पाठ्यपुस्तकमा बम्जनको जीवनी
शुभारम्भ प्रकाशन प्रालि, काठमाडौंले प्रकाशन गरेको निजी विद्यालयमा ५ कक्षामा पढाइने ‘स्पार्क इङ्गलिस रिडर’ मा विवादास्पद तपस्वी रामबहादुर बमजनको जीवनी राखिएको छ ।
‘रामबहादुर बमजन’ शीर्षकको तीन पेजको जीवनीमा खाना र पानी नखाई ६ वर्षसम्म रामबहादुरले तपस्या गरेको उल्लेख छ ।
बारा रतनपुरी–५ का रामबहादुरले तपस्यास्थलमा भेट्न पुगेका लामा गुरुहरूलाई दिएको जानकारी भन्दै ‘दुई वटा नागले खुवाएर आफूलाई बचाएको’ भनिएको छ । ‘सानै उमेरदेखि अध्ययन, ध्यान र पूजामा रुचि राख्ने ज्ञानी’ भन्दै प्रशंसा गरिएको सो पाठमा रामबहादुरलाई सिद्धार्थ गौतम बुद्धको पुनर्जन्म समेत भनिएको छ । बमजनबारे विश्वास गर्न नसकिने यस्ता अनेकौं विवरण त्यो पाठमा छन् ।
विवादास्पद रामबहादुर
सो पाठमा रामबहादुरसँग जोडिएका विवादास्पद र शंकास्पद कुनै घटना पनि उल्लेख छैनन् । उनका दाजु गंगाजितको भनाइ भन्दै २ जेठ २०६२ देखि रतनपुरीको जंगलमा रामबहादुरले ध्यान गर्न थालेको लेखिएको छ ।
तपस्यामा बस्नुअघि उनले ज्ञानको खोजीमा भारतको देहरादुन, लुम्बिनी र पोखराको भ्रमण गरेको उल्लेख छ । जबकि, ध्यान शुरू गर्नुअघि उनी निजगढका एक व्यापारीको पोखरास्थित ससुरालीको चामल मिलमा काम गर्दा शरीरको तल्लो भाग चल्न छाडेपछि बारा फर्केका थिए ।
७ वर्षसम्म सर्वसाधारण र परिवारका सदस्यलाई बन्धक बनाई कुटपिट गरेका जस्ता रामबहादुरका विवादास्पद क्रियाकलाप देखेका बारा निजगढका शिक्षक श्याम खरेल त्यस्ताको जीवनी पाठ्यक्रममा समावेश हुनु आश्चर्यजनक भएको बताउँछन् ।
त्यो अवधिमा उनले जंगलमा घाँस दाउरा खोज्न गएका मनहर्वा र रतनपुरी गाविसका चार दर्जन भन्दा बढी गाउँलेलाई हातपात गरेका थिए भने रिपोर्टिङ गर्न त्यहाँ पुगेका संचारकर्मीहरूलाई उनका अनुयायीहरूले आक्रमण गरी क्यामरा फुटाइदिएका थिए ।
डेढ वर्षअघि स्लोभाकियाकी ३५ वर्षीया सुजना टकाज (मारिची) र सिन्धुपाल्चोककी एक वृद्ध महिलालाई बोक्सी भन्दै तीन महीनासम्म उनले बन्धक पनि बनाएका थिए । त्यसअघि पनि उनले एक गोठालोलाई ‘जासूस’ भन्दै तरबार प्रहार गरी घाइते बनाएका थिए ।
एक वर्षअघि बाराको हलखोरिया जंगल छाडेका रामबहादुर अहिले सर्लाहीको पत्थरकोट–१ मा आफन्तको घरमा बस्छन् । हलखोरिया छाडेपछि उनी सिन्धुलीको कमलामाई नगरपालिका गएका थिए ।त्यहाँ पनि स्थानीयसँग विवाद भएर बस्न नसकेका उनी हलखोरिया फर्कने तयारीमा रहेको थाहा पाएपछि स्थानीय प्रशासनले प्रहरी परिचालन गरी त्यहाँ उनका अनुयायीले बनाएका दुई पक्की घर भत्काएको थियो ।
लामो समय ‘धार्मिक इस्यु’ भन्दै रामबहादुरका क्रियाकलापबारे मौन रहेको जिल्ला प्रशासन गुरुलाई रातो पासपोर्ट र नागरिकता दिन माग गर्दै उनका अनुयायी सडकमा उत्रिएपछि आक्रोशित बनेको थियो ।
गोकुल घोरसाइने, बारा
हिमालको १२–१९ जेठ अंकबाट ।

