वर्षभित्र १५ शय्याको अस्पताल निर्माण तथा सञ्चालनका लागि पूर्वाधार तयार गर्ने लक्ष्य छ ।’ ०७० साल असार ८ गते नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका तत्कालीन कुलपति अम्बर गुरुङले यस एल्बमको विमोचन गरेका थिए । आजको कार्यक्रम निष्ठा म्युजिकका प्रबन्ध निर्देशक नानुकला राईको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा कला कोयूले झुम्लावाङ र जेभीएफका बारेमा पावरपोइन्टबाट प्रस्तुति दिएकी थिइन् । राष्ट्रगान सर्जक माइलाले गाउँको विकासका लागि लागिपरेकोमा गीतकार पद्माका साथै जेभीएफका कार्यको सराहना गरेका थिए ।